काठमाडौं। मेटाले ट्विटरजस्तै नयाँ प्लेटफर्म सार्वजनिक गर्ने भएको छ। मेटाले थ्रेड्स नामक इन्स्टाग्राममा आधारित ट्विटरजस्तै प्लेटमर्फ यसै साता सार्वजनिक गर्न लागेको हो।
यसअघि नै इन्स्टाग्राममा आधारित ट्विटरजस्तै एप निर्माण गर्ने घोषणा गरेको मेटाले यही बिहीबार ‘थ्रेड्स’ नामक नयाँ उक्त प्लेटफर्म सार्वजनिक गर्नेछ। यो एप गुगल प्लेस्टोर र एप्पल एपस्टोर दुवैमा उपलब्ध हुने बताइएको छ।
जुलाई १ मा केही समयका लागि खेलाडी, फिल्म निर्मातालगायत सीमित व्यक्तिलाई कम्पनीले सो एप प्रयोग गर्न दिएको थियो। उक्त माइक्रोब्लगिङ एप आफ्नो इन्स्टाग्राम प्रयोगकर्ताका डेटामा आधारित रहेर निर्माण गरिएको र त्यसमा ५ सय अक्षरसम्मका पोस्ट, तस्बिर र भिडियो सेयर गर्न मिल्ने बताइएको छ।
यस प्लेटफर्ममा टेक्स्टमा आधारित कुराकानी गर्न, आफूलाई मन लागेका विषयमा बोल्न, आफ्नो रुची मिल्नेहरूसँग जोडिन र आफ्ना विचार संसारलाई सुनाउन मिल्छ। साथै यस एपमा आफ्नो रुचीको आधारमा फिडमा के आउँछ भनेर डिजाइन गर्न मिल्छ। सो एपमा पोस्टहरू २४ घन्टापछि आफै हराउने र आफ्नो पोस्ट कसले हेर्न मिल्छ भनेर तोक्न पनि सकिने सुविधा हुने उल्लेख छ।
हालै इलन मस्कको ट्विटरले अकाउन्ट भेरिफाइड नभएका प्रयोकर्ताले प्रतिदिन ६ सय ट्विटमात्रै पढ्न पाउने सीमा निर्धारण गरेको छ। सो सीमाअनुसार भेरिफाइड अकाउन्ट भएका प्रयोगकर्ताले एक दिनमा ६ हजार ट्विट पढ्न पाउने र नयाँ अकाउन्ट भएका प्रयोगकर्ताले भने प्रतिदिन ३०० ट्वीटमात्र पढ्न पाउने व्यवस्था छ।
तर, प्रतिदिन ट्विट पढ्न पाउने सीमिततालाई बढाएर भेरिफाइड भएका प्रयोगकर्ताले प्रतिदिन ८ हजार ट्विट र भेरिफाइड नभएका प्रयोगकर्ताले प्रतिदिन ८ सय ट्विट पढ्न पाउने व्यवस्था लागू गर्ने तयारीमा ट्विटर छ। केही समयअघि ट्विटरले ब्लु टिक (भेरिफाइड) सम्बन्धी नयाँ व्यवस्था पनि ल्याएको थियो।
ट्विटरले अप्रिल २१ बाट पैंसा नतिरेका प्रयोगकर्ताको ‘ब्लु टिक’ हटाउन सुरु गरेको थियो। ट्विटरमा यसअघि फ्रि रहेको भेरिफिकेसन ‘ब्लु टिक’ पाउन इलन मस्कले कम्पनी खरिद गरेपछि भने शुल्क तिर्नुपर्ने नीति ल्याएका थिए। त्यसअनुसार कम्पनीले २० अप्रिलको अन्तिम मितिपछि पैसा नतिर्ने अकाउन्टको ‘ब्लु टिक’ हटाउन सुरु गरेको थियो।
यसको सुरुवात भएसँगै ‘ब्लु टिक’ प्राप्त गर्न प्रयोगकर्ताले मासिक ८ डलर तिर्नुपर्ने व्यवस्था छ। वार्षिक तिर्नेका लागि एकमुस्ट १ सय १४ अमेरिकी डलर (मोबाइल भर्सन) लाग्छ। यसमा १२ प्रतिशत छुट दिइएको छ, तर छुटअघि १ सय ३२ डलर पर्ने देखिन्छ। मासिक तिर्नेका लागि भने ११ डलर लाग्छ। त्यस्तै डेस्टर्ब भर्सनमा १२ प्रतिशत छुट दिएर ९६ अमेरिकी डलरमा ८४ डलर वार्षिक तिर्दा हुन्छ भने मासिक तिर्दा ८ डलर लाग्छ।
पैसा तिरेर ब्लु टिक लिनेले ट्विटरलाई इडिट गर्न मिल्ने, लामो शब्दको विषयवस्तु राख्न मिल्ने जस्ता सुविधा प्राप्त गर्न सक्छन्। ट्विटरले सरकारी संस्था एवं अधिकारीलाई खैरो रङको, अन्यलाई निलो रङको र व्यापारिक अकाउन्टलाई सुनौलो रङको ‘ब्लु टिक’ उपलब्ध गराउँछ। मेटाले सार्वजनिक गर्न लागेको नयाँ प्लेटफर्मले ट्विटरलाई असर पुर्याउने अनुमान छ।