काठमाडौं। बबई नदीमा पर्ने जब्दिघाट खोला पुल मर्मत नहुँदा जनतालाई सास्ती भएको भन्दै नेपाली कांग्रेसका सांसद सञ्जय गौतम २०८० वैशाख ३० बाट रिले अनसन बसेका थिए। सांसद गौतम अनसन बसेको चार दिनपछि जेठ ३ मा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पत्रकार सम्मेलन गरी सोही स्थानमा १० दिनभित्र नयाँ पुल निर्माणका लागि ठेक्का आह्वान गर्ने घोषण गरे।
मन्त्रीले १० दिनभित्र ठेक्का आह्वान हुन्छ भनेको विषयमा मन्त्रालयका सचिव तथा सहसचिवहरूले पनि समर्थन गरे। मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल तथा सहसचिव अर्जुनजंग थापालगायत अन्य कर्मचारी जब्दिघाट पुल मर्मत गर्न प्राविधिकरूपमा उपयुक्त नदेखिएको भन्दै नयाँ पुल निर्माणका लागि १० दिनमा ठेक्का आह्वान हुने कुरा दोहोर्याए।
पुरानो पुल भत्किँदा नदी थुनिएकाले नदीको बहाव सामान्य अवस्थामा ल्याउन वैशाख २९ गते नै मेसिन लगेर काम गरिरहेको मन्त्री ज्वालाले बताएका थिए। तर, मन्त्री, सचिव तथा सहसचिवले प्राविधिकरूपमा १० दिनभित्रै ठेक्का आह्वान गर्न कतिको सहज हुन्छ? बजेटको अवस्था कस्तो छ? ठेक्का आह्वान समस्याबारे गम्भीर देखिएनन्।
ठेक्का आह्वानको घोषणामात्रै गरेनन्, सांसद गौतमलाई अनसन तोड्न पनि पत्रकार सम्मेलनमार्फत मन्त्री ज्वालाले आग्रह गरे। मन्त्रीको कुरा विश्वास गरेर सांसद गौतमले अनसन पनि तोडे। तर, दुई महिना बित्न लाग्दासमेत ठेक्का आह्वान भएको छैन।
पुल निर्माण ठेक्का आह्वान भने सडक विभागअन्तर्गत पुल महाशाखाले गर्छ। महाशाखा प्रमुख नरेशमान शाक्यका अनुसार मन्त्रीले दुई महिना पहिला घोषणा गरे पनि हालसम्म पुल निर्माण ठेक्का आह्वानको समय निश्चित छैन।
कुनै पनि योजनाका लागि स्रोत सुनिश्चित नभई ठेक्का आह्वान गर्न मिल्दैन। मन्त्री ज्वाला र कर्मचारीहरूले जेठमा स्रोत सुनिश्चित नभएको योजनामा ठेक्का आह्वानको घोषणा गरेका थिए। पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेपछि मात्रै महाशाखाले नयाँँ पुल निर्माणका लागि ठेक्का आह्वान गर्ने मिल्ने प्रमुख शाक्यको भनाइ छ।
यसअघि पप्पु कन्स्ट्रक्सनले गुलरिया र बारबर्दिया जोड्ने बबई नदीको जब्दिघाट पुल निर्माण गरेको थियो। पप्पुले निर्माण गरेको जब्दिघाट पुल २०७४ साउन २८ मा भासिएको थियो। फेरि २०७९ असोज २० मा आएको बाढीले स्पानसहित उक्त पुल बगाएपछि ओहोरदोहोर बन्द गरिएको छ।
करिब ४ सय २५ मिटर लम्बाइको जब्दिघाट पुल १६ करोड ६८ लाख रुपैयाँमा निर्माण गर्ने गरी पप्पु कन्स्ट्रक्सनले जिम्मा पाएको थियो। तर, निर्माणपछि पुल हस्तान्तरण नहुँदै भासिएपछि सडक डिभिजन कार्यालय नेपालगन्जले २०७९ मंसिरमा पप्पुसँगको ठेक्का सम्झौता तोडेको छ।
सोही कारण नयाँ ठेक्का आह्वान गरेर हाल भत्किएको पुलभन्दा करिब ३ सय १५ मिटर माथिल्लो क्षेत्रमा पुल बनाउने योजना भौतिक मन्त्रालयको छ। माहाशखा प्रमुख शाक्य नयाँ पुल बनाउँदा नाम परिवर्तन गर्नुपर्ने र स्रोत सुनिश्चितताको काम बाँकी रहेकाले ठेक्का आह्वानमा ढिलाइ भएको बताउँछन्।
‘अहिले नाम परिवर्तन गरेर एक साताअघि स्रोत सुनिश्चितताका लागि मन्त्रालयमा फाइल पठाएका छौं। भौतिक मन्त्रालयले अर्थ मन्त्रालयमार्फत स्रोतको व्यवस्थापन गर्छ,’ प्रमुख शाक्यले भने, ‘प्रक्रिया पुर्याउँदै काम गर्दा समय लागेको हो, ठेक्का आह्वान कहिले हुन्छ भन्ने कुरा स्रोत सुनिश्चित भएपछि थाहा हुन्छ।’
सडक डिभिजन नेपालगन्जका इन्जिनियर एवं सूचना अधिकारी जनकबहादुर धामीका अनुसार नयाँ निर्माण हुने पुलको नाम ‘बबई नदी पुल’ स्वीकृत भएको छ। नाम स्वीकृत भएपछिमात्रै स्रोत सुनिश्चितताको प्रक्रिया अघि बढेको उनले बताए।
बबई नदी पुल निर्माणका लागि ९४ करोड १८ लाख २५ हजार रुपैयाँ स्रोत सुनिश्चितता माग गरिएको सडक डिभिजन नेपालगन्जले जनाएको छ। आर्थिक वर्ष २०७९/८० सकिएकाले अब २०८०/८१ मा मात्रै बबई नदी पुल निर्माणका लागि रकम विनियोजन हुनेछ।
पुलको डिजाइन भने तयार भएको छैन। ‘डिजाइन एन्ड बिल्ड सिस्टम’ मा ठेक्का सम्झौता गर्ने योजनामा मन्त्रालय छ। डिजाइन एन्ड बिल्ड सिस्टम भनेको निर्माण कमपनीले नै पुलको डिजाइन र निर्माण गर्ने सिस्टम हो। साथै कति वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता हुन्छ भन्ने विषय पनि अहिले प्रष्ट नहुने सडक डिभिजन नेपालगन्जले जनाएको छ।