बैतडी। चालू आर्थिक वर्ष २०७९/८० सकिन लाग्दासमेत बैतडीका स्थानीय तहले बजेट खर्च गर्न सकेका छैनन्। यहाँका स्थानीय तहको हालसम्म विकासे बजेट ७९ प्रतिशतमात्रै खर्च भएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीका अनुसार १० स्थानीय तहको १ अर्ब ६९ करोड ४८ लाख रुपैयाँ कूल पुँजीगत बजेटमध्ये ७९ दशमलव ५२ प्रतिशतमात्रै खर्च भएको छ। सबैभन्दा कम मेलौली र धेरै खर्च पुर्चौडी नगरपालिकाले गरेको छ। मैलौलीले ४८ दशमलव ८२ प्रतिशत र पुर्चौँडीले ९१ दशलमव ८९ प्रतिशत विकासे बजेट खर्च गरेका छन्।
पञ्चेश्वर गाउँपालिकाले १२ करोड ५८ लाख पुँजीगत बजेटमध्ये ८८ दशमलव ८१ प्रतिशतमात्रै खर्च गरेको छ। चालूतर्फको ३० करोड २९ लाख रुपैयामध्ये ८३ दशमलव ३६ प्रतिशत खर्च गरेको छ। दोगडाकेदार गाउँपालिकाले १५ करोड ७३ लाख पुँजीगत बजेटमध्ये ८६ दशमलव ९० प्रतिशत खर्च गरेको छ। चालूतर्फ भने ४१ करोड ४७ लाखमध्ये ९२ दशमलव ७० प्रतिशत खर्च गरेको मगरातीले जानकारी दिए।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले १९ करोड ६९ लाख रुपैयाँ विकासे बजेटमध्ये ८६ दशमलव ३९ प्रतिशत र चालूतर्फको ४५ करोड ५२ लाखमध्ये ९५ दशमलव ४२ प्रतिशतमात्र खर्च गरेको छ। सिगास गाउँपालिकाले १७ करोड ६८ लाख पुँजीगत बजेटमध्ये ८४ दशमलव ८१ प्रतिशत खर्च गरेको छ भने चालूतर्फको ३८ करोड ८६ लाख रुपैयाँमध्ये ९२ दशमलव ८८ प्रतिशत खर्च गरेको छ।
प्रमुख मगरातीका अनुसार डिलाशैनी गाउँपालिकाले १७ करोड ५० लाख रुपैयाँ पुँजीगत बजेटमध्ये ८३ दशलमव ३१ प्रतिशत खर्च गरेको छ। चालूतर्फको ३२ करोड ३९ लाख रुपैयाँमध्ये ९१ दशमलव ८९ प्रतिशत खर्च गरेको छ। सुर्नया गाउँपालिकाले ११ करोड ४९ लाख रुपैयाँ पुँजीगत बजेटमध्ये ८१ प्रतिशतमात्रै खर्च गरेको छ। चालूतर्फको ३६ करोड १८ लाख रुपैयाँमध्ये ९३ दशमलव ६७ प्रतिशत खर्च गरेको छ।
यस्तै शिवनाथ गाउँपालिकाले १४ करोड ११ लाख पुँजीगत बजेटमध्ये ७६ दशमलव ७७ प्रतिशत तथा चालूतर्फको २५ करोड ५५ लाखमध्ये ९१ प्रतिशत खर्च गरेको कार्यालयले जनाएको छ। पाटन नगरपालिकाले २० करोड १८ लाखमध्ये ७० दशमलव ७४ प्रतिशत पुँजीगत खर्च गरेको छ। चालूतर्फ ४८ करोड २९ लाखमध्ये ८८ दशमलव ८५ प्रतिशत खर्च गरेको छ।
यसैगरी पुर्चौडी नगरपालिकाले चालूतर्फको ४७ करोड १० लाखमध्ये ४३ करोड ८० लाख अर्थात् ९३ प्रतिशत खर्च गरेको छ। मेलौली नगरपालिकाले ४८ दशमलव ८२ प्रतिशतमात्रै पुँजीगत बजेट खर्च गरेको छ। उसले १९ करोड ३० लाखमध्ये नौ करोड ४२ लाख रुपैयाँमात्र खर्च गरेको छ। यस्तै नगरपालिकाले चालूतर्फको ३६ करोड ३७ लाख रुपैयाँमध्ये ३१ करोड ३१ लाख अर्थात् ८६ दशमलव ०९ प्रतिशत खर्च गरेको छ।
नगरप्रमुख भीमबहादुर चन्दले कर्मचारी अभाव र भुक्तानी प्रक्रिया ढिला गरिँदा विकासे बजेट खर्च गर्न नसकिएको बताए। उनले भने, ‘कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको सरुवाले विकासे बजेट कम खर्च भएको हो। भुक्तानीको प्रक्रिया जारी नै रहेकाले पुँजीगत खर्च बढ्छ।’