काठमाडौं। ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) पक्राउ गरेको छ।
मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणराज मिश्रलाई सिआइबीले मंगलबार पक्राउ गरेको हो। सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने कार्यमा भूमिका देखिएपछि मिश्र र पौडेल पनि अनुसन्धानमा तानिएका हुन्।
यस प्रकरणमा यसअघि नै १२ जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन सरकारी कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की, वडासचिव शिवजी भट्टराई, नापी सर्वेक्षक घमनकुमार कार्की, मोही बाबुराम महर्जन, तत्कालीन नायब सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जनलगायत छन्।
ललिता निवासको जग्गा हिनामिना भएको विषयमा डेढ वर्षअघि नै सिआइबीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले अनुसन्धान पूर्ण नभएको र थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो। २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको सआइबीको अनुसन्धानले देखाएको थियो।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा एक भूतपूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा नै छ। बालुवाटारस्थित बहुमूल्य जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।