सिन्धुपाल्चोक। गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी। केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ नं वडाका राजकुमार ढकालको गोठ गाईभैँसी र लोकल कुखुराले भरिभराउ छन्। वैदेशिक रोजगारीमा सात वर्ष बिताएर गाउँ फर्किएसँगै उनी कृषि पेसामा आकर्षित भएका हुन्। विदेशमा सात वर्ष कमाएर ल्याएको पैसा र बैंकमा घरजग्गा धितो राखेर ऋण निकालेका उनको गोठमा २५ गाईभैँसी र ४० लोकल कुखुरा छन्।
लामो समय विदेश बसेर आए पनि सोचेजस्तो आम्दानी नभएपछि उनी कृषि पेसामा आकर्षित भएको बताउँछन्। 'आफ्नै माटोमा केही गर्छु भनेर आएको छु, लगानी धेरै छ हेरौँ सफल भइन्छ कि?,' उनले भने।
देशमा थुप्रै राजनीतिक परिवर्तन भए। देशको व्यवस्था फेरियो। तर, राजकुमारको अवस्था भने फेरिन सकेन। उही पुरानै अवस्था देखेपछि उनले विदेश जाने निधो गरे र मलेसिया हुइँकिए।
उजाड सपना र केही गरेर खान नसक्ने आफन्त र गाउँलेको तिखो वचनले विसं २०६५ मा मलेसिया पुगेका उनी मलेसियामा पनि धेरै दुःख गुजार्नुपरेको बताउँछन्। 'मलेसियामा मैले फोहोरमा काम गरेको हुँ, धेरै दुःख व्यहोरेको छु,' उनले भने।
मलेसियामा सोचेजस्तो आम्दानी नभएपछि उनी त्यहाँबाट भागेर स्वदेश फर्किए। स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्योलता उनको मनबाट हटेन। र, फेरि उनी कतार गए। कतारमा उनले विमानस्थलमै काम पाए। तर सोचेजस्तो तलब नपाएपछि दुई वर्षमै उनी फेरि स्वदेश नै फर्किए।
घरपरिवार र आफन्तसँग केही समय बिताएपछि फेरि पनि उनले विदेशी भूमिमै जाने निधो गरे र दुबई गए। दुबईमा पेट्रोलपम्पमा काम पाए। तीन वर्ष कतार बस्दा पनि सोचेजस्तो कमाई नभएपछि उनी फेरि स्वदेश नै फर्किए। विदेशी भूमिमा सात वर्ष समय बिताएका उनले विदेशबाट फर्कँदा जम्मा पाँच लाख लिएर फर्किएको बताउँछन्।
७५ लाखको लगानीमा पशुपालन
गाईभैँसीपालनका लागि उनले विदेशबाट कमाएर ल्याएको र ऋण गरेर ७५ लाखको लगानी गरेको बताए। दूध बोक्नलाई बोलेरोसमेत किनेका उनले लक्ष्मी बैंकबाट ६० लाख ऋण लिएको उनी बताउँछन्। 'मैले लक्ष्मी बैंकबाट मात्रै ६० लाख ऋण लिएको छु। ३५ लाख रूपैयाँको वस्तुमात्रै छन्,' उनले भने। सुरुमै त्यत्रो लगानी गर्छुभन्दा घरपरिवारबाटै हतोत्साहित गर्ने काम भएको उनी सुनाउँछन्। 'सुरुमै यत्रो लगानी गर्छुभन्दा त घर परिवारबाटै नगरौँ भन्ने कुरा आएको थियो,' उनले भने। अहिले भने ढकालको परिवारमा खुसी छाएको छ। उनको हिम्मतले आज सफलता र खुसी बनाएको छ।
विदेशमा १६ घण्टासम्म काम गरेको बताउने राजकुमार अहिले मासिक तीन लाख रूपैयाँ आम्दानी गर्छन्। गाईवस्तुको आहारबाहेक उनको मासिक डेढ लाख रूपैयाँ बच्छ। 'महिनामा तीन लाख कमाउँछु। त्यति नकमाए त मेरो घरजग्गा बैंकले लगिहाल्छ नि,' उनले भने। उनी पैसा कमाउनकै लागि खाडी जानु नपर्ने बताउँछन्। जाँगर हुने मानिस विदेश जानुभन्दा गाउँमै केही गर्न उनी सुझाउँछन्।
आफ्नै उत्पादन आफ्नै व्यापार
राजकुमारको काम दूधमात्रै उत्पादन गर्ने होइन, उनी दूध बेच्ने पनि गर्छन्। उनको आफ्नै दूध डेरी पनि छ। मेलम्ची बजारमा उनले गाईभैँसीपालनसँगै दूध पनि आफ्नै डेरीबाटै बेच्छन्। उत्पादन गरेको दूध अन्त पुर्याउनुपर्ने झन्झट उनलाई छैन। दैनिक एक सय २० लिटर दूध उत्पादन हुने उनको गाई फार्मबाटै उनलाई मनग्य दूध पुग्दछ। आफ्नै उत्पादित दूधबाट उनी पनिरलगायत अन्य परिकार पनि बनाउने गरेको बताउँछन्।
जीवनमा खुसी पाउनका लागि झन्डै ३० वर्ष संघर्ष गरेका ढकालको मुहारमा खुसी आउन चार वर्ष काफी समय भयो। मलेसियाको तातो घामदेखि काठमाडौंका गल्ली-गल्लीमा संघर्ष गरेका उनी गाउँ फर्किएर कृषि पेसामा संलग्न भएको चार वर्षमै उनको मुहारमा खुसी छाएको हो।
सुरुमा पाँच लाख लगानी गरेर कुखुरापालनसमेत गरेका उनी हतार र हतास गर्न नहुने बताउँछन्। निरन्तर कर्म गरे सफलताले मानिसलाई पछ्याउने उनको भनाइ छ। 'हामी हतार र हतासी बन्न नहुने रहेछ। धैर्य गर्ने हो भने प्रतिफल आउँछ, सफलता पाइन्छ,' उनले भने। रासस