काठमाडौं। आर्थिक वर्ष २०७९/८० को ११ महिनामा खाद्य तथा पेय पदार्थको मुल्य ५.६६ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७९/८० को ११ महिनाको आर्थिक तथा वित्तिय स्थितिको प्रतिवेदन अनुसार २०७९ जेठदेखि २०८० को जेठसम्म ५.६६ प्रतिशत मूल्य वृद्धि भएको हो।
त्यस्तै गैर–खाद्य तथा सेवा क्षेत्रमा पनि सोही अवधिमा ७.७६ प्रतिशतले मूल्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ।
पछिल्लो ११ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ ३५.२९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.९८ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ। तर, घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ १६.६० प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
११ महिना सबैभन्दा धेरै काठमाडौं उपत्यकामा मूल्य वृद्धि भएको छ। राष्ट्र बैंकको विवरण अनुसार आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि जेठसम्म काठमाडौंमा ७.१९ प्रतिशत, तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशत मूल्य बढेको छ।
आर्थिक वर्ष २०७८/७९ को सोहि अवधिमा काठमाडौंमा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत, पहाडमा ९.२८ प्रतिशत र हिमालमा ८.९२ प्रतिशत मूल्य वृद्धि भएको थियो।