काठमाडौं। निजी लगानीका आयोजनाहरू पूरा भई चालू आर्थिक वर्ष २०७९/८० मा ४ सय ९१ मेगावाट बिजुली थप भएको छ।
जलविद्युत तथा सोलार प्रविधिबाट ठूला–साना विभिन्न २७ आयोजना पूरा भई उक्त परिमाणमा बिजुली उत्पादन थप भएको हो।
२०७९ साउनयता निजी लगानीबाट निर्माण भएको ८६ मेगावाटको सोलु दूधकोसी मुलुककै तेस्रो ठूलो आयोजना बनेको छ। पहिलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, दोस्रोमा १ सय ४४ मेगावाटको कालिगण्डकी ‘ए’ हो। सोलु–दूधकोसी साहस ऊर्जा लिमिटेडले बनाएको हो।
चालू आर्थिक वर्ष सरकारले ८ सय मेगावाट बिजुली उत्पादन थपेर ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको थियो। लक्ष्यको ६३ प्रतिशतमात्र सफलता मिलेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
चिलिमे हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेका २ सय ७० मेगावाटका चार आयोजना पूरा नभएपछि विद्युत उत्पादन लक्ष्य नभेटिएको हो। गत आर्थिक वर्ष ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि विद्युत उत्पादनमा नयाँ रेकर्ड कायम भएको थियो।
त्यसबेला प्रणालीमा ७ सय ५० मेगावाट बिजुली थपिएको थियो। तर, चालू आर्थिक वर्ष घटेको छ। तै पनि मुलुकमा विद्युत उत्पादन बढ्दै गएको छ। असारसम्म जडित क्षमता २ हजार ८ सय मेगावाट पुगेको छ।
जलविद्युतमात्र नभई अहिले सोलार परियोजनाबाट पनि बिजुली थपिने क्रम बढेको छ। यो वर्ष आधा दर्जन सोलार परियोजना पूरा भई प्रणालीमा ३०.६ मेगावाट बिजुली थप भएको प्राधिकरणले जनाएको छ।
साउनदेखि अहिलेसम्म पूरा भएका सोलार आयोजनामा अपी पावर कम्पनी लिमिटेडको १ मेगावाटको सिमरा सोलार, नेसनल सोलार पावर कम्पनीको नवलपरासीमा ५ मेगावाटको सोलार, ४ मेगावाटको सोम राधाकृष्ण सोलार फार्म, जिआई सोलारबाट ६.८ मेगावाट बिजुली उत्पादन भइरहेको छ।
यस्तै सौर्य विद्युत पावर कम्पनीले नवलपरासीमा २ मेगावाट र गोल्यान ग्रुपको लगानीमा स्थापना भएको पियोर इनर्जी लिमिटेडले नेपालगञ्जमा १० मेगावाटको सोलार परियोजना पूरा भई प्रणालीमा जोडिएको छ।
जलविद्युततर्फ आसुतोष इनर्जीको ८.६ मेगावाट चेपेखोला, दोर्दीखोला जलविद्युत कम्पनीको १२ मेगावाट दोर्दी–१, हिमालयन पावर पार्टन लिमिटेडले बनाएको २७ मेगावाट दोर्दीखोला, पिपुल्स पावर लिमिटेडको ४.९ मेगावाट पुवाखोला–२, बलेफी हाइड्रोपावरको ३६ मेगावाट बलेफी ‘ए’ आयोजना सम्पन्न भई प्रणालीमा जोडिएको छ।
यसैगरी स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको २८.१ मेगावाट तल्लो लिखुखोला, लिबर्टी हाइड्रोपावर लिमिटेडको २५ मेगावाट अपर दोर्दी ‘ए’, सिदी पावरको ९ सय ९९ किलोवाट सितीखोला, मिड सोलु हाइड्रोपावरको ९.५ मेगावाट मिड सोलुखोला र १५.१ मेगावाटको मिडिल मोदी आयोजना पूरा भएका छन्।
त्यसैगरी १५.३ मेगावाट कलांगा, ३८.४ मेगावाट अपर कलांगा, ४.५ मेगावाट अपर माछाखोला, ८६ मेगावाट सोलु–दूधकोसी, ४.७ मेगावाट अपर पिखुवा खोला पनि पूरा भएका छन्।
त्यस्तै ४४ मेगावाट सुपरमादी, ५ मेगावाट रुकुमगाड, ५४ मेगावाट सुपर दोर्दी ‘ख’, १८.२ मेगावाट अपर सोलु र १४.९ मेगावाट मायाखोला आयोजना पूरा भएको प्राधिकरणले जानकारी दिएको छ।
चिलिमेका आयोजना ढिलाइ
चालू आर्थिक वर्षभित्र चिलिमे हाइड्रोपावर लिमिटेडको लगानीमा निर्माणाधीन २ सय ७० मेगावाटका चार ठूला आयोजना पूरा हुने लक्ष्य थियो।
तर, यी आयोजना आगामी आर्थिक वर्षमात्र पूरा हुनेछन्। १ सय ११ मेगावाट रसुवागढी, १ सय २ मेगावाट मध्यभोटेकोसी र ५७ मेगावाट माथिल्लो र तल्लो सान्जेन आयोजना पनि पूरा गर्ने लक्ष्य थियो। यी सबै आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आउँदो ६ महिनाभित्र सबै आयोजना सकिने अनुमान छ।
यस्तै ३ हजार १ सय १ मेगावाट क्षमताका १ सय २९ आयोजना निर्माणाधीन अवस्थामा छन्। २ हजार १ सय ६७ मेगावाटका ९५ आयोजनाका काम विभिन्न चरणमा पुगेको प्राधिकरणले जनाएको छ।
विद्युत प्राधिकरणले १० आयोजनाबाट उत्पादन हुने ४ सय ५२ मेगावाट बिजुली भारत निर्यात गरेको छ। २०७९ मा प्राधिकरणले ४ सय मेगावाटसम्म बिजुली निर्यात गरेर ११ अर्ब रुपैयाँ आम्दानी गरेको छ।
माथिल्लो तामाकोसीलगायत ६ सय ८१ मेगावाट क्षमताका आयोजनाबाट पनि बिजुली निर्यातका लागि नेपालले भारतसँग अनुरोध गरिसकेको छ।