काठमाडौं। नेपाल राष्ट्र बैंकले ११ महिनामा वस्तु निर्यात २२.७ प्रतिशत र आयात १६ प्रतिशत घटेको जनाएको छ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को ११ महिनाको तथ्यांक सार्वजनिक गर्दै कूल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आएको जनाएको हो। जसअनुसार वस्तु आयात १ सय ४३ अर्ब ५९ करोड कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो।
गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२.२ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०६.७ प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ।
यसैगरी वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, तयारी पोसाकलगायतका वस्तुको निर्यात बढेको बैंकले जनाएको छ। यस्तै सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुनचाँदीका सामान तथा गरगहनालगायत वस्तुको निर्यात घटेको छ।
यसैगरी आर्थिक वर्ष २०७९–८० को ११ महिनामा कूल वस्तु आयातमा १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड कायम भएको बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १७.१ प्रतिशत र १८.५ प्रतिशतले कमी आएको छ।
वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एमएस विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको बैंकले जनाएको छ।
निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।
आर्थिक वर्ष २०७९र८० को ११ महिनामा कूल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ सय ३८ अर्ब ४७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आयात २ सय अर्ब ८८ करोड रुपैयाँ बराबरको भएको थियो।