काठमाडौं। लन्डनबाट चाँडै सञ्चालन हुन लागेको ‘हिमालय जेट’ एयरलाइन्सले बेलायत, फ्रान्स र जर्मनीबाट नेपालका लागि एकतर्फी प्रतियात्रु ८३ हजार रुपैयाँमा उडान गर्ने घोषणा गरेको छ।
लामो दुरी (लङ हल) मा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय जेटले आगामी सेप्टेम्बरदेखि बेलायतको लन्डन र म्यानचेस्टर, फ्रान्सको पेरिस र जर्मनीको फ्र्यांकफर्टबाट नेपाल उडान गर्ने भएको हो।
हिमालय जेटले १८ थान ठूला आकार (वाइड बडी) जहाजबाट लामो दुरीका गन्तव्यमा उडान गर्ने जानकारी आफ्नो अफिसियल वेबसाइटमा उल्लेख गरेको छ।
‘हामी लन्डन, म्यानचेस्टर, पेरिस र फ्र्यांकफर्टबाट एकतर्फी प्रतियात्रु ८३ हजार ३ सय ३३ रुपैयाँमा नेपाल उडान गर्ने छौं,’ हिमालय जेटका प्रमुख ग्राहक अधिकृत एलेक्स मिडले भने, ‘यो प्रवर्द्धनात्मक भाडा दर हो। टिकट बुकिङ चाँडै खोल्ने छौं।’
पहिलो चरणमा १८ थान वाइड बडी जहाज उडाउन ५५ क्याप्टेन र ५५ कोपाइलट भर्ना गर्न हिमालय जेटले दर्खास्त आह्वान गरेको छ।
कम्पनीले विभिन्न देशका ३० अन्तर्राष्ट्रिय विमानस्थलमा रहेर काम गर्न करिब २ हजार ५ सय कर्मचारी भर्ना गर्न सार्वजनिक सूचना जारी गरेको छ।
बेलायतको नयाँ वायुसेवा कम्पनी हिमालय जेटले नेपाल, भारत, अमेरिका, फ्रान्स, जर्मनी, इटाली, स्पेन, स्वीजरल्यान्ड, जापान, मकाओ, हङकङ, सिंगापुर, युएई, साउदी अरब, अस्ट्रेलिया लगायत लामो दुरीका गन्तव्यमा ‘प्रिमियम’ सिधा उडान गर्ने तयारी गरेको छ।
हिमालय जेट ‘स्टार्टअप’ एयरलाइन कम्पनी हो। यसले बेलायतलाई आधार गरेर प्रिमियम उडान गर्न लागेको हो।
हिमालय जेटले काठमाडौं र भारतका विभिन्न गन्तव्य जाँदा यात्रुले भोग्नुपरेको अत्यासलाग्दो ‘ट्रान्जिट’ घटाएर सिधा उडान गर्ने योजना बनाएको छ। युरोपेली गन्तव्यलाई नेपाल र भारत जोड्ने गरी सञ्चालन गर्न लागिएको हो।
सिधा उडान गर्दा यात्रुको समय र खर्च ३० प्रतिशत जोगिने कम्पनीले जनाएको छ। हिमालय जेटले युरोप, अमेरिका, एसिया र अस्ट्रेलिया गरी चार महादेश जोड्ने छ।
हिमालय जेटले हिमाली क्षेत्र पुग्न चाहने युरोपेली पर्वतारोही र साहसिक पर्यटकलाई सिधा र सुविधायुक्त उडान उपलब्ध गराउनेमात्र नभई, लक्जरी होटल र अन्य सम्बन्धित पर्यटन गतिविधिमा सहभागी गराउने पनि उल्लेख गरेको छ।