काठमाडौं। चार वर्षअघि लुक्लामा भएको ठूलो हवाई दुर्घटनामा ‘भाग्यकै कारण बाँचे’ भन्दै आएका मनाङ एयरका क्याप्टेन चेत गुरुङलाई यसपालि भाग्यले साथ दिएन।
एक दशकदेखि मनाङ एयरको हेलिकोप्टर उडाउँदै आएका क्याप्टेन गुरुङ चार वर्षअघि लुक्ला विमानस्थलमा समिट एयरको जहाजले ठक्कर दिएर मनाङ र श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटना हुँदा साँच्चै भाग्यले बाँचेका थिए।
उनै क्याप्टेन गुरुङले मंगलबार बिहान आफैंले उडाएको हेलिकोप्टर दुर्घटना हुँदा ज्यान गुमाए। उनीसँगै मेक्सिकोका पाँच पर्यटकले पनि ज्यान गुमाउन पुगे।
‘क्याप्टेन गुरुङ भाग्यमा धेरै नै विश्वास गर्नुहुन्थ्यो। चार वर्षअघि लुक्ला विमानस्थलमा भएको दुर्घटनामा पनि भाग्यकै कारणले बाँचियो भन्नुहुन्थ्यो,’ क्याप्टेन गरुङनिकट एक हेलिकोप्टर कम्पनीका क्याप्टेनले क्यापिटल नेपालसँग भने, ‘यसपालि उहाँलाई भाग्यले नै साथ दिएन।‘
लुक्ला विमानस्थलमा चार वर्षअघि भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको थियो। तर, क्याप्टेन गुरुङ आफूले उडाएर ल्याएको हेलिकोप्टर अवतरण गरेर बाहिर निस्किएको केही मिनेटमै उनको हेलिकोप्टरमा समिट एयरको जहाज आएर ठोक्किएको थियो। केही मिनेटको अन्तर भएका कारण सायद उनले भने झैं भाग्यकै कारण बाँचेका थिए।
क्याप्टेन गुरुङ मेक्सिकोका पाँच पर्यटकलाई ‘माउन्टेन फ्लाइट’ गराउन सोमबारै सोलुखुम्बको लुक्ला गएका थिए। तर, मौसम नखुलेपछि सोमबारको रात लुक्लामै बास बसेका थिए। मंगलबार बिहान तिनै पर्यटकलाई माउन्टेन फ्लाइट गराएर फर्किने क्रममा उडेको सात मिनेटमै उनको हेलिकोप्टर दुर्घटनामा प¥यो। उनीसहित ६ जनाले ज्यान गुमाए।
दुर्घटना कसरी भयो भन्ने विस्तृत विवरण आउन बाँकी भए पनि रुखमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ। २५ वर्षदेखि हेलिकोप्टर उडाइरहेका ५४ वर्षीय क्याप्टेन गुरुङसँग हजारौं घन्टाको उडान अनुभव थियो।
उनले सन् १९९८ देखि हेलिकोप्टर उडान सुरु गरेका थिए। सुरुमा उनले ‘एमआई–७०’ सिरिजको ठूलो हेलिकोप्टर उडाएका थिए। पछिल्लो १० वर्षयता उनी मनाङ एयरका हेलिकोप्टर उडाइरहेका थिए।
उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक विश्लेषणअनुसार क्याप्टेन गुरुङले उडाएको हेलिकोप्टर ‘कन्ट्रोल फ्लाइट इन्टु टेरेन’ (सिफिट) अन्तर्गत दुर्घटनामा परेको हो। सिफिट भनेको जहाज वा हेलिकोप्टर, चालकदल र उडान सञ्चालन प्रक्रिया सबै चुस्त हुँदाहुँदै एक्कासि मौसम खराब भएर नियन्त्रण हुने दुर्घटनाको प्रकृति हो।
क्याप्टेन गुरुङले उडाएको मनाङ एयरको दर्ता नम्बर ‘९एन–एएमभी’ हेलिकोप्टर मंगलबार बिहान सोलुखुम्बु लिखुपिके गाउँपालिका–५ स्थित लामजुरा नजिकै दुर्घटनामा परेको र हालसम्म पाँचजनाको शव संकलन भएको प्राधिकरणले जनाएको छ।
हेलिकोप्टरमा क्याप्टेन गुरुङ तथा मेक्सिकोका पुरुष यात्रुहरू सिफुएन्टेस जि फर्नानान्डो र रिंकन इस्माइल एवं महिला यात्रुहरू गोन्जालेज एब्रिक, गोन्जालेज ओलासियो लुज र सिफुएन्टेस जि मारिया होस थिए।