काठमाडौं। सम्भवतः युनाइटेड अरब इमिरेट्स (युएई) को ‘इमिरेट्स बैंक इन्टरनेसनल’ को संयुक्त लगानीमा ‘नेपाल अरब बैंक’ स्थापना नहुँदो हो त मुलुकमा यति चाँडै बैंकिङ क्षेत्रले फड्को मार्ने थिएन सायद।
नेपाल अरब हुँदै ‘नबिल’ बनेको यो बैंकले आफ्नो कारोबारको हिस्सामात्र बढाएन, बैंकिङ क्षेत्रमै नयाँ–नयाँ इतिहास ‘ब्रेक’ गर्न सफल भयो। संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) का रूपमा नेपालको बैंकिङ इतिहासमै पहिलो निजी क्षेत्रको बैंकसमेत बन्न पुग्यो। नेपालमा आधुनिक बैंकिङ सुरुवात पनि नबिल (नेपाल अरब बैंक) को स्थापनापछि भएको हो।
आर्थिक वर्ष २०४१/४२ को बजेटले बैंकिङ क्षेत्र निजी क्षेत्र तथा विदेशीलाई खोल्न दिने केही खुकुलो नीति लिएपछि नेपाल अरब बैंक सञ्चालनमा आएको थियो।
नबिल सुरु हुनुभन्दा अगाडि नेपालमा सरकारी स्वमित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले मात्र सेवा दिँदै आएका थिए। सन् १९८४ (२०४१ साल) मा कारोबार सुरु गरेको बैंक बुधबारबाट ३९ वर्ष प्रवेश गरेको छ।
स्थापनाको क्यालेन्डर जति पुरानो हुँदै गयो, बैंकले दिने सेवा सुविधा पनि त्यत्ति नै पृथक र प्रविधिमैत्री बनाउँदै गएको छ। जसका कारण लामो समयदेखि नेपालको पहिलो र सबल बैंक बन्दै गएको छ।
स्थापनाकालदेखि नै नबिलमा सहायक स्तरबाट सेवा सुरु गरेर अहिले नायब प्रमुख कार्यकारी अधिकृत (डिसिओ) रहेका विनयकुमार रेग्मी समयसँगै बैंकले दिने सुविधा परिमार्जन गर्दै गएको बताउँछन्।
‘अहिलेसम्म जुन सफलता मिलेको छ, यसको मुख्य श्रेय सम्पूर्ण ग्राहकमै जान्छ,’ डिसिओ रेग्मीले क्यापिटल नेपालसँग भने, ‘नबिलले विकसित प्रविधि आत्मसाथ गर्दै गइरहेका छ।’
नबिल बैंकलाई आधुनिक बैंकिङको सुत्रधारका रूपमा समेत चित्रण गरिन्छ। जसले आधुनिक बैंकिङ पद्दति विकासमा नबिलको योगदानको चर्चा विगतदेखि नै हुँदै आएको छ।
विभिन्न कालखण्डमा साझेदार (पार्टनर) परिवर्तन हुँदै अहिले मुख्य सेयर लगानीकर्ताको रूपमा एनबी इन्टरनेसनल छ। र, मर्जरका कारण विदेशी लगानी र नेपाली लगानीकर्ता पनि थपिएका छन्।
बैंक स्थापना गर्दा सुरु लगानी ३ करोड रुपैयाँ थियो। चालू आर्थिक वर्ष तेस्रो त्रैमासमा नबिलले ५ अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेको छ। चुक्ता पुँजी २७ अर्ब रुपैयाँ छ। यस्तै जगेडा कोषको आकार बढेर २५ अर्ब ५७ करोड रुपैयाँ छ।
तेस्रो त्रैमाससम्म बैंकले ३ खर्ब ६३ अर्ब ४८ करोड रुपैयाँ निक्षेप परिचालन गरेर ३ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको प्रतिसेयर आम्दानी २५.२१ रुपैयाँ छ। यस्तै नेटवर्थ २ सय १ रुपैयाँ छ।
त्यसैगरी देशभरिका शाखा विस्तार भई २ सय ६७ पुगेको छ भने २ सय ७४ एटिएम मेसिनबाट सेवा दिँदै आएको छ।
ढड्डा हटाएर कम्प्युटरबाट सेवा दिने पहिलो बैंक
नबिल बैंक सञ्चालनमा आउनु अघिसम्म सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य, नेपाल बैंक र कृषि विकास बैंक ढड्डामार्फत ग्राहकलाई सेवा दिँदै आएको थियो। सरकारी बैंकहरूले भने भर्खरै प्रविधि प्रयोगमा ल्याउन थालेका छन्।
जब, युएईको इमिरेट्स बैंकको ज्वाइन्ट भेन्चरका रूपमा नेपाल अरब बैंक स्थापना भएको थियो, त्यहीबेला इमिरेट्स बैंकमा आधुनिक बैंकिङ गरिरहेका केही दक्ष कर्मचारी ल्याएर नेपालका केही युवालाई आधुनिक कम्प्युटराइज बैंकिङ तालिम दिई नेपालमा आधुनिक बैंकिङ अभ्यास गरिएको थियो। नबिलले गरेको त्यो अभ्यास नेपालका लागि विल्कुलै नयाँ र ग्राहकलाई विश्वास दिलाउन निकै कठिन पनि थियो।
जति बेला राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकले ढड्डामार्फत काम गरिरहेको थिए, त्यसबेला नबिलले कप्युटरमार्फत सुविधा दिन थालेपछि धेरै ग्राहक अचम्ममा परेका थिए।
सरकारी बैंकमा टोकन लिएर दुई/तीन घन्टासम्म लाइनमा उभिनुपर्ने बाध्यता रहेका बेला नबिलले सेवा सहज बनाउन ‘युनिट टेलर सिस्टम’ सुरु गरेको थियो। जहाँबाट पाँचवटा काम एकै ठाउँबाट गर्न थालेपछि ग्राहकको आकर्षण बढ्दै गयो। पछि बिस्तारै आधुनिक प्रविधि भित्र्याएर नयाँपन दिन सुरु गरेको थियो।
नबिलले वर्षहरू फेरिइरहँदा आफ्नो कार्यशैलीमा पनि क्रमिक सुधार गर्दै लग्यो। खातामा हिसाब राख्दै आएको बैंकिङ सिस्टमलाई नेपालमै पहिलोपटक कम्प्युटरमार्फत कारोबार गर्ने नबिल नै पहिलो बैंक हो।
कम्प्युटरमा हिसाब राखे पनि खाता सञ्चालनका लागि भने फारम भर्नुपर्ने, पैसा झिक्न चेक काट्नैपर्ने बाध्यता हटाउँदै पूर्णरूपमा डिजिटलमैत्री बनाउँदै अगाडि बढ्न सफल भएको डिसिओ रेग्मी सुनाउँछन्।
सुरुमा ग्राहक आकर्षित गर्न नबिलका कर्मचारीलाई निकै मुस्किल परेको थियो। सरकारी छाडेर निजीतर्फ ग्राहक आकर्षित गराउन सरकारी बैंकले दिने सेवाभन्दा पृथक बनाउँदै गएको उनले बताए।
तीनवटा सरकारी बैंकको रजगज चलेका बेला निजी क्षेत्रको बैंकले बजार विस्तार गर्न ठूलै कसरत गर्नुपरेको थियो।
‘नबिल आएपछि सुरुमा विश्वास दिलाउन निकै समस्या भएको थियो। त्यो पनि अरबबाट आएको बैंक भएकाले विश्वास दिलाउन धेरै कसरत गर्नुपर्ने स्थिति नआएको भने होइन। र, त्यो बेला नबिललाई सबैभन्दा ठूलो चुनौती भनेको ग्राहकको विश्वास जित्नु नै थियो,’ रेग्मी अनुभव सुनाउँछन्, ‘सुरुमा थोरै भए पनि रकम राख्नु र हामीले दिने सेवा, सुविधा हेरिदिनुस् भन्ने आश्वासनपछि बिस्तारै ग्राहकको मुड फेरियो।’
अरब बैंक हुँदा टोकन लिएर लाइनमा उभिनुपर्ने बाध्यता हटाएर नबिलले पहिलोपटक डिजिटल बैंकिङ सुरु गरेको थियो। अहिले नबिल डिजी बैंक भएको छ।
३६ वर्षअघि सहायकस्तरमा नबिल छिरेका रेग्मी
नबिल बैंकको अर्को विषेशता भनेको कर्मचारीहरू टिकिरहनु हो। लामो समयदेखि काम गर्दै आएका अनुभवी कर्मचारी नबिलमा छन्। तीमध्ये एक हुन् डिसिओ रेग्मी। उनी २०४४ सालमा सहायकस्तरको कर्मचारीका रूपमा नबिलमा आबद्ध भएका थिए।
हरेक मान्छेलाई आफूले काम गर्ने संस्था वा कम्पनी सबैभन्दा उत्कृष्ट होस् भन्ने चाहना हुन्छ। रेग्मीले काम सुरु गर्दा नै नबिल नेपालको ‘नम्बर १ बैंक’ बनिसकेको थियो। त्यसैले उनले अन्य बैंक वा अन्य क्षेत्रमा काम गर्न जाने भन्ने सोच नै बनाउन सकेनन्। यसबीच अन्य ठाउँबाट प्रस्ताव आए पनि आफ्नो कामअनुसारे सेवा सुविधासँगै बढुवा पनि भइरहेकाले अन्त जाने ध्यान नै नदिएको उनी बताउँछन्।
‘अब जति काम गर्छु नबिलमै गर्छु,’ डिसिओ रेग्मीले भने। उनले जागिर सुुरु गरेदेखि नै डिजिटल बैंकिङका विषयमा काम गरिरहेका छन्।
कस्तो हो डिजिटल सेवा?
नबिलले आफूलाई प्रविधिमा उन्नत बनाउँदै ‘डिजी बैंक’ सुरु गरिसकेको छ। डिजिटल सेवा भनेको ग्राहकले चाहेअनुसार सम्पूर्ण सेवा लिनसक्नु हो। खाता सञ्चालनका लागि बैंकका शाखा धाउनुपर्ने बाध्यता अन्त्य गर्दै रकम झिक्न र राख्नसमेत घरमै बसिबसी मोबाइल, ल्यापटपमार्फत ग्राहक आफैंले गर्न सक्ने वातावरण मिलाइएको छ। अबको ध्यान भनेको कर्पोरेट सेक्टरमा पनि अनलाइनमार्फत नै काम गर्न सक्ने खालको प्रविधि बनाउन बैंक व्यवस्थापन जुटिरहेको छ।
‘जब–जब विश्वका बैंकहरूमा नयाँ प्रविधि भित्रिन्छ नेपाली ग्राहकले पनि त्यसलाई तत्कालै उपयोग गर्न पाउन् भन्ने उद्देश्य सधैं नबिलले राखिरहेको हुन्छ,’ डिसिओ रेग्मी भन्छन्, ‘कुनै नयाँ प्रविधि आए र बैंकसँग मिल्नेखालको भए जतिसक्दो चाँडो यहाँ ल्याएर ग्राहकलाई सुविधा दिइरहेका छौं।’
उदाहरणका लागि विश्वका विकसित बैंकमा क्रेडिट कार्ड सुरु भएको केही वर्षमै नबिलले सुरु गरेको थियो। मोबाइल डिभाइसबाट बैंकिङ प्रणाली पनि विश्वका बैंकले सुरु गरेको केही समयमै नेपालमा लागू गराउन नबिल सफल भएको थियो।
कार्ड, एटिएम र क्युआर कोडसहित सुविधा पनि नबिलले नै पहिलोपटक दिन सफल भएको र च्याट जिपिटी लगायत नयाँ प्रविधि कसरी प्रयोग गर्ने भन्नेबारे अध्ययनसमेत सुरु भइसकेको छ।
नबिलले नेपालका बैंकहरूमा के भइरहेको छ भन्दा पनि विदेशका बैंक र बैंकिङ क्षेत्रमा कस्ता–कस्ता प्रविधि भित्रिएका छन् र नेपालमा कसरी ल्याउन सकिन्छ भन्नेमा बढी केन्द्रित भइरहेको छ।
ठूलो परियोजनामा सहवित्तीयकरण नबिलबाटै सुरु
पहिला–पहिला एउटा बैंकले लगानी गरेको ठाउँमा अर्को बैंकले लगानी गर्न मिल्दैन भन्ने थियो। लगानी गर्न पनि मान्दैन थिए। जब नबिलले ठूला परियोजनामा ४/५ वटा बैंक मिलेर लगानी गरेर बनाउन सकिन्छ भन्ने १९९३ तिरबाटै सुरुवात गरेको थियो। जसले मुलुकभित्रकै बैंक मिलेर ठूला लगानीका परियोजना बनाउन सफल भएको उदाहरण छ।
वातावरण संरक्षणमा नबिलको पहल
नबिलले बढ्दो वातावरण विनाश नियन्त्रणमा जनचेतना फैलाउने उद्देश्यले दिगो बैंकिङ कार्यक्रम सुरुवात भएको छ। बैंकले दिएको ऋणबाट सञ्चालित व्यापार–व्यवसायले वातावरण बिगार्न वा बचाउन सहयोग गरेको छ भन्ने विषयमा अध्ययन गरेर कुन उद्योगले बढी कार्बन उत्सर्जन गर्छ र कुन उद्योगले कार्बन उत्सर्जन गर्न निरुत्साहित गर्छ, त्यसको हिसाब नबिलले राखिरहेको छ।
यस्तै नबिलले सवारीसाधन कर्जा दिँदा नयाँ रणनीति अपनाएको छ। वातावरणमा बढी असर गर्ने डिजेल वा पेट्रोेल गाडीका लागि कर्जा दिँदा ब्याज केही बढी लिने र विद्युतीय सवारीलाई भने सहुलियत दिने गरेको छ।
अरब बैंकबाट नबिल
२०५३ सालबाट युएईका लगानीकर्ताको सेयरमध्ये नेसनल बैंक बंगलादेशले ५० प्रतिशत खरिद गरेपछि अरब भन्ने नाम हटाएर ‘नबिल’ राखिएको थियो। सुरुमा नेपाल अरब बैंक भन्ने नाम थियो।
डिजिटल कारोबार गराउँदाका चुनौती
बैंक पूर्णरूपमा डिजिटल हुँदा पनि ग्राहक दुवैखालका हुने भएकाले त्यति सहज भने थिएन। अहिले पनि ‘मोबाइल टु मोबाइल’ कारोबार गर्ने धेरै छन् भने केही नगद नै लिने र नगद नै कारोबार गर्न चाहने ग्राहक भएकाले त्यसमा पनि बैंकले काम गर्दै आएको छ।
त्यसैले सबैखालका ग्राहकलाई सुविधा दिन सेवा दिँदै आएको छ। पछिल्लो समय भने डिजिटल कारोबार गर्नेको संख्या धेरै बढेको छ। यसको श्रेय कोभिड महामारीलाई नै जान्छ।
नबिलले गरेको पहिलो काम
कम्प्युटरमार्फत सेवा दिने काम नै नबिलले नेपालको बैंकिङ इतिहासमै पहिलोपटक सुरु गरेको थियो। ग्राहकको हस्ताक्षर पनि नबिलले नै पहिलोपटक डिजिटलमा सुरु गरेको हो। यसअघि ढड्डा हेर्नुपर्ने बाध्यता थियो। क्रेडिट कार्डमा अन्तर्राष्ट्रिय ब्रान्ड सुरु गर्ने पनि नबिल नै हो। रकम भुक्तानीका लागि क्रेडिट कार्ड, एटिएमबाट कारोबार गर्ने मेसिन नबिलले नै पहिलोपटक सुरु गरेको हो।
ग्राहकले अनलाइनमार्फत नै खाता खोल्न सक्ने व्यवस्था पनि नबिलले नै गरेको हो। जुनसुकै एटिएम काउन्टरबाट पैसा झिक्न मिल्ने व्यवस्था पनि नबिलले नै सुरु गरेको हो। त्यसअघि एउटा शाखाको खाता रहेको एटिएम त्यही शाखामा रहेको एटिएम काउन्टरबाट मात्र पैसा झिक्न मिल्थ्यो। मोबाइल बैंकिङको एप पनि नबिलले नै सुरु गरेको हो। मोबाइलमार्फत आइकार्ड बनाउन सकिन्छ भने अरूले यो सुविधा सुरु गर्न सकेका छैनन्।
नबिल यसरी बन्यो पहिलो नम्बरको बैंक
नबिललाई पहिलो नम्बर बनाइराख्न सबैभन्दा पहिलो योगदान कर्मचारीकै छ। बैंकले पनि आफ्ना कर्मचारीलाई राम्रो सेवा सुविधा दिएर काममा प्रोत्साहन गरिरहेको छ। बैंक स्थापना भएदेखि नै पहिलो प्राथमिकतामै ग्राहक सन्तुष्टि राखिएकाले पनि सधैं विश्वास गरेको हुनसक्छ। ग्राहकको मन जित्दै अगाडि बढ्न सफल भएकाले पनि पहिलो नम्बरमै भइरहेको हो। अनुभवी र कुशल सञ्चालक तथा व्यवस्थापकको रातदिनको अथक मिहिनेतले पनि बैंकलाई सधैं अगाडि बढाउन सहयोग गरेको हो।
सिइओ उत्पादन गर्ने बैंक
नबिल नेपालमा धेरै प्रमुख कार्यकारी अधिकृत (सिइओ) उत्पादन गर्ने बैंक भएको छ। नेपाल अरबबाट नबिल बैंक हुँदा अहिलेसम्म अनिल ज्ञवाली, शोभनदेव पन्त, शशिन जोशी, अशोक राणा, सुरेन्द्र भण्डारी, अमृतचरण श्रेष्ठ, भुवन दाहाललगायत विभिन्न वाणिज्य बैंकमा सिइओ भइसकेका छन्। यस्तै मनोज गोयल र अनिलकेशरी शाह पनि नबिल बैंकका उत्पादन हुन्।