काठमाडौं। विवाह र पार्टीका कारण ‘वेडिङ डेस्टिनेसन’ बनेको झापा भद्रपुरस्थित पाँचतारे डिलक्स होटल मेची क्राउनको व्यापारमा उछाल आएको छ।
सन् २०२२ मा होटलको व्यापार ४ सय ८८ प्रतिशत बढेको छ। त्यसबाट मेची क्राउनले १८ करोड ७१ लाख रुपैयाँबराबर व्यापार गरेको छ।
सञ्चालनमा आएको वर्ष २०२१ मा होटलले ३ करोड १८ लाख रुपैयाँमात्र कारोबार गरेको थियो। एक वर्ष अवधिमा होटलको व्यापार १५ करोड रुपैयाँ बढेको उसले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
सन् २०२१ देखि १ सय ५ कोठामा सञ्चालित होटलले १ अर्ब १ करोड ९९ लाख रुपैयाँ ऋणको ‘रेटिङ’ गराएको छ।
सञ्चालनमा आएको छोटो समयमै वेडिङ डेस्टिनेसन र क्यासिनोका लागि रोजाइमा पर्दै आएपछि मेची क्राउनले ६० करोड रुपैयाँ लगानीमा थप १ सय कोठा निर्माण गरिरहेको छ।
होटल भेगास सिटी इन्टरटेनमेन्ट प्रालिले सञ्चालन गर्दै आएको छ। थप १ सय कोठा ढिलोमा डेढ वर्षभित्र सञ्चालनमा आउने भेगास सिटीले जनाएको छ। जग्गा पहिलेकै रहेकाले अहिले कोठामात्र थप गरिएको छ। सात तलाको भवनमा १ सय कोठा रहने छ भने भवन निर्माण जारी छ।थपिएपछि होटलको कोठमा २ सय ५ वटा हुनेछ।
अहिले १ सय ५ कोठा रहेको मेची क्राउनमा पछिल्लो समय भारतका अधिकांश क्षेत्रबाट विशेष गरी पश्चिम बंगालबाट विवाह तथा पार्टीका लागि आउने क्रम बढेपछि भेगासले लगानी थपेर कोठा बढाउन लागेको हो।
होटल चन्द्रगढी विमानस्थलबाट १५ किलोमिटर र भारत बागडोरा अन्तर्राष्ट्रिय विमानस्थलबाट २६ किलोमिटर दुरीमा छ।
पूर्वी नाका काँकडभिट्टादेखि भारत, बंगलादेश र भुटान छोटो दुरीमा रहेकाले त्यहाँका पर्यटक आउने गरेका छन्।
होटलमा पाँच सुइट, १० भिल्ला, २० क्लब र ७० डिलक्स रुम छन्। दुई रेस्टुरेन्ट, ब्यांक्वेट हलसहित हेलिप्याडको सुविधासमेत रहेको भेगासले जनाएको छ।
स्विमिङ पुल, स्पा सेन्टर, स्टिम बाथ, जिम हल, टेनिस कोर्ट र ब्युटिपार्लर भवन परिसरमै छन्। क्यासिनो भेगास रिक्रिएसन नेपाल प्रालिले सञ्चालन गरिरहेको छ। कम्पनीले मासिक भाडा तिरेर क्यासिनो सञ्चालन गरिरहेको हो।
भेगास सिटी २०१४ मा स्थापना भएको थियो। होटल ८ बिघा क्षेत्रफलमा छ। मेची क्राउनमा बलराम सापकोटाको ४०, पवित्रकुमार कार्कीको ३० र क्षमादेवी इन्भेस्टमेन्ट प्रालिको १३ प्रतिशत स्वामित्व छ। होटलका लगानीकर्ता हेलिकोप्टर कम्पनी, जलविद्युत, रियलइस्टेट र निर्माण व्यवसायमा संलग्न छन्।