काठमाडौं। एनआइसी एसिया बैंकले घोराही सिमेन्ट इन्डस्ट्रीको प्राथमिक सेयर (आइपिओ) मा उधारो आवेदन स्वीकृत गरेको पाइएको छ। नेपाल धितोपत्र बोर्डले गरेको प्रारम्भिक अनुसन्धानमा एनआइसी एसियाले आवेदकको खातामा पर्याप्त मौज्दात नभए पनि प्राप्त आवेदन स्वीकृत गरेर उधारो कारोबार बढावा दिएको हो।
सि-आस्बा सदस्यले आवेदकको खातामा पर्याप्त रकम नभए खातामा पैसा छैन भन्ने जानकारी दिएर आवेदन अस्वीकृत गर्नुपर्नेमा एनआइसी एसियाले खातामा रकम नभइकनै आवेदन स्वीकृत गरेर गम्भीर गल्ती गरेको बोर्डको निष्कर्ष छ।
बोर्डले बुधबार घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सार्वजनिक निष्कासनसम्बन्धमा प्रेस विज्ञप्ति जारी गर्दै एनआइसी एसियाले साधारण सेयरको उधारोमा आवेदन स्वीकृत गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएको हो।
‘खातामा पर्याप्त रकम नहुँदा नहुँदै के कसरी आवेदन स्वीकृत भएको हो? सोसम्बन्धमा थप छानबिन गरी आवश्यक कारबाही अघि बढाउने,’ विज्ञप्तिमा उल्लेख छ। बोर्डकाे विज्ञप्ति आधार मान्दा एनआइसी एसियाले यसअघि पनि यस्तै गलत कार्य गरेको शंका गर्न सकिन्छ।
निष्कासन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता सेयर खरिदका लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना निकालेको प्रति पनि बोर्डले प्रश्न उठाएको छ। र, यससम्बन्धमा थप छानबिन गर्ने उल्लेख गरेको छ।
घोराही सिमेन्ट आवेदन प्रकरणमा बोर्डले थप छानबिनका लागि प्रहरी गुहारेको छ।
बोर्डको अनुसन्धानमा केही लगानीकर्ताले बैंक खातामा पर्याप्त रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्ता भ्रमित पार्न अस्वाभाविकरूपमा सेयर खरिद गर्न आवेदन दिने गरेको पाइएको हो।
त्यस्ता आवेदकले सर्वसाधारणलाई भ्रमित गर्ने उद्देश्यसाथ आवेदन दिएकाले जालसाजी भएको देखिएपछि थप छानबिनका लागि नेपाल प्रहरीलाई सिफारिस गर्ने निर्णय बोर्डले गरेको छ।
यसमा निष्कासान तथा बिक्री प्रबन्धकको पनि कमजोरी रहेको बोर्डको ठम्याइ छ। ‘निष्कासन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता सेयर खरिदका लागि आवेदन गरेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेर सर्वसाधारण लगानीकर्तालाई भ्रमित पारेकाले थप छानबिन गरिने छ,’ बोर्डले भनेको छ।
घोराही सिमेन्टको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङ छन्।