भैरहवा। आन्तरिक अर्थतन्त्रमा चोरीपैठारीको हिस्सा धेरै छ। अर्थतन्त्रमा अनौपचारिक अर्थतन्त्रको हिस्सा ५० प्रतिशतहाराहारी पुगेको अनुमान सरकारी क्षेत्रमै हुने गरेको छ।
खासगरी सीमावर्ती भारतीय बजार जाने, त्यहाँबाट साइकलमा सामान बोकेर नेपाल भित्रिने र ठाउँ–ठाउँमा बेच्ने तस्करको समूह ठूलै छ। देख्दा सानो परिमाणमा ल्याएपछि समग्र व्यापारमा त्यसको हिस्सा ठूलो थियो।
दशकौंदेखि दैनिक उपभोग्य वस्तु आपूर्ति भारतीय बजारबाटै हुने गरेको थियो र छ। नेपालका सिमानामा खुलेका भारतीय बजारको मुख्य ग्राहक भनेकै नेपाली हुन्। उनीहरूकै भरमा भारतीय बजार टिकेको थियो।
तर, भैरहवा भन्सार कार्यालय रुपन्देहीले गत जेठ १६ देखि १ सय रुपैयाँमाथि सामान ल्याए भन्सार तिराउने गरेको छ। त्योभन्दा कम मूल्यबराबरका सामान ल्याउँदा भन्सार नलिने तर सयभन्दा माथि सामान ल्याए भन्सार दरबन्दीअनुसार भन्सार लगाउँदै आएको छ।
यसरी सरकारले नीतिगत निर्णय गरेर सर्वसाधारणले ल्याएको सामान भन्सार तिराउन थालेपछि एकातिर सरकारको ढुकुटीमा आउने रकम पनि बढ्यो भने अर्कातिर नेपालतिरका बजार चलायमान हुन थाले।
भन्सार कार्यालय प्रमुख मणिराम पौडेलका अनुसार सुरु–सुरुका केही दिन भन्सार तिर्नेको लामो लाइन थियो, अहिले विस्तारै घट्दै गएको छ।
‘भन्सारमा नयाँ नियम लगाएको थाहा नहुनेहरू पारि गएर सामान किन्ने, आउँदा भन्सार तिर्नुपर्ने थाहा पाएपछि दोहो¥याएर आउन छाडेका छन्,’ भन्सार प्रमुख पौडेल क्यापिटल नेपालसँग भने, ‘जेठ २० सम्म भन्सार तिर्ने सर्वसाधारणको लाइन थियो। अहिले बिस्तारै लाइन कम हुँदै गएको छ। यसको अर्थ उनीहरू भारतीय बजार गएर सामान किन्नुभन्दा नेपालतिरकै बजार गएको देखिन्छ।’
नेपालले कर लगाउन थालेसँगै नेपालीहरू आफ्नै बजारतिर ‘डाइर्भट’ भएका छन्। जसको प्रत्यक्ष असर भारतीय सिमावर्ती बजारमा परेको छ। नेपाली लक्ष्य गरी खुलेका भारतीय बजार यतिखेर सुनसान बन्दै गएका छन्।
नेपाली आउन छाडेपछि भारतीय व्यापारीहरू नेपालको नीति फेर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन्। नेपालीबाटै उनीहरूको व्यापार अपार भइरहेको थियो। जेठ १६ यता सरकारले नीतिमा कडाई गरेपछि भन्सारको झन्झटिलो व्यवस्था देखेर पनि उनीहण्रू नेपाली बजारतिरै आकर्षित भएका हुन्।
‘एक त भन्सार तिरेर सामान ल्याउँदा नेपालको भन्दा भारतीय सामान महँगो हुन्छ। भन्सारमा हुने अनेक दुःख त्यत्तिकै छ। हिजोका दिनमा भन्सार लाग्थेन। अलिअलि सामान लिन भारतीय बजार गइन्थ्यो,’ भैरहवाका स्थानीय मिलन खनालले भने, ‘भन्सार तिरेर भारतबाट सामान ल्याउनुभन्दा नेपालमै किन्दा धेरै सस्तो पर्छ।’
भन्सार प्रमुख पौडेलका अनुसार अहिले छिटपुटमात्रै पारि (भारत) गएर सामान ल्याउँछन्। जेठ १५ अघि जुन गतिमा सामान किन्न जानेको संख्या थियो, त्यो ९८ प्रतिशत कम भइसकेको छ। ती सबैको सामान किन्ने ठाउँ नेपालकै बजार हुन्।
भारतीय सिमावर्ती सहर सुनौली सुनसान छ। करिब ४ सय पसल रहेको सुनौलीमा हरेक दिन नेपाली ग्राहक खचाखच हुन्थे। सस्तोमा पाउने मानसिकताले दैनिक उपभोग्य वस्तु, कपडालगायत सामग्री किन्न तराईदेखि पहाडी जिल्लासम्मका नेपाली सुनौली बजार पुग्ने गरेका थिए। दैनिक लाखौं र चाडपर्वका बेला दैनिक १ करोडभन्दा बढी कारोबार भन्सारका अधिकारीहरू बताउँछन्।
भैरहवाले भन्सार लिन थालेपछि नेपालतिरको व्यापार वृद्धि भएको छ। पारि जाने स्थानीय उपभोक्ताले यहीँ गुणस्तरीय र सस्तो मूल्यमा सामग्री पाइरहेका छन्।
सिमापारि खाद्यान्न किन्न जाने स्थानीय उपभोक्ताको मनस्थितिमा भारतीय ब्रान्डको छाप बसेको थियो। तर, अहिले ग्राहकको मानसकिता परिवर्तन हुँदै गएको स्थानीय व्यापारी बताउँछन्। सरकारको यो नीतिले नेपालको बजारमा सकारात्मक प्रभाव परेको छ।
बैंकरोडका व्यापारी हरिश सेठियाले मोबाइल र खाद्यान्न व्यापार राम्रो भएको बताए। सुनौलीमा तराईभन्दा पनि पहाडी जिल्लाका ग्राहक बढी हुन्छन्। भैरहवा भन्सारले कडिकडाउसाथ नियम कार्यान्वयन गरेपछि साना पसलदेखि सपिङमलसम्मको व्यापारमा उछाल आएको उनको भनाइ छ।
उपभोक्ताले आवश्यक वस्तु सहजै भन्सारबिना ल्याउन पाउने प्रावधान हटाएपछि सामान खरिद गर्न भारतीय बजार जानेको संख्या पूरै हटेजस्तै भएको छ।
१ सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम बनाएपछि राजस्व वृद्धिमात्रै भएको छैन, नेपाली बजारमा उपभोक्ताको चहलपहल बढेको छ।
भन्सार तिर्नुपर्ने नियमले देशकै दोस्रो ठूलो सीमा नाका बेलहियामा पहिलेको तुलनामा कम चहलपहल भइरहेको छ भने बजार गएकाले पनि अनिवार्य भन्सार तिर्नुपर्दा उपभोक्ताबाटै दैनिक लाखौं रुपैयाँ राजस्व संकलन भइरहेको छ। तर, असार लागेपछि राजस्व उठ्ती कम हुन थालेको तथ्यांक हेर्दा नेपाली भारतीय बजार जान छाडेको देखिन्छ।