काठमाडौं । प्रायः विदेशमा मात्र देखिने अग्ला बिल्डिङ काठमाडौंमा पनि बिस्तारै देखिन थालेका छन् । राजधानीको व्यस्त जीवनशैलीलाई यी बिल्डिङले सहज बनाउँदै गएका छन् । सपिङ सेन्टर, अस्पताल, अपार्टमेन्ट, होटलहरुको सङ्ख्या थपिँदै गएपछि अग्गा बिल्डिङ पनि थपिने क्रम बढेको छ ।
मध्यम आय हुनेहरुका लागि सहरमा भर्टिकल लिभिङले सहजता प्रदान गरेको छ । एउटै छानामुनि सबै सामान पाउने सपिङ सेन्टर र अन्तर्राष्ट्रिय चेन होटलहरुको नेपाल प्रवेशले हाइराइज बिल्डिङको सङ्ख्या बढाउँदै लगेको छ ।
विशेषगरी यी बिल्डिङ आवास र व्यावसायिक प्रयोजनमा प्रयोग हुँदै आएका छन् । एकै भवनमा सबै प्रकारका सेवा सुविधा पाइने भएकाले धेरैको आकर्षण बढ्दै गएको हो । यसले एकातिर जीवनशैलीलाई सहज बनाउँदै लगेको छ भने अर्कोतर्फ काठमाडौंको सुन्दरतालाई साथ दिएको छ ।
अस्तव्यस्त रुपमा बनेका घरहरुले कुरुप बनेको काठमाडौंको सुन्दरतालाई बिस्तारै फर्काउँदै छ । अग्ला र व्यवस्थित गगनचुम्बी भवनले सहरको सुन्दरता मात्र नभई आर्थिक अवस्था उच्च भएको पनि देखाएका छन् ।
सरकारले व्यवस्थित सहर निर्माण गर्न नसकिरहेको बेला निजीक्षेत्रको अग्रसरमा सहरमा विभिन्न भागमा व्यवस्थित भवन बनाएको देखिन्छ । एकै ठाउँमा धेरैलाई सबै प्रकारका सेवासुविधा दिने उद्देश्य त्यस्ता भवनको देखिन्छ ।
काठमाडौंका विभिन्न भागमा बनेका १० देखि १५ तलाका ठूला र अग्ला भवनले नेपालमा फस्टाउँदो हाइराइज बिल्डिङलाई चिनाउने नेपाल जग्गा तथा आवास विकास सङ्घका सचिव विपीन चित्रकारको भनाइ छ ।
नेपालमा विशेषगरी २०६० सालबाट ठूला भवन निर्माण सुरु भएको उनी बताउँछन् । एउटै भवनमा सबै सेवासुविधा, अफिस कार्यालय अनि प्रशस्त पार्किङ व्यवस्थाले गर्दा मानिसलाई यस्ता भवनप्रति आकर्षित गरेको उनको भनाइ छ ।
२०६२/६३ सालको जनआन्दोलनपछि काठमाडौंमा जग्गाको मूल्य आकासिएको छ । यससँगै हाउजिङ र अपार्टमेन्टमा बस्नेको सङ्ख्या बढेको हो । बढ्दो महंगीका कारण घर बनाउन नसक्ने भएपछि ठूला र अग्ला भवनको माग बढेको घरजग्गा कारोबारमा संलग्नहरुको भनाइ छ ।
कम पैसामा धेरै सेवासुविधा एकै ठाउँमा पाइने भएकाले यस्ता घर साना परिवारहरुको रोजाइमा पर्दै गएको हो । सुरक्षादेखि पानी, बिजुली, इन्टरनेटलगायतका सेवासुविधाहरु सुलभ दरमा पाइन्छ ।
२०७२ सालको भूकम्पले केही अग्ला भवनमा क्षति पु¥याए पनि अधिकांश भवन राम्रा छन् । भूकम्पमा पनि ती भवनमा क्षति नपुगेकै कारण अहिले धेरैको रोजाइमा पर्न लागेको हो ।
नेपालको प्रमुख पर्यटकीय स्थल ठमेलमा बनेको छाया सेन्टरले त्यहाँको रौनक बढाइदिएको छ । एकै छानामुनि सम्पूर्ण सेवासुविधा पाइने भएकाले पछिल्लो समय धेरैको रोजाइ छाया सेन्टर पर्न थालेको छ ।
ठमेलको व्यस्त बजारमा पार्किङको समस्याबाट मुक्त हुन र सामान किन्न ठाउँठाउँ चहार्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गरेको छ । स्वदेशी एवम् विदेशी पर्यटकहरुलाई लक्ष्य गरी सञ्चालनमा आएको सो सेन्टरमा पाँचतारे होटलसमेत छ ।
ठमेलमै रहेको काठमाडौं म्यारियट र नक्सालमा रहेको म्यारियट होटलले थप सुुन्दरता दिएको देखिन्छ । आधुनिक शैलीमा निर्मित यी गगनचुम्बी होटलले त्यहाँको शोभा बढाएका छन् ।
डिल्लीबजारमा रहेको सिल्भर सिटी अपार्टमेन्ट, थापाथलीको सेन्ट्रल बिजनेस पार्क, ललितपुरको भिभान्ता होटल, सुन्धाराको सिभिल मल, सीटीसी मल, कमलपोखरीको सिटी सेन्टर, त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टर, धापासीको ग्रान्डी टावर, नख्खुको मेडिसिटी, विभिन्न स्थानका भाटभटेनीलगायत विभिन्न अपार्टमेन्ट, सपिङ सेन्टर र होटलहरुलाई गगनचुम्बी भवनको उदाहरणका रुपमा लिन सकिन्छ ।
सोल्टी मोडमा बन्दै गरेको ह्यात प्यालेस, नक्सालको हिल्टन र केशरमहलस्थित सेराटन सञ्चालनमा आएपछि सहरमा झनै चमक थपिनेछ ।
काठमाडौंमा ४० ओटा अपार्टमेन्ट छन् । केही निर्माणाधीन छन् । भवन विभागबाट ७१ ओटा कम्पनीले निर्माणका लागि अनुमति लिएका थिए ।