काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले युग सुहाउँदो प्रशासनिक मोडेल निर्माण गर्न विश्वसमुदायसँग सहकार्यका लागि नेपाल तयार रहेको बताएका छन्।
कोरियाली ग्रामीण विकास केन्द्र (सेमाउल) ले कोरियाको बुसानमा आयोजना गरेको ग्रामीण विकाससम्बन्धी विश्वका मन्त्रीस्तरीय सम्मेलन सम्बोधन गर्दै मन्त्री मोदीले सिंगो विश्व अहिले रूपान्तरणको चरणमा रहेकाले युग सुहाउँदो प्रशासनिक मोडलको अनिवार्यतामा जोड दिएका हुन्।
आफूलाई गौतमबुद्ध र सगरमाथाको देशको मन्त्रीको रूपमा परिचित गराउँदै मन्त्री मोदीले भने, ‘विश्व नै अहिले रूपान्तरणको चरणमा छ, आर्थिक भौतिक र मानव पुँजीको बीचमा खाडल छ, सबैतिरका प्रशासन र सम्बन्ध थप जटिल हुँदै गएको अवस्था छ, यस्तो युग सुहाउँदो प्रशासनिक मोडेलमा निर्माण अनिवार्य बनेको छ, यसका लागि सहकार्य गर्न नेपाल सरकार तत्पर छ।’
मन्त्री मोदीले नेपालमा संघीय प्रणाली कार्यान्वयनको चरणमा रहेकाले संघीयताको सुदृढीकरण र सबलीकरणका लागि आफूहरू विश्व समुदायसँग हातेमालो गर्न तयार रहेको समेत बताए।
‘नेपालमा अहिले संघीयता कार्यान्वयनको चरणमा छ, तपाईंहरूको अनुभव हाम्रा लागि पाठ हुन सक्छ, हामी संघीयताको सबलीकरण र सुदृढीकरणका लागि हातेमालो गर्न तयार छौं,’ मन्त्री मोदीले भने, ‘हाम्रो देशका लागि सेमाउल एउटा प्रेरणाको स्रोत हो। हामी सेमाउलको विधिलाई पछ्याउँदै संघीयतालाई बलियो बनाउने यात्रामा लाग्नेछौं।’
सम्मेलनमा ३३ देशका मन्त्रीसहित ४६ देशका प्रतिनिधि सहभागी छन्।