काठमाडौं। मुग्लिङ–नारायणघाट सडकखण्डमा पटक–पटक पहिरो जाँदा प्रत्येक वर्ष बर्खामा यात्रु सास्ती बेहोर्न बाध्य छन्। सडक निर्माणको जिम्मेवारी लिएको सडक विभाग पहिरो गएको सडक मर्मत गर्दै सञ्चालन गर्छ।
तर, वर्षौंदेखि मुग्लिङ–नारायणघाट सडकखण्डको समस्या दीर्घकालीनरूपमा समाधान हुन सकेको छैन। ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत निर्माणाधीन शक्तिखोर–फिस्लिङ सडक र गण्डकी प्रदेशमा पर्ने ‘बुद्धसिं’ मार्ग गरी दुईवटा सडक सञ्जाललाई मुग्लिङ–नारायणघाट सडकखण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने चर्चा चल्न थालेको छ।
४५ किलोमिटर लम्बाइको शक्तिखोर–फिस्लिङ सडक निर्माण अन्तिम चरणमा रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले जनाएको छ। याे सडकखण्ड एक लेन भएका कारण पर्याप्त सवारीसाधन सञ्चालन भने सजिलो छैन।
तै पनि साना तथा दुईपाङ्ग्रे सवारीसाधनका लागि उक्त राजमार्ग सञ्चालन गर्न सकिन्छ। अहिले पनि कतिपय सवारी सोही बाटो प्रयोग गरेर हिँडिरहेका छन्। तर, शक्तिखोर–फिस्लिङ सडकमा पर्ने रिग्दीखोलामा पुल निर्माण नभएका कारण सडकखण्ड पूर्णरूपमा सञ्चालन भएको छैन। बागमती प्रदेशले रिग्दीखोलामा पुल निर्माण गरिरहेको छ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत एसियाली विकास बैंकको अनुदान सहयोगमा उक्त सडक निर्माणाधीन छ। आयोजनाका अनुसार २०७५ सालमा साङछी एन्ड आशिष जेभीले ८७ करोड रुपैयाँमा सडक निर्माण जिम्मेवारी पाएको थियाे।
४५ किलोमिटर लामो सडकको चौडाइ साढे चार मिटर छ। जसमध्ये ३० किलोमिटरमात्रै कालोपत्र भइसकेको छ। आरआरएनले १२ करोड रुपैयाँमा शक्तिखोर–फिस्लिङ सडकको ट्रयाक खोलेको थियो।
उक्त सडकखण्डमा चेपाङ बस्ती भएकाले स्थानीयको जीवनस्तर माथि उठ्नुका साथै स्थानीय उत्पादनले बजारसमेत पाउने छ। निर्माण सकिएपछि नारायणघाट–मुग्लिङ सडकखण्डको वैकल्पिक सडक बन्ने विश्वास स्थानीयको छ।
तनहुँ दमौलीबाट चितवन नारायणघाट जोड्ने बुद्धसिं मार्गलाई पनि नारायणघाट–मुग्लिङ सडकखण्डको वैकल्पिक मार्गका रूपमा सञ्चालन गर्न सकिने सरोकावाला बताउँछन्। उक्त सडकको ट्र्रयाक खोलिएको करिब ३१ वर्ष भयो। ३४ किलोमिटर लम्बाइको सडक निर्माण भने सुस्त छ।
तर, आँबुखैरेनी र भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि मोटरेबल पुल नबन्दा पूर्णरूपले मुग्लिङ–नारायणघाट सडकखण्डका वैकल्पिक मार्गका रूपमा सञ्चालन हुन सकेको छैन।
सडक विभागले भने हाल सञ्चालनमा रहेको मुग्लिङ–नारायणघाट खण्डभन्दा बढी लम्बाइ रहेकाले उक्त विकल्पमा चासो दिएको छैन। विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार बाटो धेरै घुमाउरो हुने भएपछि त्यस विषयमा चासो नदिइएको हो।
तर, मुग्लिङ–नारायणघाट खण्डमा पटक–पटक पहिरो गइरहँदा सडकको विकल्प खोज्नुपर्ने वा पहिरोको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने विषयमा सडक विभाग लागिरहेको पोखरेल बताउँछन्। ‘धेरै घुमाउरो हुने विकल्पले पनि राम्रो हुँदैन, अहिले समस्या २२ किलोमिटर क्षेत्रमा हो, त्यहीअनुसार विकल्प खोज्नुपर्छ,’ उनी भन्छन्, ‘पोहोर मर्मत गरेको ठाउँमा होइन यसपालि नयाँ ठाउँमा पहिरो गएको छ। अहिले पनि बाटो खुलाइरहेका छौं, हिउँदमा थप अध्ययन गरेर पहिरो व्यवस्थापन गर्छौं।’
हाल सञ्चालनमा रहेको मुग्लिङ–नारायणघाट पारिपट्टि घुमाउने घाट र गाईघाट भन्ने स्थान छ। त्याे बाटोलाई वैकल्पिक मार्ग बनाउन सकिने प्रवक्ता पोखरेलको भनाइ छ। तर, घुमाउने घाट र गाईघाट क्षेत्रमा स्थानीयको जग्गा धेरै भएको तथा वन क्षेत्र पनि रहेकाले मुआब्जा वितरण गर्न धेरै बजेट आवश्यक हुन्छ।
उक्त क्षेत्रबाट सडक बनाएमा २२ देखि २५ किलोमिटर नयाँ ट्रयाक खोलनुपर्ने अध्ययनले देखाएको छ। तैपनि, उनले मुआब्जा वितरणमा हुने खर्चका विषयमा भने खुलाएका छैनन्।
पृथ्वी राजमार्गमा पर्ने मुग्लिङ–नारायणघाट सडकखण्डको लम्बाइ ३६ किलोमिटर छ। जसमध्ये करिब २२ किलोमिटर क्षेत्रमा पहिरो जाने गर्छ। घुमाउने घाट र गाईघाट क्षेत्रमा मुआब्जा वितरण गरेर नयाँ सडक बनाउनुभन्दा मुग्लिङ–नारायणघाट सडकको पहिरो पन्छ्याउन तथा व्यवस्थित गर्न कम खर्च लाग्ने भएकाले अर्थ मन्त्रालयले नयाँ सडक बनाउन बजेट विनियोजन गर्न नमान्ने प्रवक्ता पोखरेलले बताए।
‘विकल्प खोज्नुपर्छ, कतै लम्बाइ धेरै हुन्छ, कतै लागत रकम धेरै हुन आउँछ। त्यसैले बजेट व्यवस्थापन गर्न अर्थले सजिलै मान्दैन। पहिरो व्यवस्थापनका लागि प्राविधिकहरूले अध्ययन गर्ने योजना छ,’ उनले भने।