काठमाडौं। सरकारले मोटरेबल पुल बनाउन नयाँ प्रविधि प्रयोग गर्ने भएको छ। पुल बनाउँदा निर्माण परम्परागत ढाँचामा हुने गरेकाेमा अब नयाँ प्रविधि भित्र्याइएको हो।
एक दशकअघि हुलाकी राजमार्गमा पर्ने झापा मेचीपुल निर्माणमा प्रयोग गरिएको प्रविधि हाल पूर्व–पश्चिम राजमार्गको कमला–कञ्चनपुरमा प्रयोग भइरहेको छ। झापा भद्रपुरबाट पश्चिम बङ्गालतर्फ उक्त प्रविधिको पुल निर्माण भएको छ।
करिब ८५ किलोमिटर लम्बाइको कमला–कञ्चनपुर खण्डमा साना तथा ठूला गरेर ५४ पुल निर्माण हुनेछन्। ५४ वटै पुलमा नयाँ ‘प्रि-कास्ट ब्रिज’ प्रविधि प्रयोग हुने आयोजना निर्देशनालय एसियाली विकास बैंक (एडिबी) का सूचना अधिकारी विजय महतो बताउँछन्।
उनका अनुसार उक्त खण्डमा निर्माण हुने कल्भर्ट तथा ठूला पुल गरी ५४ वटा छन्। ती सबैमा प्रि-कास्ट प्रविधि प्रयोग हुनेछ। जसमध्ये केही पुलको निर्माण पूरा भएको उनको भनाइ छ।
पछिल्लो समय प्राविधिकले नेपालका सडकमा नयाँ प्रविधिकाे पुल निर्माणलाई प्राथमिकता दिँदैछन्। सोहीअनुसार ‘प्रि-कास्ट ब्रिज’ प्रविधि प्रयोग बढ्न थालेको हो।
सडक निर्देशनालय एडिबीको ऋण सहयोगमा कमला–कञ्चनपुर खण्ड निर्माणाधीन छ। पूर्व–पश्चिम राजमार्गको कमला–कञ्चनपुर खण्डमा पर्ने पुलहरूमा भने पहिलोपटक प्रि-कास्ट ब्रिज प्रविधि प्रयोग गर्न लागिएको हो।
के हो प्रि-कास्ट ब्रिज?
पुलको जग (फाउन्डेसन) खोलामै बन्ने तर पुलको माथिल्लो भाग (बिम) निर्माणस्थल बाहिर बनाएर जोड्ने प्रविधि प्रि-कास्ट ब्रिज हो।
एडिबी निर्देशनालय प्रमुख चुडाराज ढकाल भन्छन्, ‘प्रि भनेको पहिला र कास्ट भनेको ढलान गरेको हो, अर्थात बाहिर बिम ढलान गरेर जोड्ने प्रविधि नै प्रि-कास्ट ब्रिज हो।’
पुलको संरचना खोलामै बन्नेछ तर, पुलको माथिल्लो भागमा राख्ने बिम निर्माण कम्पनीले छुट्टै स्थानमा बनाएर जोड्का लागि मात्रै खोलामा लानुपर्छ। हाल कमला–कञ्चनपुर खण्डका पुलको बिम भारतमा बनेर नेपाल ल्याइँदैछ।
के हुन्छ फाइदा?
प्रि-कास्ट ब्रिज प्रविधि प्रयोग गर्दा खोलामा बाढी आए पनि पुल बगाएर हुने क्षतिमा कमी हुनेछ। साथै, निर्माणाधीन सडकमा हुने अन्य समस्यामा पनि कमी आउने ढकाल बताउँछन्।
‘खोला थुनेर काम गर्नुपर्दैन, भासिएला भन्ने चिन्ता हुँदैन, ल्याबमै बनेर आउने भएकाले गुणस्तर पनि कायम रहन्छ,’ उनले भने, ‘नेपालका निर्माण व्यवसायीसँग स्रोत, साधन नभएर हामीले अहिलेसम्म गरेका छैनौं तर चीनमा प्रि-कास्ट ब्रिज निर्माण भइरहेका छन्।’
त्यसबाहेक एउटै पुलको जग निर्माण र बिमको काम छुट्टाछुट्टै ठाउँमा एकैपटक गर्दा निर्माण समयावधि घट्ने छ। हाल एउटा पुल निर्माण गर्न लाग्ने समयभन्दा ४० प्रतिशत छिटो पुल निर्माणको काम पूरा हुने सूचना अधिकारी महतोले बताए।
तर, लागत रकम भने घट्दैन। ठूला बिम ओसारपसार गर्न ठूला गाडी, ट्रक आवश्यक पर्ने प्रमुख ढकालको भनाइ छ।
‘समय बचत हुन्छ, खोलामा बाढी जाँदा पुल बगाएर हुने क्षति घट्छ। तर, लागत घट्दैन किनकि काम थोरै गर्नुपर्ने होइन, काम उस्तै हो, तरिका मात्रै फरक हुन्छ,’ उनले भने।
अब नेपालमा पनि नयाँ प्रविधि प्रयोगलाई जोड दिन प्रि- कास्ट ब्रिज निर्माणमा प्राथमिकता दिनुपर्ने ढकाल बताउँछन्। नारायणी र पोखरा क्षेत्रमा पनि यो प्रविधि प्रयोग भइरहेको र अब बन्ने ठूला आयाेजनाका ठेक्कामा पनि जोड दिने योजना सरकारको छ।
हाल निर्माणस्थलमै पुलको सबै काम हुने प्रविधिलाई ‘कास्ट इन सिट’ भनिन्छ। प्रि-कास्ट ब्रिज प्रविधिबाट पुल बनाउँदा बढी गुणस्तरीय हुने प्राविधिक बताउँछन्।
निर्माण स्थलमा बिम बनाउँदा प्राविधकले भनेको सबै कुरा लागू नहुन सक्छ। किनकि, त्यहाँ मजदुरको भर गर्नुपर्छ। तर, निर्माणस्थल बाहिर बिम बनाउँदा प्राविधिकको सल्लाहअनुसार बनाउन सकिने भएकाले बढी गुणस्तरीय हुन्छ।
हाल नेपालमा प्रयोगमा रहेको प्रविधिमा निर्माणस्थलमा जग बनेपछि मात्रै फर्मा हाल्ने गरिन्छ। त्यसपछि ढलान गरेर पुल निर्माण हुन्छ। ढलान सेट हुन कम्तीमा २८ दिन लाग्छ र त्यसपछि पुलको माथिल्लो भागको काम गर्न सकिन्छ। प्रि-कास्ट प्रविधि प्रयोग भएपछि उक्त समस्या हट्ने छ।
कमला–कञ्चनपुर योजनाको पूर्वी खण्डमा २९ र पश्चिम खण्डमा २५ गरी ५४ पुल निर्माण हुन्छन्। करिब दुई वर्ष पहिला चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको कमला–कञ्चनपुर खण्डको म्याद तीन वर्ष छ।
८५ मध्ये ५० किलोमिट बाटो छिट्टै कलोपत्रे हुने निर्देशनालयले जनाएको छ। दुई लेनको पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजनाअनुसार सरकारले एडिबीसँग ऋण लिएर कमला–कञ्चनपुर खण्ड विस्तार गर्दैछ।
त्यसबाहेक नेपालमा नयाँ प्रविधिको `आर्क ब्रिज´ काठमाडौं बिजुली बजारमा बनेको छ। साथै, `सिग्नेचर ब्रिज´ निर्माण पनि नेपालमा भित्र्याउने योजनामा सरकार छ।
सोही अनुसार पूर्व–पश्चिम राजमार्गकै नारायणी नदीमा दुई लेनको सिग्नेचर जस्तै पुल निर्माणको ठेक्का सम्झौता भइसकेको छ भने पूर्णरूपमा सिग्नेचर प्रविधि प्रयोग गरेर नरायणीमै अर्को पुल बनाउन सडक विभागले तयारी गर्दैछ।
नेपालमा बन्ने मोटरेबल पुल भासिने, भत्किने, खोलाले बगाउनेजस्ता समस्या बारम्बार देखिने गर्छन्। जसको दीर्घकालीन समाधानका लागि पनि नयाँ प्रविधि नेपाल भित्र्याउनुपर्ने आवश्यकता रहेको प्राविधिकको भनाइ छ।
सडक विभागका एक इन्जिनियरका अनुसार नेपालमा बन्ने पुलमा लामो समय खोलामै बसेर सबै काम गर्नुपर्ने हुन्छ। जसले गर्दा निर्माण कम्पनीले राम्रो र गुणस्तरीय सामान प्रयोग गर्दागर्दै अचानक आउने वा सम्भावित बाढीले निर्माणाधीन पुलमा क्षति पुग्छ।
त्यस्ताे बेला समस्या हटाएर आर्थिक क्षति कम गर्न पनि विश्वमा प्रयोग भइरेहका छिटो निर्माण पूरा हुने प्रविधितर्फ सोच्नुपर्ने बेला आएको ती इन्जिनियरले बताए।