काठमाडौं। बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा दुग्ध किसानलाई ३० करोड रुपैयाँ अनुदान दिएको छ।
प्रदेशभित्रका दुई सय २२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५३ पैसाका दरले अनुदान दिइएको हो।
मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार गत आर्थिक वर्षमा १६ करोड रुपैयाँमात्रै प्रतिलिटर एक रुपैयाँ ६३ पैसाका दरले वितरण गरिएको थियो।
प्रदेशले आव २०७५/७६ मा कार्यविधि बनाएर दुग्ध उत्पादक किसानलाई अनुदान दिन सुरु गरेको हो। कार्यविधिमा दोहोरो नपर्ने गरी अनुदान दिन सकिने व्यवस्था रहेको छ।
यसै कारण स्थानीय पालिकाले अनुदान दिएका चितवनका तीन पालिकाका किसानलाई अनुदान दिन नसकिएको उनले जानकारी दिए। भरतपुर, राप्ती र माडी नगरपालिकाका ७० वटा सहकारीका किसानलाई अनुदान दिन नसकिएको उनले बताए।
उनले भने, ‘चाहेर नभएर कार्यविधिले रोकेर दोहोरो अनुदान दिन सकिएन।’ कार्यविधिमा त्यो व्यवस्था नभएको भए अनुदान दिन सकिने उनको भनाइ छ।
भरतपुर महानगरपालिकाले प्रतिलिटर तीन, माडी नगरपालिकाले चार र राप्ती नगरपालिकाले ५० पैसा अनुदान दिँदै आएका छन्। अनुदान रकम दोहोरो परेर रोकिएपछि किसान भने आन्दोलित भएका छन्।
अनुदानका लागि किसानलाई बैंक खातासमेत खोल्न लगाएर अन्तिम समयमा अनुदान रोकेको किसानको गुनासो छ। उनीहरूले कार्यविधि सच्याएर भए पनि अनुदान दिनुपर्ने माग गरेका छन्।