काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार अन्तर्गत सुरु गरेको ब्रोडब्याण्ड विस्तारको काम आधा सम्पन्न भएको छ । प्राधिकरणले शुरु तीन बर्षमा १८ प्याकेजको काम ५१ प्रतिशत सम्पन्न भएको हो । उक्त परियोजनालाई चालू आर्थिक वर्षको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य दूरसञ्चार प्राधिकरणको थियो ।
करिब सात अर्ब लगानीको उक्त परियोजना अन्तरगत विभिन्न जिल्लाका स्थानीय तहका कार्यलय, वडा कार्यलय, विद्यालय तथा स्वास्थ संस्थाहरुमा ब्रोडब्याण्ड विस्तारको कामहरु रहेका छन् । देशभर कूल १६ हजार ९४१ स्थानहरुमा इन्टरनेट जडान गर्नुपर्ने परियोजनाको हालसम्म ८ हजार ६८३ स्थानहरुमा कार्य सम्पन्न भएको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ ।
१८ प्याकेज छुट्टयाइएको परियोजनामा ७ सय २३ स्थानीय तहको कार्यलयमा ब्रोडब्यान्ड जडान गरिने छ । त्यससमध्य ३ सय ९९ ओटामा इन्टरनेट जडान कार्य सम्पन्न भईसकेको छ । त्यस्तै ५ हजार ९ सय १३ वडा कार्यलयहरुमध्ये ३ हजार ३ सय २९ कार्यालयमा जडान भईसकेको छ । ५ हजार ८ सय २ विद्यालयमध्ये २ हजार ६ सय ७२ स्कुलमा इन्टरनेट जडान भइसकेको छ । ४ हजार ५ सय ४ स्वास्थ्य संस्थामध्ये २ हजार २८३ ओटामामा इन्टरनेट जडान भईसकेको छ ।
समयमै काम सम्पन्न हुनेमा शंका
२०७३ बाट सुरु गरिएको १८ परियोजना अन्तर्गतको ३ परियोजना टेण्डर सम्झौता भने अझै भएको छैन । काम सम्पन्न गर्नलाई आठ महिना मात्र बाँकी हुदा पनि ३ ओटा परियोजनाको ठेक्का सम्झौता नहुदा समयमै काम सम्पन्न हुनेमा शंका पैदा भएको हो ।
तर, प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले भने बाँकी समयमा ठेक्का प्रकृया सकेर काम सम्पन्न हुने जिकिर गर्छन् । उनी भन्छन् ‘बाँकी आठ महिनामै पनि ठेक्का प्रक्रिया सकेर काम सम्पन्न गर्न सकिन्छ ।’ ग्रामिण दूरसञ्चार शाखाका प्रमुख सुरेन्द्रलाल हाँडाका अनुसार तीनओटै परियोजनाको ठेक्कामा हाल इच्छुकहरुको प्राविधिक तथा आर्थिक मूल्यांकनको काम भईरहेको छ ।
उक्त परियोजनका लागि वल्र्ड लिंक, सुबिसु, भायोनेट, टेक माइण्ड्स र क्लासिक टेकले ठेक्का प्रस्ताव गरेका छन् । ती तीन परियोजनामध्ये एउटामा पाँच जिल्लाको प्याकेज छ । यसमा चितवन, नवलपुर, नवलपरासी, रुपन्देही र कपिलबस्तु रहेका छन् । त्यस्तै दोस्रोमा प्रदेश नम्बर १ का पाँचओटा जिल्ला इलाम, झापा, मोरङ, सुन्सरी र उदयपुर रहेका छन् ।
तेस्रो परियोजना अन्तर्गत पाँच नम्बर प्रदेशका चारओटा जिल्लाहरु गुल्मी, पाप्पा, अर्गखाँची र प्यूठान रहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार कोष अन्तर्गत अगाडी बढाएका ठूला परियोजना मध्ये यो परियोजना पनि एक हो ।