म्याग्दी। कृषि ज्ञान केन्द्रमार्फत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा १५ साना सिँचाइ आयोजना निर्माण भएका छन् । केन्द्रको अनुदान सहयोगमा कृषक, समूह र सहकारीले पोखरी, पाइपलाइन, नहर निर्माण तथा मुहान संरक्षण गरेका हुन्।
एक पोखरी, दुई ठाउँमा नहर निर्माण र ११ ठाउँमा पाइपलाइन जडान गरेर करिब २ हजार रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले जानकारी दिए। सो आयोजनाबाट ३ सय घरधुरी किसान लाभान्वित भएका छन्।
'साना सिँचाइ कार्यक्रममार्फत १५ समूहलाई रु २७ लाख नौ हजार अनुदान उपलब्ध गराइएको छ,' उनले भने, 'केन्द्रको ९० प्रतिशत अनुदान र कृषक तथा समूहको १० प्रतिशत श्रमदानमा सिँचाइ योजना निर्माण भएका हुन्।' साना सिँचाइ योजना निर्माणका लागि केन्द्रले एउटा समूहलाई १ लाख ९९ हजार ८ सय रुपैयाँका दरले अनुदान उपलब्ध गराएको छ। मुहानको संरक्षण, इन्टेक, ट्याङ्की, पोखरी निर्माण र पाइप जडान गरेर नियमित सिँचाइ व्यवस्था मिलाइएको छ।
गाउँपालिका र सिँचाइ डिभिजन कार्यालयले सम्बोधन गर्न नसकेका किसानका समस्या साना सिँचाइ कार्यक्रममार्फत समेटिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताउए। सिँचाइ पोखरी निर्माण भएपछि धानको ब्याड राख्न र रोपाइँ गर्न सहज भएको बेनपा–९ तोरीपानीका तुलसीराज गिरीले बताए।
मुहानको थोरै स्रोतको पानी पोखरीमा संकलन गरेर तरकारी र सुन्तला खेतीमा पनि सिँचाइ गर्न सहयोग मिलेको छ। कार्यक्रममार्फत धेरैजसो कृषकले पाइप खरिद गरेका छन्। २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमा फैलिएको गण्डकी प्रदेशअन्तर्गत ६ स्थानीय तह भएको म्याग्दीमा ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन छ।
खेतीका लागि प्रयोग भएको १९ हजार ४ सय ९८ हेक्टर क्षेत्रफल जमिनमध्ये २७.९४ प्रतिशतमा नियमित सिँचाइ सुविधा छ। झन्डै ७२.६ प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेती लगाउने गरिएको छ।
यसैगरी कृषि ज्ञान केन्द्रले चालू आव २०७९/८० मा विनियोजन भएकोमध्ये ६४.३ प्रतिशत बजेट खर्च गरेको छ।५ करोड ४६ लाख ७६ रुपैयाँ बजेट विनियोजन भएकामा ३ करोड ५० लाख १० हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।