काठमाडौं। लन्डनबाट चाँडै सञ्चालन हुन लागेको ‘हिमालय जेट’ एयरलाइन्सले बेलायत, फ्रान्स र जर्मनीबाट नेपाल उडान गर्ने भएको छ ।
लामो दुरी (लङ हल) मा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय जेटले आगामी सेप्टेम्बरदेखि बेलायतको लन्डन र म्यानचेस्टर, फ्रान्सको पेरिस र जर्मनीको फ्र्यांकफर्टबाट नेपाल उडान गर्ने भएको हो ।
हिमालय जेटले १८ थान ठूला आकार (वाइड बडी) जहाजबाट लामो दुरीका गन्तव्यमा उडान गर्ने जानकारी आफ्नो अफिसियल वेबसाइटमा उल्लेख गरेको छ।
‘हाम्रो एयरलाइन कम्पनीका सञ्चालक दीपेन्द्र गुरुङ नेपालको भएका कारण हामीले नेपालमा बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक लैजान नेपालमा पनि उडान गर्ने तयारी गरेका हौं,’ हिमालय जेटका प्रमुख ग्राहक अधिकृत एलेक्स मिडले भने, ‘नेपाल पनि हाम्रो प्रिमियम गन्तव्य हुनेछ।’
कम्पनीले लन्डन, म्यानचेस्टर, पेरिस र फ्र्यांकफर्टबाट सिधा काठमाडौं उडान गर्ने र यहाँबाट पनि ती गन्तव्यका लागि सिधा उडान गर्ने जनाएको छ ।
पहिलो चरणमा १८ थान वाइड बडी जहाज उडाउन ५५ क्याप्टेन र ५५ कोपाइलट भर्ना गर्न हिमालय जेटले दर्खास्त आह्वान गरेको छ।
त्यसैगरी एक दर्जन उच्च तहका कार्यकारी अधिकृतबाहेक थप करिब २ हजार ५ सय कर्मचारी भर्ना गर्न कम्पनीले यसअघि नै दर्खास्त आह्वान गरेको छ।
कम्पनीले विभिन्न देशका ३० अन्तर्राष्ट्रिय विमानस्थलमा रहेर काम गर्न करिब २ हजार ५ सय कर्मचारी भर्ना गर्न सार्वजनिक सूचना जारी गरेको छ।
लन्डनमा दर्ता भएको हिमालय जेटले ती सबै उच्च अधिकारीलाई लन्डनस्थित हिथ्रो विमानस्थलको टर्मिनल २ मा रहेको मुख्यालमा रहेर काम लगाउने छ।
बेलायतको नयाँ वायुसेवा कम्पनी हिमालय जेटले नेपाल, भारत, अमेरिका, फ्रान्स, जर्मनी, इटाली, स्पेन, स्वीजरल्यान्ड, जापान, मकाओ, हङकङ, सिंगापुर, युएई, साउदी अरब, अस्ट्रेलिया लगायत लामो दुरीका गन्तव्यमा ‘प्रिमियम’ सिधा उडान गर्ने तयारी गरेको छ।
हिमालय जेट ‘स्टार्टअप’ एयरलाइन कम्पनी हो। यसले बेलायतलाई आधार गरेर प्रिमियम उडान गर्न लागेको हो।
हिमालय जेटले काठमाडौं र भारतका विभिन्न गन्तव्य जाँदा यात्रुले भोग्नुपरेको अत्यासलाग्दो ‘ट्रान्जिट’ घटाएर सिधा उडान गर्ने योजना बनाएको छ। युरोपेली गन्तव्यलाई नेपाल र भारत जोड्ने गरी सञ्चालन गर्न लागिएको हो।
सिधा उडान गर्दा यात्रुको समय र खर्च ३० प्रतिशत जोगिने कम्पनीले जनाएको छ । हिमालय जेटले युरोप, अमेरिका, एसिया र अस्ट्रेलिया गरी चार महादेशलाई जोड्ने छ।
हिमालय जेटले हिमाली क्षेत्र पुग्न चाहने युरोपेली पर्वतारोही र साहसिक पर्यटकलाई सिधा र सुविधायुक्त उडान उपलब्ध गराउनेमात्र नभई, लक्जरी होटल र अन्य सम्बन्धित पर्यटन गतिविधिमा सहभागी गराउने पनि उल्लेख गरेको छ।
१६ देशमा जिएसए आह्वान
यसैगरी हिमालय जेटले १६ देशका लागि आधिकारिक बिक्री प्रतिनिधि (जिएसए) नियुक्त गर्न सार्वजनिक आह्वान गरेको छ।
उसले नेपाल, भारत, जापान, अमेरिका, सिंगापुर, युएई, अस्ट्रेलिया, साउदी अरब, मकाओ, हङकङ, जर्मनी, इटाली, फ्रान्स, स्वीजरल्यान्ड, स्पेनलगायत देशका लागि जिएसए नियुक्त गर्न लागेको हो।