काठमाडौं। आगामी पाँच वर्षभित्र नेपालमा औषधीजन्य वस्तु माग वार्षिक ७ प्रतिशतका दरले बढेर ७१.६५ टन पुग्ने अनुमान गरिएको छ।
नेपालको कूल औषधी बजार बढेर अहिले ५३ अर्ब रुपैयाँबराबर पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनले देखाएको छ।
औषधीको आन्तरिक उत्पादन र आयात तथ्यांक विश्लेषण गर्दा आन्तरिक उत्पादनले ४६ प्रतिशत बजार ओगटेको छ।
यस्तै भारतबाट आयातित औषधी हिस्सा ५२ प्रतिशत छ। अन्य देशबाट आयातित औषधीले २ प्रतिशत बजार ओगटेको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
नेपालले औषधी बनाउने प्रयोजनार्थ करिब ७० देखि ७५ प्रतिशतसम्म कच्चापदार्थ भारतबाट आयात गर्ने गरेको छ।
चीनबाट २५ देखि ३० प्रतिशतसम्म आयात गर्ने गरिएको छ। नेपालमा आयात हुने औषधी विशेषगरी खोप, बायोटेक्नोलोजिकल, प्रडक्ट एन्ड मोडर्न टेक्नोलोजी रिलेटेड मेडिसिन, एन्टिक्यान्सर, एआरटी क्रिटिकल केयरलगायत औषधी आयात हुने गरेकाे छ।
६६ औषधी उद्योग
औषधीमा मुलुक आत्मनिर्भरउन्मुख छ। औषधी व्यवस्थापन विभागमा २०७७ माघ १२ सम्म १ सय ३ औषधि उद्योग दर्ता छन्। जसमध्ये पूर्णसञ्चालनमा रहेका ६६ उद्योगले मात्र उत्पादन र बिक्री दुवैका लागि इजाजत (लाइसेन्स) पाएका छन्।
३३ उद्योग उत्पादन उद्देश्यका लागि लाइसेन्स प्राप्त गर्ने प्रक्रियामा छन् भने दुवै लाइसेन्स पाएका चार उद्योग प्राविधिक कारण सञ्चालनमा आउन सकेका छैनन्।
२०७९ असोज १३ सम्ममा १ सय २८ घरेलु औषधी उद्योग सूचीकृत छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को असल उत्पादन अभ्यासमा सूचीकृत हुने स्वदेशी औषधी उत्पादक ३४ छन्।
यसैगरी नेसनल जिएपीमा मा सूचीकृत हुने स्वदेशी औषधी उत्पादक २४ छन्। आर्थिक वर्ष २०७८/७९ मा औषधी व्यवस्थापन विभागमा सूचीकरण भएका विदेशी औषधी उत्पादक २७ छन्।
नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सरकारी नीति तथा कानुनमा परिमार्जनसाथ सोहीअनुसार अनुुकूल वातावरण बनाउनुपर्ने माग उद्योगीको छ।
केही वर्ष अघिसम्म करिब १० प्रतिशतमात्र स्वदेशी उत्पादन रहेकोमा अहिले बढेर करिब ५३ प्रतिशत पुुगेको छ। स्वदेशी उद्योग प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सक्यो भने छिट्टै नेपाललाई औषधीमा ८० देखि ९० प्रतिशत आत्मनिर्भर बनाउन सकिने दाबी उद्योगीको छ। यसका लागि विद्यमान औषधी ऐन २०३५ संशोधन गर्नुपर्छ।
औषधी बजार प्रत्येक वर्ष १८ देखि २० प्रतिशतले बढ्दै गएको छ। औषधीमा आत्मनिर्भर बन्न अनुुकूल नीति र त्यसको प्रभावकारी कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता हो। त्यसो हुन सके यस क्षेत्रमा वाह्य लगानी र प्रविधिसमेत आकर्षणमा ठूलो सहयोग पुुग्ने दाबी व्यवसायीको छ।
नेपालले पनि सन् २०२६ सम्म अतिकम विकसित देशकाे सूचीबाट स्तरोन्नति हुने लक्ष्य छ। औषधी उद्योगमा रहेका केही चुनौती नेपाली औषधी बजारमा कच्चापदार्थको मूल्य बढ्दै जानु, प्राविधिक/दक्ष जनशक्ति उपलब्धता र स्थिरता नहुनु, नयाँ प्रविधि भित्र्याउन ठूलो लगानी आवश्यक पर्नु र बैंक ब्याज दरमा स्थिरता नहुनु, वाह्य औषधीसँग बजार प्रतिस्पर्धा, औषधि उत्पादन तथा बिक्री इजाजतपत्र प्राप्त गर्ने नीति झन्झटिलो रहनु, निर्यातमा सहजीकरण नहुनु र मनोमानीआधारमा औषधी सिफारिस हुने प्रवृत्ति बढ्दै जानु मुख्य चुनौती हुन्।
औषधी उद्योगमा रहेका केही सम्भावना नेपालमै उत्पादित औषधी सर्वसाधारणलाई सस्तो पर्न जाने हुँदा सर्वसाधारणमा औषधी पहुँच बढ्ने, आयात निरुत्साहित हुने, निर्यात गरी वैदेशिक मुद्रा आर्जन गर्न सकिने, स्वदेशी कच्चापदार्थ तथा जडीबुटी सदुपयोग हुनेलगायत सम्भावना रहेको राष्ट्र बैंककाे अध्ययनले देखाएको छ।