काठमाडौं । यो वर्ष विगतको जस्तो बैंकिङ प्रणालीमा लगानी योग्य पूँजी (क्रेडिट क्रञ्च) को समस्या देखिएको छैन । पहिलो त्रैमाशका वित्तीय विवरण सार्वजनिक गरेका केही बाहेक अधिकाँश वाणिज्य बैंक सहज अवस्थामा देखिएका छन ।
विगत तीन वर्षयता लगातार रुपमा देखिएको क्रेडिट क्रञ्चको समस्यामा अहिले केही कमी आएको छ । गत वर्षको जस्तो यो वर्ष बैंकहरुबीच महंगो ब्याजमा निक्षेप तानातान भएको छैन ।
गत वर्ष यसै अवधिमा बैंकिङ प्रणालीमा क्रेडिट क्रञ्चको समस्या थियो । जसका कारण बैंकहरुले चर्काे ब्याज दिएर निक्षेप तानातान गरेका थिए । बैंकहरुबीच मुद्धति निक्षेपको ब्याजदरमा भद्र सहमति कायमै रहेका कारण निक्षेप तानतानको अवस्था भने नदेखिएको बैंकरहरु बताउछन ।
गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्ष पूँजी–कर्जा–निक्षेप अनुपात( सिसिडी रसियो) घटाएका छन । गत वर्षको पहिलो त्रैमासमा सीसीडी रेसियो औषत ७७.३१ प्रतिशत थियो ।
यस वर्षको पहिलो त्रैमासमा ७६.४२ प्रतिशतमा झरेको छ । बैंकिङ प्रणालीमा तरलताको चाप कम छ भन्ने पुष्टि हुन्छ । गत वर्ष मुद्धति निक्षेपको ब्याजदर १२ प्रतिशत माथि पुगेको थियो ।
२५ ओटा वाणिज्य बैंकको कर्जाको आधारदर घटेको छ । तीन वाणिज्य बैंकको मात्रै बढेको छ । सार्वजनिक गरिएको पछिल्लो वित्तीय विवरण अनुसार बैंकहरुको औषतमा आधार दर ९.४७ प्रतिशत छ । गत वर्षको सोही अवधिमा आधार दर १०.०६ प्रतिशत थियो ।
बैंकको आधारदर घटनु भनेको कर्जा सस्तिनु हो । बजारमा क्रेडिट क्रञ्चको समस्या कम भएर कर्जा सस्तिन थालेको हो । वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७५ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा ६.५७ प्रतिशत थियो ।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगाना अहिले बजारमा तरलताको चाप नरहेको बताउछन । ‘कर्जा लगानी बढिरहेको छ । तर, गत वर्षको जस्तो क्रेडिट क्रञ्चको समस्या भने देखिएको छैन छैन’ उनले भने ।
बजारमा तरलता सहज भएकै कारण बैंकहरुले ब्याजदर पनि घटाउँदै लगेको अध्यक्ष ढुंगानाले जानकारी दिए । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको देशको समग्र वृहत आर्थिक अवस्थाको विवरणमा पनि कर्जाको ब्याजदर घटेर औसत ११.९८ प्रतिशतमा झरेको देखाएको छ ।
गत वर्ष यस्तो ब्याजदर १२.२६ प्रतिशत रहेको थियो । बैंकहरुले आधारदर घटेसंगै ब्याजदर पनि घटेको हो । यस आधारमा हेर्ने हो भने पनि ब्याजदर सस्तिनु भनेको बजारमा तरलताको समस्या छैन भन्ने हो ।
लगानीका क्षेत्र विस्तार भइरहेकाले कर्जाको माग तुलतनात्मक रुपमा बढ्दा कहिलेकाँही समस्या आउने गरेको भएपनि तत्काल नभएको अध्यक्ष ढुंगानाको भनाई छ ।
बैंकहरुले यस वर्षको पहिलो त्रैमाससम्ममा २८ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने २५ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
राष्ट्र बैंकका अनुसार बजारमा अहिले बैंकिङ प्रणालीमा ६० अर्ब रुपैयाँ अधिक तरलता छ । गत वर्षको जस्तो बजारमा क्रेडिट क्रञ्च नदेखिएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागमा कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बताउँछन् ।
‘तत्काल बजारमा तरलताको समस्या छैन ।’ कार्यकारी निर्देशक भट्टले क्यापिटल नेपालसँगको कुराकानीमा भने । विगत ४ वर्ष यता १६ खर्ब रुपैयाँ थप कर्जा विस्तार भइरहेकाले केही समस्या आउनु स्वभाविक भएको उनको भनाई छ ।
तर यहि रुपमा बैंकहरुले कर्जा विस्तार गर्ने हो भने धान्न गाह्रो हुने कार्यकारी निर्देशक भट्टले बताए ।