काठमाडौं। ग्वार्को ‘फ्लाई ओभर’ डिजाइन गलत हुँदा निर्माण कार्य प्रभावित भएको छ। ‘इन्जिनियरिङ प्रोक्योमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडेलमा निर्माण गर्न सडक विभागले आरसी, समानान्तर र रेलिग्रेसँग संयुक्त उपक्रम (जेभी) मा ठेक्का सम्झौता गरेको थियो।
२०७८ फागुनमा भएको ठेक्काको म्याद दुई वर्ष छ। जसमध्ये एक वर्ष चार महिना सकिएको छ। फ्लाई ओभर निर्माणका लागि १७ करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ।
इपिसी मोडेलमा ठेक्का सम्झौता गरेपछि निर्माण कम्पनीले नै फ्लाई ओभर डिजाइन, निर्माण र निर्माणपछिको पाँच वर्षसम्म मर्मत पनि गर्नुपर्छ। सोहीअनुसार आरसी, समानान्तर र रेलिग्रेले डिजाइन तयार गरेको थियो। निर्माण कम्पनीले बनाएको डिजाइन २०७९ माघमा सडक विभागले स्वीकृत गरेको समानान्तर कम्पनीका प्रोजेक्ट म्यानेजर विशाल कार्की बताउँछन्।
त्यहीबेला निर्माण कम्पनीले तयार गरेको डिजाइनको जग (पाइल) मा परिवर्तन गरेरमात्रै सडक विभागले फ्लाई ओभर डिजाइन स्वीकृत गरेको थियो। डिजाइन स्वीकृतिको चरणमा गरिएको परिवर्तनलाई सुझावका रूपमा लिन सकिन्छ। त्यसबेला फ्लाई ओभरको जगमा परिवर्तन गरिएको थियो।
तर, डिजाइन स्वीकृत भएर निर्माण सुरु भएको करिब पाँच महिनापछि फेरि सोही फ्लाई ओभर डिजाइनमा समस्या देखिएको निर्माण कम्पनी र सडक विभागले जनाएका छन्। पहिला जमिनमुनिको भाग (जग) मा देखिएको जस्तै समस्या फेरि देखिएको निर्माण कम्पनीले जनाएको छ।
समानान्तर कम्पनीका म्यानेजर कार्कीका अनुसार एक महिना पहिलाबाट डिजाइनमा समस्या आउँदा काम प्रभावित भएको छ। उनका अनुसार जमिनमुनिको भाग खन्ने क्रममा डिजाइन गरिएभन्दा फरक किसिमको माटो देखिएपछि काम प्रभावित भएको हो। तर, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) राकेश महर्जन भने डिजाइनमा कमजोरी नभई डिजाइनअनुसार फिल्डमा काम गर्न नसकिएको बताउँछन्।
‘डिजाइनमा त्रुटि भन्न मिल्दैन, डिजाइन गरिएअनुसार इक्विपमेन्टहरू नेपाल र भारतमा नपाएपछि निर्माण गर्न समस्या भएर डिजाइन परिवर्तन गर्न लागिएको हो। करिब दुई सातामा समस्या समाधान हुन्छ,’ सिडिई महर्जनले भने।
किन आयो डिजाइनमा समस्या?
डिजाइन बनाउनु पहिला जमिनमुनिको माटो अध्ययनको रिपोर्ट र निर्माण गर्दा फरक भएपछि डिजाइन परिवर्तन गर्नुपर्ने भएको हो। ‘माघमा डिजाइन स्वीकृत गर्ने समयमा विभागले केही परिवर्तन गरेर काम गर्नु भनेपछि त्यसै गरेका थियौं। नेपालमा नभएको प्रविधि प्रयोग गर्नुपर्दा हामीलाई चुनौती भएको हो,’ कार्कीले भने।
तर, निर्माण कम्पनी आफ्नो कमजोरीका कारण डिजाइनमा समस्या भएको स्वीकार्न तयार छैन। जमिनमुनिको माटोमा काम गर्ने क्रममा देखिएको समस्या भएकाले डिजाइन बनाउने आफू र स्वीकृत गर्ने विभाग दुवैको कमजोरी नभएको कार्की बताउँछन्।
‘सकेसम्म हामीले अध्ययन गरेका थियौं, तर पर्याप्त अध्ययन गर्न नपाउँदा र दक्ष जनशक्ति नहुँदा डिजाइन कमजोर भएको हो,’ उनले भने। सामान्यतया पुल वा फ्लाई ओभर निर्माण गर्न जमिनमुनिको भाग अध्ययन गर्नुपर्ने हुन्छ। जसका लागि ‘ड्रिल’ (जमिन खन्ने काम) गरेर जमिनमुनिको माटो पनि अध्ययन गर्नुपर्छ।
माटो अध्ययन नगरी कसरी तयार भयो डिजाइन?
‘पहिला हामीले सडकको दुई छेउको माटोमात्रै अध्ययन गरेका थियौं, सवारीसाधन सञ्चालन भइरहेकाले बीचको माटो अध्ययन गर्न सकिएन। छेउमा गरिएको नमुना अध्ययनले काम गरेन र अहिले समस्या आयो,’ म्यानेजर कार्कीले भने।
डिजाइनमा परिवर्तन गर्न बढीमा अब १८/२० दिन लाग्ने उनको भनाइ छ। निर्माण सुरु भएपछि देखिएको डिजाइन कमजोरी र त्यसलाई बनाउँदै काम गरे पनि सम्झौता गरेको समयमा काम सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ। अब निर्माण कम्पनीसँग फ्लाई ओभरको काम गर्न करिब ८ महिना बाँकी छ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल भने छलफलका बेला केही सुझाव निर्माण कम्पनीलाई दिएको बताउँछन्। ‘निर्माण कम्पनीले बनाएको डिजाइनमा यस्तो पुगेन, यसो गर्नुपर्छ भनेर केही छलफल भएको हो, यो सामान्य प्रक्रिया हो तर, अलि चाडो हुनुपथ्योर्, ढिलो भयो भन्ने कुरामात्रै हो,’ ढकालले भने।
डिजाइन स्वीकृत गर्नुभन्दा पहिला देखिएकै जस्तो जमिनमुनिको भागमा समस्या किन दोहोरियो भन्ने विषयमा ढकाल भन्छन्, ‘समस्या आउनसक्छ, त्यही भएर विभाग र कन्सल्ट्यान्ट राखिएको हो। निर्माण गर्दा फ्लाई ओभर जमिनमाथि उठाएर त्यहाँबाट गाडी चलाउनुपर्छ। त्यो ओभर बनाउन जमिनमुनिको फाउन्डेसनले थेग्न सक्छ कि सक्दैन भनेर छलफल भइरहेको छ।’
नेपालमा नयाँ प्रविधि प्रयोग गर्न लागिएकाले पनि अध्ययन र छलफल गर्दै निर्माण गर्नुपरेको उनको भनाइ छ। कमजोरी देखिएका ठउँमा निर्माण कम्पनीले सुधार गरेर काम गर्ने छ।
फ्लाई ओभरको लम्बाइ करिब ५ सय मिटर र उचाइ ६ मिटर हुने विकास केन्द्रले जनाएको छ। चक्रपथको कोटेश्वर–कलंकी खण्ड विस्तार गरेर ८ लेन बनाइएको छ। जसमध्ये बीचको ४ लेनमा फ्लाई ओभरबाट चक्रपथमा गुड्ने सवारी चल्नेछन् भने फ्लाई ओभर मुनिबाट मंगलबजार–इमाडोल–मंगलबजार चल्ने सवारीले आवतजावत गर्नुपर्ने हुन्छ।