काठमाडौं। राजधानीको बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनामा थप ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णय प्रक्रियामा संलग्न भएका तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको छ।
ललिता निवास जग्गा प्रकरणमा १७ पूर्वसहसचिवसहितका कर्मचारी जोडिएको अनुसन्धानबाट पत्ता लागेको छ। त्यसमध्येका एक पूर्वसहसचिव तथा निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर शाह पक्राउ परिसकेका छन्।
पक्राउ पुर्जी जारी भएका मध्ये छविराज पन्त खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री भएका थिए । भैतिक पूर्वाधारमन्त्री भइसकेका छन्। दीप बस्नेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त हुन्।
अदालतबाट अन्तरिम आदेश लिएकाले तत्कालीन सहसचिव कलाधर देउजालाई कागज गराएर छाडिएको छ बाँकी आरोपितको खोजबिन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा संलग्नविरुद्ध मुलुकी ऐन २०२० र संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान गरिरहेको छ।
प्रहरी अधिकारीका अनुसार पक्राउ पुर्जी जारीपछि बस्नेतको सुरक्षामा खटिएका अंगरक्षक नै फिर्ता गरेर सम्पर्कविहीन भएका छन्। अरू आरोपितको पनि खोजबिन भइरहेको सिआइबी स्रोतले बतायो ।
सिआइबीले ०४९ देखि ०६९ को अवधिमा हडपिएको १ सय ४३ रोपनीभन्दा बढी जग्गा हिनामिना प्रकरणमा किर्ते र संगठित अपराधका दफा लगाएर अनुसन्धान गरिरहेको छ ।
जग्गा हडप्ने निर्णय प्रधानमन्त्री, मन्त्री, सचिव, सहसचिवदेखि मालपोत, नापी र गुठीका कर्मचारीसम्मको सेटिङमा भएको अनुसन्धानले देखाएको छ।
त्यसक्रममा तत्कालीन भोगाधिकारी र भूमाफियासमेतको मिलेमतोमा सरकारी कागजात किर्ते गर्ने, हक नलाग्नेमा हक छ भनेर फर्जी फाइल खडा गर्नेदेखि कर्मचारीलाई जग्गा नै घूस दिनेसम्मका काम भएको छ ।यो प्रकरणमा २०७६ माघ २२ मा अख्तियारले पूर्वउपप्रधानमन्त्री गच्छदारसहित १ सय १० जनालाई बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।
प्रहरीले यही प्रकरणमा किर्तेलगायतका कसुरको अनुसन्धान जारी राखेकामा गत असार १२ मा केही आरोपित पक्राउ परेका थिए। यही प्रकरणमा पूर्वसहसचिव तथा पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चारवटा मिसिलमा ४ सयभन्दा बढीलाई आरोपित बनाएर अदालतबाट पक्राउ पुर्जी लिइसकेको जनाएको छ।
आधाजति आरोपित चारवटै मिसिलमा जोडिएका कारण प्रतिवादीको संख्या बढेको देखिन्छ तर व्यक्तिगत रूपमा भने कम्तीमा २ सय ४० जना यो अपराधमा जोडिएका छन्।