काठमाडौं । संघीय राजधानी भित्रिने ‘लाइफलाइन’ सडकका रुपमा रहेको नागढुङ्गा—कलङ्की सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।
साढे १२ किलोमिटर लामो उक्त सडकको अधिकांश काम सम्पन्न भएको आयोजनाले जनाएको छ । यसअघि बाँकी रहेको १ हजार २०० मिटर सडक विस्तारको काम पनि सुरु भएकाले दुइ हप्ताभित्र सडकको सम्पूर्ण काम पूरा हुने नागढुंगा–कलंकी सडक विस्तार आयोजनाका प्रमुख अर्जुन अर्यालले जानकारी दिए । साढें १२ किलोमिटर सडकको मर्मत र विस्तार सुरु भइसकेको छ । कंक्रिट तथा ढलानको काम सकिसक्यो’ उनले भने, केही ठाउँका खाल्डाखुल्डी पुर्नुछ । अवरोध नआएमा १÷२ हप्ताभित्र सकिन्छ ।’ यसअघि ११ किमीको कालोपत्र र फिनिसिङको काम सम्पन्न भइसकेको छ । फुटपाथबाहेक सडक विस्तार र उपलव्ध ठाउँको सडक फिनिसिङ र कालोपत्रे भइसकेको अर्यालले बताए ।
तिहारअघि नै सबै काम सक्ने भनिए पनि प्रतिकुल मौसका कारण काम गर्न नसकिएको आयोजनाले जनाएको छ । दाँया र बाँया गरी ११÷११ मिटर चौडा हुने गरी यो सडक विस्तार भइरहेको छ । यसअघि थानकोट चेक पोष्टमा ४०० मिटर कालोपत्र गर्ने काम अलकत्रा अभावले रोकिएको थियो । अहिले भने अलकत्रा आएर काम सुरु भएको छ ।
त्यस्तै, सतुंगल र सीजी क्षेत्रको झन्डै ९०० मिटर मात्रै फिनिसिङ र कालोपत्रेको काम सुरु गरिएको छ । त्यस क्षेत्रमा खाल्डाखुल्डी पुर्ने र ढलानको काम पनि सँगसँगै भइरहेको छ ।
बज्रगुरु विरुवा सीएम, शर्मा, शैलुङ जेभी, लुम्विनी शैलुङ जेभी, शर्मा शैलुङ जेभीले चार खण्डमा काम गरिरहेका छन् । उक्त आयोजनामा चारओटा कम्पनीको झन्डै १ अर्ब ६४ करोड रुपैयाँको ठेक्का छ ।
सडक निर्माण तथा विस्तारपश्चात ट्राफिक जाम धेरै हदसम्म कम हुनेछ । खाल्डाखुल्डीकै कारण हुने सवारी दुर्घटनामा पनि कमी आउने छ । अहिले काठमाडौंबाट बाहिरीने र भित्रिने सवारी साधन त्यसखण्डमा घण्टौ जाममा फस्ने गर्छन ।
गर्मीमा धुँलो र पानी परेका बेला हिलो कारण त्यस सडक आसपासका स्थानीय समस्यामा पर्दै आएका थिए । सडक विस्तार भएपछि त्यो समस्या कम हुने छ ।