काठमाडौं । आगामी वर्ष काठमाडौं उपत्यकाभित्रका चार क्षेत्रमा नयाँ नगर परियोजना निर्माण सुरु हुने भएको छ । सम्पूर्ण पूर्वाधारयुक्त, सुविधासम्पन्न सहरका रुपमा नयाँ नगर निर्माण गर्न लागिएको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लालाई लक्ष्य गरी चार ओटा नयाँ नगर निर्माण हुनेछन् । कुल १६ करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजना आगामी आर्थिक वर्षदेखि निर्माण सुरु गर्न लागिएको प्राधिकरणका सहरी योजनाकार भागवतभक्त खोकालीले जानकारी दिए । नयाँ नगर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । खोकालीका अनुसार, असोजभित्र चार ओटै नयाँ नगर परियोजनाको डीपीआर स्वीकृत भएर आएपछि निर्माण अघि बढ्नेछ ।
प्राधिकरणले ललितपुर र भक्तपुर क्षेत्रमा दस÷दस हजार रोपनी क्षेत्रफलमा परियोजना निर्माण गर्ने गरी डीपीआर ड्राफ्ट तयार भएको जनाएको छ । त्यस्तै, काठमाडौं र भक्तपुर सिमानामा निर्माण हुने नयाँ नगरका लागि एक लाख रोपनी जग्गा आवश्यक पर्छ । उक्त जग्गाको व्यवस्थापन भई परियोजनाको डीपीआर ड्राफ्ट आउने चरणमा छ ।
एक लाख रोपनी क्षेत्रफलमा निर्माण हुने परियोजनाका लागि टेन्डर भर्न १५ महिनाको समय र काठमाडौंको दस हजार रोपनी परियोजनाका लागि पुनः टेन्डर गरिएको प्राधिरकणले जनाएको छ । दुई परियोजनाको डीपीआरमा केही ढिलाइ भएको प्राधिकरणले जनाएको छ ।
आगामी आर्थिक वर्षमा चार ओटै नयाँ नगर परियोजना सुरु गर्न साढे ३ करोड रुपैयाँ बजेट विनियोजन भएको खोकालीले बताए । काठमाडौं र भक्तपुरमा बन्ने नयाँ नगरका लागि दुई करोड र अन्य तीन ओटा क्षेत्रका लागि ५०÷५० लाखका दरले १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको हो ।
उपत्यकामा बन्न लागेको योे ‘पाइलट प्रोजेक्ट’ हो । काठमाडौंको टोखा क्षेत्रको दस हजार रोपनी क्षेत्रफलमा ग्रीन सिटी परियोजना बन्नेछ ।
नयाँ नगर परियोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । नयाँ नगरसहितको सहरमा सुविधासम्पन्न यातायात, अस्पताल, विद्यालयलगायतका सहरी पूर्वाधार बन्नेछन् । खानेपानी तथा ढल निकासको उचित व्यवस्थापन हुने गरी नयाँ नगर क्षेत्र बन्ने प्राधिकरणले जनाएको छ ।