काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालयले २०८० जेठ ३१ गते ‘वानएक्स बेट’ मा सट्टेबाजी खेलाउने पाँचजनालाई सार्वजनिक गर्याे। पक्राउ पर्नेमा दिनेश खड्का, दिपेश श्रेष्ठ, दिनेश चन्द, अनिता धिताल र आशिष लामिछाने छन्।
कार्यालयका अनुसार उनीहरूले ७४ करोड १३ लाख ५० हजार रुपैयाँबराबर कारोबार गरेका थिए। तीमध्ये दिनेश खड्का एक्लैले ६४ करोड ७७ लाख ८८ हजारको कारोबार गरेका थिए।
तीमध्ये खड्का र धितालले बिगो ६४ करोड ९४ लाख २९ हजार ८ सय २० रुपैयाँ ‘क्रिप्टो करेन्सी’ को वित्तीय कारोबार गरी सट्टेबाजी गराउने गरेको प्रहरीको अभियोगपत्रमा उल्लेख छ।
अभियोग पुष्टि भए उनीहरूलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ अनुसार बिगो जफत गरी बिगोको तीन गुणा जरिवाना र सात वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।
सट्टेबाजी गराउने गिरोह सार्वजनिक गर्नेबित्तिकै यसलाई प्रवर्द्धन गर्ने गरी विज्ञापन गर्ने विभिन्न कलाकार तथा युट्युबरहरू पनि पक्राउ परे।
प्रहरीले पक्राउ परेका प्युठान घर भई हाल काठमाडौं कलंकी बस्ने २८ वर्षीय बेगम नेपाली, स्याङ्जा घर भई काठमाडौं नयाँबजार बस्ने राजु पौडेल, गोरखा घर भई काठमाडौं बनस्थली बस्ने ३५ वर्षीय मरिचमान श्रेष्ठ, मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे, धनकुटा घर भई भक्तपुर सूर्यविनायक बस्ने २९ वर्षीय रोशन खतिवडा र मोरङ विराटनगर महानगरपालिका–४ का २४ वर्षीय कुशल पोखरेलविरुद्ध मुद्दा दर्ता गरेको छ।
त्यस्तै उदयपुर घर भई ललितपुर महालक्ष्मीथान बस्ने युट्युबर २८ वर्षीय एलिस राई, मुगु घर भई ललितपुर टिकाथली बस्ने १९ वर्षीय गणेश देवकोटा, रोल्पा नगरपालिका–६ घर भई हाल कीर्तिपुर बस्ने युट्युबर २४ वर्षीय जलन घर्ती मगरविरुद्ध पनि मुद्दा चलाइएको छ।
उनीहरूले विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा (१) बमोजिम कसुर गरेको आरोप छ।
...
प्रहरीले सट्टेबाजी गराउने र विज्ञापन गर्नेलाई धमाधम पक्राउ गरेर मुद्दा चलाए पनि सट्टेबाजी भने रोकिएको छैन। अहिले पनि मोबाइलमा बेटिङ एप्लिकेसन सजिलै डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ।
हाल कति नेपालीले सट्टेबाजी गरिरहेका छन् भन्ने यकिन तथ्यांक नभएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख डा. मनोजकुमार केसी बताउँछन्।
‘सट्टेबाजी विदेशबाट सञ्चालित भएका कारण कतिले यो प्रयोग गरिरहेका छन् यकिन छैन, तर कारोबार हेर्दा यसको सञ्जाल ठूलो देखिन्छ,’ केसीले क्यापिटल नेपालसँग भने।
प्रहरीले सट्टेबाजी रोक्न तदारुकता देखाए पनि सर्वसाधारणको पहुँचबाट पर लैजान ‘पोर्न साइट’ झैं किन ‘ब्यान्ड’ (प्रतिबन्ध) गर्न सक्दैन भन्ने प्रश्न उब्जिएको छ।
सरकारले चाहे त्यस्ता साइट र एप्लिकेसन सजिलै बन्द गर्न सक्ने कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) अध्यक्ष रणजित पोद्दार बताउँछन्।
‘कुनै पनि एउटा सामान्य कार्यालयले चाहेको खण्डमा आफ्नो अफिसमा कुन साइट चल्न दिने र कुन नदिने त निर्धारण गर्न सक्छ भने सरकारले चाहे त्यस्ता एप र साइट तुरुन्त बन्द गर्न सक्छ,’ उनले भने।
त्यस्ता एप र साइट बन्द गराउने पहल भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख केसीको दाबी छ।
‘साइट र एप बन्द गराउने अधिकार प्रहरीसँग हुँदैन। हामीले योसँग संलग्न व्यक्तिहरू पक्राउ गरेर अनुसन्धान गर्ने हो र त्यो गरिरहेका पनि छौं,’ उनले भने, ‘र, ती एप बन्द गराउने सवालमा हामीले सरकारलाई राय/सुझाव दिएका छौं।’