काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष नवीन निउरेले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
निउरेले आइतबार जापानको राजधानी टोकियोमा पत्रकार सम्मेलन आयोजना गरी आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
सन् २००५ मा जापान प्रवेश गरेका निउरे २०११ देखि एनआरएनए अभियानमा सक्रिय छन्। २०११ मा कान्तोउ क्षेत्रको सदस्य हुँदै अहिले एनआरएनए जापानको वरिष्ठ उपाध्यक्ष रहेका निउरेले ‘पारदर्शिता, रूपान्तरण, प्रविधिमैत्री एनआरए जापान, नेपाली समुदायको आफ्नो साथी बनाउने अभियान’ भन्ने नाराका साथ अध्यक्ष पदका लागि उमेदवारी दिने घोषणा गरेका हुन्।
निउरेले ८ बुंदे घोषणापत्र जारी गर्दै जापानमा रहेका नेपालीले भोगेका समस्या समाधानका लागि जापान सरकारसँग आवश्यक पहल कदमी लिने लगायतका महत्वकांक्षी योजना सार्वजनिक गरेका छन्।
जापानमा रहेका नेपालीका समस्या समाधानका लागि जापान सरकारसँग समन्यवय गरेर अगाडि बढ्ने नीति लिने निउरेले प्रतिबद्धता जनाएका छन्।
टोकियोमा आयोजित पत्रकार सम्मलेनमा निउरेले भने, ‘साथै शिव मन्दिरसहित प्रविधियुक्त बहुद्देश्यीय नेपाली हाउसको स्थापना गर्नेछौं।’
‘अहिलेको कार्यकालमा जापानका विभिन्न कम्पनीसँग गरेका सम्झौतालाई पनि निरन्तरता दिनेछौं,’ निउरेद्वारा जारी घोषणापत्रमा उल्लेख छ।
एनआरएनए जापानको ११औं महाधिवेशन जुलाई २९ तारिखमा हुँदैछ।