जुम्ला। जिल्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको सुरक्षाका लागि ‘निःशुल्क घर बिमा’ कार्यक्रम सञ्चालन गरिने भएको छ।गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा निःशुल्क घर बिमाको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए।
तातोपानीका आठवटै वडाका ३ हजार ३ सय घरधुरीका लागि निर्जीवन बिमा सुरक्षाको प्रत्याभूति दिनका लागि २० लाख रूपैयाँ बजेट नीति तथा कार्यक्रममार्फत विनियोजन गरिएको उनले जानकारी दिए।
‘अविरल वर्षा र बाढी पहिराका कारण प्रत्येक वर्ष नागरिक घरबारविहीन हुनु परेको छ। नागरिकको बासस्थानको सुरक्षाका लागि घर बिमा योजना ल्याएका छौँ,’ ध्यक्ष चौलागाईंले भने। स्थानीयको सुरक्षामा पहिलो जिम्मेवारी स्थानीय सरकार भएकाले यहाँका नागरिकको सुरक्षाका लागि घर बिमा कार्यक्रमलाई पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो।
अध्यक्ष चौलागाईंका अनुसार नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको बिमा कम्पनीसँग सहकार्य गरेर यहाँका नागरिकको घर बिमा गरिने छ। प्रत्येक घरलाई पाँच लाख रूपैयाँ बराबरको बिमा गर्ने पालिकाले जनाएको छ। घरमा प्राकृतिक विपतले क्षति पुर्याएमा बीमाबाट राहत पुग्ने उनले बताए।
गत वर्ष असोजमा आएको अविरल वर्षाले तातोपानी क्षेत्रमा धैरे क्षति गरेको थियो। अझैसम्म यहाँका खेतबारी र विद्यालय पुनः निर्माण हुन सकेका छैनन्। प्रकृतिक विपत्तिबाट हुने क्षतिलाई कम गर्दै नागरिकलाई राहत महसुस गराउनका लागि आव २०८०/८१ आर्थिकबाट उक्त कार्यक्रम लागु गरिएको उपाध्यक्ष रेवती रावलले जानकारी दिइन्।
नीति तथा कार्यक्रममार्फत पालिकाबाट सञ्चालन हुने गौरवका बुहवर्षीय तथा ठूला प्रकृतिका योजनाको दिगो व्यवस्थापन संरक्षण गर्दै मर्मतसम्भार गरी दिगोपना दिने उद्देश्यले बिमा योजनाका लागि बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए।
पशुपालन गर्ने किसानलाई थप प्रोत्साहन गर्न तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउनका लागि ‘किसानमैत्री योजना’ नीति तथा कार्यक्रममा ल्याएको तातोपानी गाउँपालिकाले जनाएको छ। गर्भवती तथा सुत्केरीलाई अस्पतालसम्म आउजाउ गर्नका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित बनाउँदै ‘म स्वास्थ्य मेरो गाउँपालिका स्वास्थ्य’ कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष चौलागाईँले जानकारी दिए। उनका अनुसार पालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नका लागि आठवटै वडाका नागरिकका लागि दुई लाख रुपैयाँका दरले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न १६ लाख रुपैयाँ विनियोजन गरिएको छ।
बजेट वक्तव्यमा सबै वडामा दीर्घरोगी र वृद्धहरूलाई घर-घरमै गएर निःशुल्क उपचार गर्ने तथा मधुमेह र उच्च रक्तचापको निःशुल्क परीक्षणका लागि आवश्यक बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। रासस