काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र सवारी नियम उल्लंघन गर्ने ८ लाख ७६ हजार १ सय ४१ सवारीसाधनलाई कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षमा काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको हो।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरिएको जानकारी दिए। कारबाही गरिएकामध्ये लेनमा ३८ हजार ३ सय ६२, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ५३ हजार ६४, रातोबत्ती बलेको बेला सवारीसाधन चलाउने २८ हजार ९ सय ३२ सवारीसाधन कारबाहीमा परेका छन्।
यस्तै तीव्र गतिमा ५६ हजार पाँच सय २४, जथाभाबी पार्किङ गर्ने १ लाख ३६ हजार ३९, आरक्षण सिट प्रयोग नगर्ने ७ सय ३६, जथाभाबी हर्न बजाउने १४ हजार ४ सय ४७, लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने १ सय ४८ र ओभरलोड प्रयोग गर्ने १६ हजार ४ सय ८५ सवारीसाधन छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौं उपत्यका सवारी साधन व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी) नेतृत्वमा १ हजार ८ सय बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ।
हाल देशभरि ३० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन्। तीमध्ये काठमाडौं उपत्यकामा मात्र १२ देखि १५ लाख सवारीसाधन सञ्चालनमा छन्।