काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मागेको जवाफ नफर्काउने अडानमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एकाएक शुक्रबार मन्त्रालयमा जवाफ फर्काए।
पर्यटनमन्त्री किराँती र महानिर्देशक अधिकारीबीच जवाफ माग्न मिल्ने वा नमिल्ने भन्ने विवादले उग्ररूप लिइरहेको बेला शुक्रबारबाट दुईबीचको ‘लडाइँ’ साम्य भयो। पहिलो पत्रको जवाफ नदिएका महानिर्देशक अधिकारीले दोस्रोपटक जवाफ दिएर विवाद साम्य बनाएको पर्यटन मन्त्रालयका एक सहसचिवले बताए।
मन्त्री र महानिर्देशकबीच बढेको दुरी एकाएक कसरी साम्य भयो त? पानी बाराबारको अवस्थामा पुगेको सम्बन्ध सुध्रिएर सहमतिमा अगाडि बढ्ने प्रतिबद्धता जारी हुनुको एउटै कसी हो, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चेतावनी। पर्यटनमन्त्री किराँती र महानिर्देशक अधिकारी दुवैको विवाद छताछुल्ल भएपछि प्रधानमन्त्री दाहालले चासो राखेका थिए।
पर्यटनमन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई जवाफ माग्ने निर्णय प्रधानमन्त्रीलाई जानकारी गराएर मागिएको दाबी गर्दै आएका छन्। जब पर्यटनमन्त्रीले जवाफ मागेर पत्र पठाए त्यहीबेला महानिर्देशक अधिकारीले प्रधानमन्त्री दाहाललाई भेटेर असन्तुष्टि पोखेका थिए।
प्रधानमन्त्री दाहालले पनि त्यो बेला महानिर्देशक अधिकारीकै पक्ष लिएका थिए। जसका कारण महानिर्देशक अधिकारी पर्यटनमन्त्रीले मागेको जवाफ नफर्काउने अडानमा रहे।
जब पर्यटनमन्त्री किराँतीले दोस्रो पत्र महानिर्देशकलाई पठाउँदै कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी दिए, तब दुवैजना फेरि प्रधानमन्त्री दाहालको दैलो पुगे। प्रधानमन्त्रीनिकट व्यक्तिहरूले पनि अहिलेको अवस्थामा पर्यटनमन्त्री र नागरिक उड्डयन प्राधिकरण महानिर्देशकबीचको विवादले राम्रो सन्देश नगएकाले मिलाउन दबाब दिएका थिए।
त्यहीबीच प्रधानमन्त्री दाहालले मन्त्री किराँती र महानिर्देशक अधिकारीलाई एकै ठाउँ राखेर मिल्न दबाब दिँदै ‘नमिल्ने भए दुवैलाई हटाउने’ चेतावनी दिए। जब प्रधानमन्त्रीबाट बर्खासीको चेतावनी आयो, तब दुवैले मिलेर जाने प्रतिबद्धता जनाउदै प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिए। र, शुक्रबार कार्यालय समयमै मन्त्रीको चित्तबुझ्दो जवाफ लेखेर पत्र पठाए।
दुवैको भरोसा थिए प्रधानमन्त्री दाहाल
पर्यटनमन्त्री किराँती र महानिर्देशक अधिकारीको भरोसा नै प्रधानमन्त्री दाहाल थिए। मन्त्री किराँती माओवादीकै भएको र महानिर्देशक अधिकारी चितवन निवासी भएकाले दुवैलाई उत्तिकै नजिकको पात्रका रूपमा प्रधानमन्त्री दाहालले राखेका छन्।
मन्त्री किराँतीले प्रधानमन्त्री दाहाललाई नै देखाएर कानुनी प्रक्रियाको चेतावनी दिएका थिए भने महानिर्देशक अधिकारीले पनि प्रधानमन्त्रीलाई देखाउँदै जवाफ नफर्काउने अडिग कसेका थिए। तर, अन्तिममा दुवैलाई प्रधानमन्त्रीले चेतावनी दिएर तत्कालको दुर्घटना टारेका छन्।
प्रधानमन्त्री दाहाल पर्यटनमन्त्री किराँतीको पछिल्लो गतिविधिप्रति त्यत्ति सन्तुष्ट छैनन्। तर, महानिर्देशक अधिकारीसँगको विवादलाई लिएर पर्यटनमन्त्री किराँतीलाई कारबाही गर्दा कार्यकर्तामाझ नकारात्मक असर जाने र महानिर्देशक अधिकारीलाई हटाउँदा पर्यटनमन्त्रीको साथ लिएर अगाडि बढेको आरोप झेल्नुपर्ने देखेपछि दुवैलाई मिल्न दबाब दिएका थिए।
पर्यटनमन्त्री र महानिर्देशक अधिकारीबीच विवाद उत्पन्न गरी बाहिरी व्यक्तिले फाइदा लिन खोजेको भन्दै दवै पक्षका व्यक्तिले सम्झाएका थिए। यो विषयमा पर्यटनमन्त्री किराँती र महानिर्देशक अधिकारी दुवै ‘कन्भिन्स’ भएपछि विवाद नगरी मिलेर जाने सहमति भएको स्रोतको दाबी छ।
क्याप्टेन थापा बने ‘मोहोरा’
पर्यटनमन्त्री किराँती र महानिर्देशक अधिकारीबीच बढेको विवादलाई क्याप्टेन रामेश्वर थापाको सिम्रिक एयर प्रालिलाई हेलिपोर्ट बनाउन दिने पर्यटन मन्त्रालयको निर्णय हो भन्ने चर्चा हुँदै आएको छ।
तर, अहिलेको अवस्थामा क्याप्टेन थापा तत्कालीन अवस्थामा दुवैजनाको बीचको विवादमा मुछिए पनि त्यसमा संलग्न नरहेको दाबी प्राधिकरणका उच्च अधिकारीको छ।
‘पर्यटनमन्त्रीले प्राधिकरणको राय नै नलिई निर्णय लिनु गलत भए पनि अहिलेको यो विवादमा क्याप्टेन थापाको कुनै संलग्नता छैन,’ महानिर्देशक अधिकारीनिकट अधिकारीले भने, ‘उहाँलाई विवादको मोहोरामात्र बनाइएको छ। मन्त्रीज्यूले गृह र रक्षामन्त्रालयको राय बुझ्न पत्र पठाउँदा प्राधिकरणलाई पनि एउटा पत्र पठाएको भए विवाद नै हुन्थेन। कानुनमै नभएको विषयलाई मन्त्रीज्यूले पनि कार्यान्वयन गर्नुहुन्न र गर्न पनि मिल्दैन।’