गोरखा। गोरखा जिल्लाभित्रका पाँच स्थानीयको आगामी आर्थिक वर्ष २०८०/८१ बजेट स्वीकृत भएको छ। जिल्लाको बारपाक सुलिकोट, अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट पारित भएको हो।
बारपाक सुलिकोटले आगामी आव २०८०/८१ का लागि कुल ६० करोड ३९ लाख ६९ हजार रुपैयाँ बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरिसकेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।
त्यस्तै सहिद लखनले ६३ करोड २० लाख १० हजार रुपैयाँ बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरेको छ भने सिरानचोकले असार ७९ करोड ८४ लाख ५५ हजार ६ सय रुपैयाँ बराबरको बजेट घोषणा गरी पारित गरेको गाउँपालिकाले जनाएको छ। जिल्लाको अजिरकोटले आगामी आवका लागि ४९ करोड ३४ लाख ९३ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए। भीमसेन थापाले ५५ करोड ८४ लाख ३० हजार चार सय रुपैयाँको बजेट ल्याएको छ।
सो गाउँपालिकाले यही असार १० गते नीति तथा कार्यक्रम र बजेट एकैदिन गाउँसभाबाट स्वीकृत गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बङ्जरा (अक्कल) ले जानकारी दिए। पाँचवटै स्थानीय तहहरूले असार १० गतेभित्रै आगामी आवको बजेट नीति तथा कार्यक्रम पारित गरेका हुन्।
जिल्लाको ११ स्थानीय तहमध्ये छ स्थानीय तहरुको बजेट भने स्वीकृत गर्न बाँकी रहेको छ। गोरखा र पालुङटार नगरपालिका, आरुघाट, चुमनुब्री, धार्चे र गण्डकी गाउँपालिकाको बजेट पारित हुन बाँकी रहेको हो।
गोरखाले आवका लागि कुल एक अर्ब ३२ लाख ६५ हजार रुपैयाँको बजेट नगरसभामा पेस गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए। त्यस्तै पालुङटार नगरपालिकाले ८३ करोड ८७ लाख २५ हजार, आरुघाटले ५८ करोड १६ लाख १७ हजार सात सय रुपैयाँको बजेट गाउँसभामा पेस गरेको छ।
उत्तरी गोरखाको चुमनुब्रीले पनि आगामी आवको बजेट स्वीकृत हुन बाँकी रहेको जनाएको छ। आजदेखि सुरु हुने गाउँसभाले आगामी आवको बजेट पारित गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए।
धार्चेले ४८ करोड ९१ हजार पाँच सय रुपैयाँ बराबरको बजेट ल्याएको छ भने गण्डकी गाउँपालिकाले ६१ करोड ७२ लाख रुपैयाँको बजेट गाउँसभामा पेस गरेको छ। गाउँसभाबाट बजेट पारित हुन बाँकी रहेका सबै स्थानीय तहहरूले असारभित्रै बजेट स्वीकृत भइसक्ने जनाएका छन्।