काठमाडौं। एनआइसी एसिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकका परिवारलाई सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गतकाे रकम वितरण गरेको छ। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नारा रहेको बैंकले पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाखका दरले रकम वितरण गरेको हो।
बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरूको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बिमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको हो।
चितवनस्थित बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्र प्रसाद बछाडको भाइ राजन प्रसाद बछाड, रुपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोलेका मृतक सम्राट खनालको बुबा लक्ष्मण खनाल, बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशिष थारुको बुबा दुल्लु राम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता खोलेका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमा देवी घिमिरे दाहाल र स्याङजास्थित कृषि शाखामा खाता खोलेका मृतक कृष्ण प्रसाद भण्डारीकी श्रीमती टंकी देवी भण्डारीलाई रकम हस्तान्तरण गरिएको हो।
एनआइसी बैंकको बिमासहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ३ हजार १ सय १६ जना ग्राहकहरूलाई ९ करोड ४० लाख रुपैयाँभन्दा बढी बिमा दाबी रकम हस्तान्तरण भइसकेको छ। जसमध्ये घातक रोग बिमा वापत २८ जनाले ३ करोड रुपैयाँ, दुर्घटना बिमा वापत १७ जनाले १ करोड ७० लाख र मेडिकल बिमा वापत ३ हजार ७१ जनाले ४ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गरेका हुन्।
एनआइसी एशिया बैंकको देशभरि ३ सय ६० शाखा कार्यालय, ४ सय ७३ एटिएम, १ सय १० वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखारहित शाखा सञ्जाल छन्।