काठमाडौं। सेयर बजारमा फेरि गिरवाट आएको छ। बिक्रेता हावी भएपछि मंगलबार बढेको बजारले बुधबार निरन्तरता पाउन सकेन। यस दिन नेप्से सूचक ३९.२६ अंकले घटेर २०४९.४४ विन्दुमा आएर अडिएको छ। २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
ट्रेडरले नाफा बुक गर्नु अनि ठूला लगानीकर्तालाई पनि असार मसान्तको दबाब पर्दा बजारमा क्रेता पक्ष कमजोर भएको अनुमान गरिएको छ । असार मसान्तमा सेयर बजारमा दबाब पर्नु स्वभाविक भएको जानकारहरु बताउँछन् ।
यसपटक मात्र होइन, प्रायः सबै वर्ष असार मसान्तमा सेयर बजारमा बिक्री दबाब पर्छ। यो चालु आर्थिक वर्ष समाप्तिको समय पनि हो । त्यसले पनि लगानीकर्तालाई धेरै रकमको जोहो गर्नुपर्ने हुन सक्छ ।
मसान्तमा बैंकको साँवा–ब्याज तिर्ने प्रेसरले गर्दा लगानीकर्ताले दोस्रो बजारमा खरिदक्रम बढाउन नसकेका हुन् । यतिबेला आयकर लगायतका अन्य कर तिर्न पनि उनीहरुले ठूलो रकम जोहो गर्नुपर्ने हुन्छ ।
यी कारणले दोस्रो बजारको सेयर कारोबार प्रभावित हुन थालेको छ । आम लगानीकर्ताको खरिद क्षमता यो बेलामा कम हुँदा त्यसको प्रत्यक्ष असर नेप्से सुचकसहित कारोबार रकममा पनि देखिएको छ । साउन लागेसँगै बजारले फेरि गति समाउने अपेक्षामा लगानीकर्ता रहेका छन् ।
वित्तीय प्रणालीमा तरलता सहज भएकाले नै लगानीकर्ता आशावादी भएका हुन् । साथै, साउनको पहिलो साता केन्द्रीय बैंकले मौद्रिक नीति जारी गर्दैछ । मौद्रिक नीतिले पनि बजारको आगामी गति निर्धारण गर्न सहयोग पुग्नेछ ।
हाल मौद्रिक नीतिमार्फत सेयर बजारमा कडाई गरिएको अवस्था छ । सेयर धितो कर्जामा १२ करोडको सीमा लगाइएको छ भने जोखिमभार पनि १५० प्रतिशत कायम गरिएको छ ।
यी प्रावधानमा अब खुकुलो गरियो भने बजारले नयाँ उचाई तय गर्न सक्नेछ । यद्यपि, तरलता सहज भएकाले यी प्रावधान यथावत् रहँदा पनि बजारले क्रमशः अपट्रेन्ड समाउन सक्ने विश्लेषकहरुको भनाई छ ।
मौद्रिक नीतिमा ब्याजदर घटाउने, लगानी बढाउने टुल्सहरु आउँछ कि आउँर्दैन, त्यो पनि अर्को महत्वपूर्ण पक्ष हुनेछ । ब्याजदर र लगानीका विषयले पनि सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्न सक्नेछ ।
यसर्थ, आम लगानीकर्ताले बजारको समग्र ट्रेन्डसहित आफूले लगानी गर्ने कम्पनीहरुमा विशेष ध्यान दिन आवश्यक हुने जानकारहरुको भनाई छ । नेप्से सूचक बढ्दैमा सबै कम्पनीले उत्तिकै मुनाफा दिने ग्यारेन्टी भने गर्दैन ।
कतिपय अवस्थामा नेप्से राम्रैसँग वृद्धि हुँदा पनि कतिपय कम्पनीहरु बढ्दै नबढ्ने पनि गरेको पाइन्छ । यसर्थ, बजारको समग्र ट्रेन्डका साथमा आफूले लगानी गरेको कम्पनी र समूहहरुतर्फ नै विशेष ख्याल गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् ।
लगानी गर्ने कम्पनीको नाफा, रिजर्भ, इपीएस, नेटवर्थ, पीई, व्यापार विस्तारको सम्भवानामा ख्याल गर्नुपर्ने हुन्छ । यस्तै, उक्त इन्डस्ट्रीको औसत पीई, बिजेनस ग्रोथको सम्भावनालाई पनि मिहिन तरिकाले केलाउन जानकारहरुले सुझाव दिने गर्छन् । यसैगरी, कम्पनीको लाभांश वितरण क्षमता, विगतको वितरण इतिहासमा ध्यान दिनुपर्छ ।
लगानी गर्न लागिएको कम्पनीमा अल्पकालीन लगानी हो कि दीर्घकालीन ? भनेर पहिला नै स्पष्ट हुन जरुरी हुन्छ । तर अनुभवीहरु भने सबल वित्तीय सूचक भएका अनि लाभांश क्षमता राम्रो रहेका कम्पनी छानेर दीर्घकालीन अवधिका लागि लगानी गर्दा आकर्षक लाभ लिन सकिने बताउँछन् ।
तर लगानी रणनीति प्रत्येक व्यक्तिको फरकफरक हुन सक्छ । लगानीकर्ता स्वयंले आफ्ना रणनीतिहरु तय गर्न आवश्यक हुन्छ । चक्रीय प्रणाालीलाई आधार मान्दा पनि बजारले अब रेखा परिवर्तन गर्ने बेला भएको जानकारहरु बताउँछन् । हाम्रो बजार जहिले पनि निश्चित समयअवधिको बुल र बियर चक्रमा हिँड्ने गरेको छ ।
बजारका अनुभवीहरुले लामो समय होल्ड गर्न सक्ने हिसाबले मात्र सेयर खरिद गर्नुपर्ने बताउँछन् । जोखिम बहन क्षमतमा ख्याल गर्न पनि अनुभवीहरुले सुझाव दिने गरेका छन् । लामो समय होल्ड गर्दा आकर्षक लाभांशसहित पुँजीगत लाभ एकसाथ प्राप्त गर्न सकिने सम्भावना रहन्छ ।
यस दिन २७७ कम्पनीको ८० लाख ९२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १६ करोड ४९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्सुरेन्स र सोल्टी होटल परेका छन् ।