काठमाडौं। गाई तथा भैंसीमा लाग्ने लम्पी स्किन रोगको संक्रमणदर घटेको पशुसेवा विभागले जनाएको छ। भाइरस संक्रमण एक चरणमा पुगेपछि क्रमशः घट्ने गर्छ। साथै रोगविरुद्ध लागइएको खोप, किसानलाई सुसूचित गरेर संक्रमण फैलिन कम भएको विभागले जनाएको हो।
पछिल्लो समय नेपालका ७ लाख ९ हजार २ सय ३ संक्रमित पशुमध्ये २५ हजार ७ सय ८२ पशु मरेका छन्। संक्रमितमध्ये ४ लाख ५३ हजार ८ सय १९ निको भएको विभागले जनाएको छ। हाल देशभरि २ लाख २९ हजार ६ सय २ पशु सक्रिय संक्रमित छन्।
नेपाल पशुचिकित्सा परिषदका अनुसार लम्पी स्किन महामारीबाट अहिलेसम्म २७ अर्ब २२ करोड ५० लाख रुपैयाँबराबर क्षति भएको छ। पशु सेवा विभागले भने संघीय सर्त अनुदानतर्फ संक्रमण फैलिएका स्थानीय तहलाई एक/एक लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको छ।
विभागका सूचना अधिकारी चन्द्र ढकाल चालू अर्थिक वर्ष र आर्थिक वर्ष २०८०/८१ का लागि संघीय ससर्त अनुदानतर्फ बाराबरी (एक/एक लाख) रकम विनियोजन भएको बताउँछन्।
महामारीको रूपमा फैलिएको रोग नियन्त्रण गर्न एक वर्षका लागि एउटा स्थानीय तहलाई एक लाख रुपैयाँ बजेटले पुग्छ त ? जवाफ दिँदै सूचना अधिकारी ढकाल भन्छन्, ‘बजेटको उपलब्धता, स्रोत व्यवस्थापनको कुरा पनि जोडिन्छ, संघबाट एक/एक लाख गएको छ, प्रदेश र स्थानीयतहले पनि बजेट विनियोजन गर्छन्।’
हालसम्म सरकारले मृत पशुका लागि क्षतिपूर्ति दिने घोषणा गरेको छैन। जसका कारण बिमा गरिएका पशुले मात्रै क्षतिपूर्ति पाउने भएका छन्।
संक्रमण घटेपनि पूर्णरूपले निको हुने सम्भावना भने हुँदैन। भाइरसबाट संक्रमण फैलिने भएकाले फेरि पनि लम्पी सिकन रोग गाईभैंसीमा फैलिन सक्ने सूचना अधिकारी ढकाल बताउँछन्।
‘तत्काल संक्रमणदर ओरालो लागेको छ, पशुलाई खोप लगायौं, किसानलाई सुसूचित गर्यौं। तर, केही सयम वा वर्षपछि फेरि फैलिन सक्छ। ढुक्क भएर बस्नु हुँदैन’ उनले भने। दीघकालीन रूपमा महामारी फैलिन नदिन खोप लगाउने काममा जोड दिनुपर्ने उनको भनाइ छ।
सोही अनुसार विभागले तयारी गरिरहेको ढकालले बताए। संक्रमण नभएका पशु जसमा रोग लाग्ने सम्भावना रहन्छ, तिनीहरूलाई खोप लगाउनुपर्छ। संक्रमित पशुलाई खोप लगाउन नहुने पशुचिकित्सक बताउँछन्।
विभागका अनुसार लम्पी स्किन रोग महामारी नियन्त्रणका लागि पशुसेवा विभाग र मातहतका निकाय, प्रदेश सरकार, मातहतका निकाय तथा स्थानीय तहमा कार्यरत पशु स्वास्थ्यकर्माीहरूले काम गर्दै आएका छन्।
विभागकी महानिर्देशक डा. सम्झनाकुमारी काफ्ले अन्य सरकारी निकाय, निजीक्षेत्रमा कार्यरत पशु स्वास्थ्यकर्मीलगायतका सरोकारवालासँग समन्वय गरी रोग रोकथाम तथा नियन्त्रणका लागि प्रयास भइरहेको बताउँछिन्।
पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरिएको उनको भनाइ छ। लम्पी स्किन रोगबाट प्रभावित पशुको उपचारका लागि संघ, प्रदेश र स्थानीय तहबाट औषधि व्यवस्थासहित प्राविधिक परिचालन गरिएको छ।
१० लाख ३७ हजार डोज खोप आयात
विभागले उपलब्ध गराएको विवरणअनुसार लम्पी स्किनविरुद्धको १० लाख ३७ हजार डोज खोप नेपाल ल्याइएको छ। हालसम्म देशभरि १ लाख ८० हजार ९ सय २२ पशुमा खोप लाइएको छ।
विभागले प्रदेश तथा स्थानीय तहसँगको समन्वयलाई प्रभावकारी बनाएर रोगको विषयमा जानकारी लिन/दिन प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ।
चालू आर्थिक वर्षमा खर्च गर्ने गरी महानगरपालिका र संक्रमण नफैलिएका जिल्ला बाहेक प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न विभागले संघीय ससर्त अनुदानअन्तर्गत एक लाखका दरले रकम विनियोजन गरेकाे छ।
मन्त्रालयले पनि दियो बजेट
कृषि तथा पशुपन्छि विकास मन्त्रालयले पनि लम्पी स्किन रोग नियन्त्रणका लागि साढे ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। रोग संक्रमण नफैलिएको मनाङबाहेक ७६ जिल्लामा बजेट विनियोजन गरिएकाे मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेल बताउँछन्।
संक्रमण अवस्था हेरेर एक लाखदेखि अढाई लाख रूपैयाँसम्म एउटा स्थानीय तहलाई पुग्ने गरी बजेट विनियोजन भएको प्रवक्ता सञ्जेलको भनाइ छ। सो बजेट स्थानीय तहले खोप खरिद तथा रोग नियन्त्राणमा खर्च गर्नुपर्ने छ। आगामी आर्थिक वर्षका लागि भने बजेट विनियोजन गर्ने तयारी भइरहेको उनको भनाइ छ।
‘लम्पी स्किनकै लागि भनेर बजेट हुँदैन, महामारी नियन्त्रण शिर्षकमा बजेट जान्छ,’ प्रवक्त सञ्जेल क्यापिटल नेपालसँग भन्छन्, ‘अहिले यो रोगको संक्रमणदर घट्दैछ, फेरि अर्को आउन सक्छ।’
नेपालमा पहिलोपटक २०७७ साल असार महिनामा मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाका गाईमा रोग देखा परेको थियो। हाल देशका ७६ जिल्लामा लम्पी स्किन रोग पुष्टि भएको विभागले जनाएको छ। उक्त रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएका छन्।
लम्पी स्किन गाईभैंसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो। यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठाहरू देखिने, र्याल, सिंगान बग्ने, चिप्रा र कचेरा लाग्ने, खुट्टा र जोर्नी सुन्निने जस्ता लक्षण देखिन्छन्। यो रोगले मुख्यतः बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाईभैंसीलाई असर गर्ने विभागले जनाएको छ।