काठमाडौं । विगत नौ महिनादेखि बन्द रहेको धूलो दूध आयात तीन महिनाका लागि खुला गरिने भएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले धूलो दूध (एसएमपी) को आयात तीन महिनाका लागि खुलाउन सकिने बताएका छन् । उनले बिनाकारण नौ महिनादेखि धूलो दूध आयातमा प्रतिबन्ध लगाएका थिए । धूलो दूध आयात रोकेपछि बजारमा तस्करी भएर धूलो दूध समेत भित्रिन थालेको थियो ।
लामो समयदेखि एसएमपी आयात प्रतिबन्धले स्वदेशी उद्योग धराशायी हुने भन्दै मन्त्री खनालले केही समयका लागि मात्रै आयात खुल्न दिने पक्षमा रहेको क्यापिटल नेपाललाई जानकारी दिए ।
‘उद्योगीलाई धेरै अप्ठ्यारो पर्यो भनेर धेरै गुनासो आयो,’ उनले भने, ‘त्यही भएर केही समयका लागि खुलाउने योजनामा छु ।’
याे पनि हेर्नुहाेस् : धूलो दूध आयात प्रतिवन्ध पछि बढ्यो अवैध कारोबार, तस्करी भएर भित्रिने धूलो दूध बिस्कुुट उद्योग र डेरी क्षेत्रमा
अहिले उत्पादन भइरहेको दूधले स्वदेशी माग धान्न नपुगेको मन्त्री खनालले स्वीकार गरे । ‘पाउडर दूधको आयात रोकिएको लामै समय भएको छ,’ मन्त्री खनालले भने, ‘केही उद्योगलाई दूधको कच्चा पदार्थ बनाउन अपुग भएको बुझेको छु । केही छोटो समय, कम्तीमा पनि ३ महिनाका लागि आउन दिने कि भन्नेमा म छु ।’
विगत ९ महिनाअघि मन्त्री खनालकै मौखिक निर्देशनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धूलो दूध आयातको अनुमतिपत्र रोकेको थियो । त्यसयता, कतैबाट पनि एसएमपी नआएको विभागले जनाएको छ । तर, मन्त्री स्वयमले नै लुकीछिपी अवैधरुपमा भित्रिएको तथ्य फेला पारेको बताए । उनले कुनै एउटा वस्तु भनेर झुक्याएर धूलो दूध ल्याउने गरेको गुनासो आएको बताए । त्यसबारेमा आफूले सूक्ष्म अध्ययन र अनुगमन गर्ने बताए ।
‘आयात प्रतिबन्ध भए पनि लुकिछिपी÷झुक्याएर धूलो दूध भित्रिने गरेको गुनासो आएको छ,’ उनले थपे, ‘अरु कुनै वस्तु जस्तै मैदा÷वा आँटा भनेर धूलो दूध आउने गरेको मैले बुझेको छु । त्यसबारे के रहेछ, एकचोटि बुझ्छु । त्यसपछि अनुसन्धान र अनुगमन गर्छु ।’
यता, निजी डेरी उद्योगीले अपुग धूलो दूधको निश्चित कोटाअनुसार आयात गर्न पाउनुपर्ने बताएका छन् । ‘यहाँको माग र डेरी उद्योगलाई अपुग हुने धूलो दूध निश्चित मात्रामा आयात गर्न दिइयोस्’ डेरी उद्योग सङ्घका अध्यक्ष अरनिको राजभण्डारीले भने, ‘कुन संयन्त्रमार्फत एसएमपी ल्याएर बिक्री गर्ने भन्ने निश्चित मापदण्ड हुनुपर्छ ।’ उद्योग आफैंले धूलो दूध ल्याउन पाउने कि व्यापारीमार्फत ल्याएर उद्योगलाई बिक्री गर्ने भन्ने स्पष्ट हुनुपर्ने राजभण्डारीको तर्क छ ।
अहिले स्वदेशमा ३ हजार मेट्रिक टन एसएमपीको माग छ । तर, स्वदेशमा सरकारी र निजी क्षेत्र डेरी उद्योगमार्फत दुई हजार टन धूलो दूध कन्भर्सन भएको छ । अझै पनि हजार टन धूलो दूध अपुग रहेको जनाइएको छ ।