काठमाडौं। सेयर बजारमा बिहीबार दिनभरजसो उतारचढाव जारी रह्यो । सूचक छिनछिनमै तलमाथि अनि हरियो–रातो बनिरह्यो । तर बजार बन्द हुँदा सूचक ०.०६ विन्दुले घटेर २०४९.३८ अंकमा अड्कियाे। ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा करिब ३ अर्ब रुपैयाँको सेयर कारोबार भयो ।
समग्रमा सेयर बजारमा असार मसान्तको दबाबसँगै आगामी मौद्रिक नीतिको कौतुहलताले पनि प्रभाव पारेको देखिन्छ । यसअघि प्रोफिट बुक गरेकाहरु पनि अहिले ‘पर्ख र हेर’ कै रणनीतिमा लागेका छन् ।
यतिबेला सेयर बजारमा असार मसान्तको चर्को दबाब छ । कर्जाको साँवा–ब्याज भुक्तानी र अन्य करहरुसमेत तिर्नुपर्ने भएकाले ठूला लगानीकर्ताले समेत खरिदक्रम बढाउन सकेका छैनन् । यही बेला यअसघि बजारमा नाफा बुक गरेकाहरु अझै भाउ घट्छ कि भनेर चुपचाप बसिरहेको देखिन्छ । यही कारणले केही दिनयता हाम्रो सेयर बजार प्रभावित भइरहेको छ ।
यसैगरी, सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानको निकै ठूलो भूमिका हुने गर्छ । धेरैलाई बजार बढ्छ अब खरिदक्रम बढाउनुपर्छ जस्तो लाग्यो थाल्यो भने बजारले पनि सोही अनुसारको प्रतिक्रिया देखाउन थालिहाल्छ ।
तर, लगानीकर्ताको मनोबल कमजोर भयो अनि बजारमा नकारात्मक कुराहरु हावी भए भने सेयर बजारमा पनि त्यसको प्रतिबिम्ब देखिन सुरु गरिहाल्छ । यसर्थ, सेयर बजारका लगानीकर्ताको मनोबल सकारात्मक हुन आवश्यक रहेको अनुभवीहरु बताउँछन् ।
असार मसान्तमा सेयर बजारमा सामान्य दबाब पर्नु स्वभाविक भएको जानकारहरु बताउँछन् । यसपटक मात्र होइन, प्रायः सबै वर्ष असार मसान्तमा सेयर बजारमा बिक्री दबाब पर्छ । अहिले नेप्से सूचकसँग सूचक कारोबार रकम पनि अहिले सुस्त बनेको छ । यद्यपि, वित्तीय प्रणालीमा तरलता सहज भएकाले लगानीकर्ता आशावादी बनेका हुन् ।
अहिलेको तयारी अनुसार काम भएमा आगामी साउन पहिलो साता केन्द्रीय बैंकले मौद्रिक नीति जारी गर्नेछ । मौद्रिक नीति सेयर बजारको भविष्य निर्धारण प्रमुख कारक हुने अनुमानहरु भइरहेका छन् । हाल मौद्रिक नीतिमार्फत सेयर बजारमा कडाई गरिएको अवस्था छ ।
मौद्रिक नीतिमा ब्याजदर घटाउने, लगानी बढाउने प्रावधानहरु आउँछ कि आउँर्दैन, त्यो पनि अर्को महत्वपूर्ण पक्ष हुनेछ । ब्याजदर र लगानीका विषयले पनि सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्न सक्नेछ ।
यसर्थ, आम लगानीकर्ताले बजार ट्रेन्डसहित आफूले लगानी गर्ने कम्पनीहरुमा विशेष ध्यान दिन आवश्यक हुने जानकारहरुको भनाई छ । नेप्से सूचक बढ्दैमा सबै कम्पनीले उत्तिकै मुनाफा दिने ग्यारेन्टी गर्दैन ।
कतिपय अवस्थामा नेप्से राम्रैसँग वृद्धि हुँदा पनि कतिपय कम्पनीहरु बढ्दै नबढ्ने पनि गरेको पाइन्छ । यसर्थ, बजारको समग्र ट्रेन्डका साथमा आफूले लगानी गरेको कम्पनी र समूहहरुतर्फ नै विशेष ख्याल गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् ।
लगानी गर्ने कम्पनीको नाफा, रिजर्भ, इपीएस, नेटवर्थ, पीई, व्यापार विस्तारको सम्भवानामा ख्याल गर्नुपर्ने हुन्छ । यस्तै, उक्त इन्डस्ट्रीको औसत पीई, बिजेनस ग्रोथको सम्भावनालाई पनि मिहिन तरिकाले केलाउन जानकारहरुले सुझाव दिने गर्छन् । यसैगरी, कम्पनीको लाभांश वितरण क्षमता, विगतको वितरण इतिहासमा ध्यान दिनुपर्छ ।
यसैगरी, बजारका अनुभवीहरुले लामो समय होल्ड गर्न सक्ने हिसाबले मात्र सेयर खरिद गर्नुपर्ने बताउँछन् । जोखिम बहन क्षमतमा ख्याल गर्न पनि अनुभवीहरुले सुझाव दिने गरेका छन् । लगानी गर्न लागिएको कम्पनीमा अल्पकालीन लगानी हो कि दीर्घकालीन ? भनेर पहिला नै स्पष्ट हुन जरुरी हुन्छ ।
बजारका अनुभवीहरु भने सबल वित्तीय सूचक भएका अनि लाभांश क्षमता राम्रो रहेका कम्पनी छानेर दीर्घकालीन अवधिका लागि लगानी गर्दा आकर्षक लाभ लिन सकिने बताउँछन् । तर लगानी रणनीति प्रत्येक व्यक्तिको फरकफरक हुन सक्छ । लगानीकर्ता स्वयंले आफ्ना रणनीतिहरु तय गर्न आवश्यक हुन्छ ।