काठमाडाैं। चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा काठमाडौं महानगरपलिकामा ३ सय ९९ विपद्का घटना घटेका छन्। यसमा सबैभन्दा धेरै आगलागिका घटना रहेको कामपाले जानाएको छ। ती घटनामध्ये १ सय ६२ आगलागीका घटना भएको कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए।
उनका अनुसार कामपा क्षेत्रभित्र ग्यास चुहाव भएर हुने आगलागी र बत्तीको पोलमा हुने आगलागीका घटना बढी छ। त्यसैगरी विद्युत् चुहावट भएर १ सय ८, जल उत्पन्न प्रकोपको कारण २३, अन्य विविध विपद्का १ सय ६ घटना घटेको बताइएको छ।
विगतका वर्षमा भन्दा यस वर्ष विपद्को घटना बढ्ने अनुमान कामपाले गरेको छ। गत आर्थिक वर्षमा विभिन्न प्रकारका गरी ३ सय ५५ विपद्का मात्र घटना घटेका थिए। यसरी बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाले अस्तव्यस्तरूपमा राखेको तारको कारणले हुने गरेको कामपाको ठहर छ।
त्यसैगरी जीर्ण खाना पकाउने ग्यास सिडिन्डरको प्रयोग, ग्यास पाइप र लेगुलेटरको नियमित परीक्षण नगर्दा र वार्षिक रूपमा नफेर्दा आगोजन्य विपद्का घटना बढिरहेको उपरीक्षक जोशीको भनाइ छ। कामपाले आगामी आर्थिक वर्षको लागि विपद् व्यवस्थापनमा प्रयोग हुने उपकरण खरिद गर्नका लागि ३ करोड ५० लाख विनियोजन गरेको छ।
आगामी आवकै लागि कामपाले विभिन्न स्थानमा वर्षद्को समयमा हुने डुबान न्यूनीकरणका लागि 'डुबान समाधान' स्वर्णीम कार्यक्रममार्फत खर्च गर्न सक्नेगरी ४ करोड रकम छुट्याइएको छ। केहीवर्ष अघिसम्म ढलमा परेर बालबालिकोको ज्यानैसम्म जाने गरेको उल्लेख गर्दै उपरीक्षक जोशीले अहिले ढलको कारण खासै समस्या नभएको बताए।
विपद्का घटना बढ्न थालेपछि कामपाले यसको नियन्त्रणका कृतिम अभ्यास र सर्वसाधारणको लागि जनचेतनाका कार्यक्रमसमेत गर्न थालेको छ। कृतिम अभ्यास अन्तर्गत सुरक्षित तवरबाट आगो कसरी निभाउने, सडक दुर्घटना भएको समयमा घाइतेलाई तत्काल अस्पतालसम्म कसरी लैजाने जस्ता विषय रहेका बताइएको छ।