काठमाडौं। कर्मचारी सञ्चय कोषले साउन १ सोमबारबाट लागू हुने गरी ब्याजदर घटाएको छ। कोषले सञ्चयकर्तालाई दिने र ऋण लगानी दुवैमा ०.५ प्रतिशत बिन्दु ब्याजदर घटाएको हो।
नयाँ ब्याजदर सञ्चय कोष सञ्चालक समितिले पारित गरिसकेको छ। आगामी आर्थिक वर्षदेखि लागू हुने प्रशासक जितेन्द्र धितालले बताए। सञ्चयकर्तालाई लिने र लिने दुवैको ब्याजदर ०.५ प्रतिशत घटाएको उनले जानकारी दिए।
सञ्चय कोष लगानी विभाग प्रमुख ठाकुरजंग थापाको संयोजकत्वमा गठित अध्ययन समितिले सञ्चयकर्ताको निक्षेप र कर्जाको ब्याजदर १.५ प्रतिशत बिन्दुसम्म घटाउन सिफारिस गरे पनि सञ्चालक समितिले ०.५ प्रतिशत बिन्दुमात्र घटाउने निर्णय गरेको हो।
संस्थागत निक्षेपको ब्याजदर घटेका कारण सञ्चय कोषलाई अहिले दबाब छ। नेपाल राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर २ प्रतिशत बिन्दुले घटाएपछि यसको असर सञ्चय कोषलाई पर्दै आएको छ। कोषले संस्थागत निक्षेपमा २ प्रतिशत बिन्दु सीमा हटाउन लागिपरेको छ।
बैंकहरूमा लगानीयोग्य रकम (तरलता) बढ्दै गएकाले ब्याजदर कम हुने अनुमान कोषको छ। बैंकिङ प्रणालीमा अधिक तरलता छ। यस्तै कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ८२.८८ प्रतिशत छ।
यसको अर्थ बैंकहरूमा तरलता अधिक भन्ने हो। अन्तरबैंक ब्याजदर २.४६ प्रतिशत छ। बैंकहरूमा तरलता थुप्रिएपछि अन्तरबैंक ब्याजदर निरन्तर घट्दै आएको छ।
२०७९ साउन १ बाट लागू हुने गरी सञ्चय कोषले बचत र ऋण दुवैको ब्याजदर १.५ प्रतिशत बिन्दुले बढाएको थियो।
कोषले सञ्चयकर्तालाई बचतमा दिने ब्याजदर १.५ प्रतिशत बिन्दुले बढाएर ८ प्रतिशत पु¥याएको थियो। आगामी साउनदेखि ७.५ प्रतिशतमा झर्ने भएको छ।
यस्तै सञ्चयकर्तालाई दिने ऋणको ब्याजदर १.५ प्रतिशत बिन्दुले बढेर ९.१ प्रतिशत पुगेकोमा अब घटेर ८.६ प्रतिशत हुने भएको छ।
सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ प्रतिशत कायम गरिएकोमा अब ९.२५ प्रतिशत हुने भएको छ।
यस्तै जग्गा खरिद र सरल चक्र कर्जामा १०.२५ प्रतिशत भएकोमा ९.७५ प्रतिशत कायम हुने भएको छ। कोषको बचत र ऋणको ब्याजदर अन्तर १ प्रतिशत छ। सञ्चय कोषमा निजामती सेवा, सेना, प्रहरीलगायत अन्य संस्थागत गरी ६ लाख सञ्चयकर्ता आबद्ध छन्।
कोषले ६५ अर्ब रुपैयाँभन्दा बढी रकम जलविद्युतमा लगानी गरेको छ। उसले जलविद्युत आयोजनासँग ९.७५ देखि ११ प्रतिशतसम्म ब्याज लिएको छ।
कोषले मुलुककै ठूलो ४ सय ५६ मेगावाट माथिल्लो तामाकोसी, १ सय ११ मेगावाट रसुवागढी, १ सय २ मेगावाट मध्यभोटेकोसी र ५७ मेगावाट सान्जेनमा ऋण लगानी गरेको छ। कोषले नेपाल वायुसेवा निगमलाई जहाज खरिद गर्न पनि ऋण दिएको छ।