काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत जलविद्युत कम्पनीहरुको बजार पुँजीकरण बढ्दै गएको छ। नेप्सेमा जलविद्युत कम्पनीको बजार पुँजीकरण हिस्सा १४.३ प्रतिशत पुगेको छ।
बजार पुँजीकरणको हिस्सामा जलविद्युत कम्पनी दोस्रो स्थानमा छ। सबैभन्द बढी बजार पुँजीकरण बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको छ। यि कम्पनीहरुको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६२.८ प्रतिशत छ।
नेपाल राष्ट्र बैंकका अनुसार लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत मात्र छ। उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.४, होटेलको हिस्सा २ं.९, व्यापारिक संस्थाको हिस्सा ०.५ तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
२०८० जेठ मा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ५४ पुगेको छ। सूचीकृत कम्पनीहरुमध्ये १ सय ४० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्।
७५ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका छन्। २०७९ जेठमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ३२ थियो ।
२०८० जेठमा सूचीकृत ७ अर्ब २८ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब १८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७९/८० को ११ महिनामा १ खर्ब ७६ अर्ब १० करोडको साधारण सेयर, ४५ अर्बको विकास ऋणपत्र, २९ अर्ब १९ करोडको डिबेन्चर,३९ अर्ब ९ करोडको बोनस सेयर, ५ अर्ब ४९ करोडको म्युचुअल फण्ड र ४ अर्ब १३ करोड हकप्रद सेयर गरी कूल २ खर्ब ९९ अर्ब १ करोड रुपैयाँको थप धितोपत्र सूचीकृत भएका छन्।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ६० करोडको डिबेन्चर,१४ अर्ब १५ करोडको म्युचुअल फण्ड, १३ अर्ब ५ करोडको साधारण सेयर र २ अर्ब ९८ करोडको हकप्रद सेयर गरी कूल ४१ अर्ब ७७ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ।