काठमाडौं। कसैले आफ्नो ६ महिने बच्चा काखमा च्यापेर नयाँ व्यवसाय सुरु गर्यो भन्ने सुन्दा असहज लाग्न सक्छ। त्यसमाथि नेपालमा अवसर नपाएर तथा उद्यम गर्ने वातावरण नभएको भन्दै दिनहुँ हजारौं युवा बाहिरिएको अवस्थामा यस्तो व्यक्तिबाट व्यवसाय सुरु हुनु आफैंमा कठिन तर सकारात्मक विषय हो।
बजार अवस्था राम्रो नभएको भन्दै आफ्ना व्यवसायका सटर बन्द गर्दै हिँड्नेहरूको जमातमा काठमाडौंकी अंशु प्रधानको ‘मम्मी एन्ड जेमी’ व्यवसायले भने लोकप्रियता पाउँदै गएको छ। मम्मी एन्ड जेमीमा गर्भवती महिला, आमा र जन्मेदेखि १० वर्ष उमेरका बालबालिकाका लागि उच्च गुणस्तरका कपडाहरू उत्पादन हुन्छ।
मम्मी एन्ड जेमीले गर्भवती महिलाको बदलिँदो शरीरको आकार र स्तनपानका विशेषतालाई सहयोग गर्ने गर्भावस्थाका लागि उपयुक्त कपास, रेयन, रिब र अन्य कपडा तयार गरी बिक्री गर्दै आएको छ। यस व्यवसायले सतप्रतिशत फ्याब्रिक्स, हेम्प, अर्गानिक कपास, लेनिन र प्राकृतिक फाइबरबाट बनेका कपडाका सामग्री बनाउने काम गर्छ, जुन बच्चाको संवेदनशील छालाका लागि उत्तम र आमाका लागि उच्च गुणस्तरका मानिन्छन्।
‘मम्मी एन्ड जेमी’ कसरी जन्मियो?
अंशुले मम्मी एन्ड जेमी सुरु गर्नुअघि बुटिकमा काम गर्थिन्। बच्चा जन्मिएपछि बुटिकमा काम गर्न उनलाई केही असहज भयो। बुटिकमा काम गर्न र त्यहाँबाट सेवा प्रदान गर्न आफैं सक्रिय भएर लाग्नुपर्ने हुँदा उनले आफ्नो बच्चालाई समय दिन नभ्याउने अवस्था बन्यो। त्यसपछि आफैंले केही व्यवसाय सुरु गर्ने सोचिन्।
उनले आफैं गर्भावस्थामा रहँदा आफूले चाहेको र सहज किसिमका कपडा नपाउने समस्या भोगेकी थिइन्। हतपत कपडा नै नपाउने र पाए पनि एकदमै महँगो पर्ने समस्या भोगेकै कारण उनको मनमा आफैंले यस्तो कपडा तयार गर्ने सोच पलायो। गर्भावस्थामा उपयुक्त कपडा नहुँदा महिलालाई बाहिर हिँड्न असहज हुने अवस्था अन्त्य गर्न उनी आफैंले त्यस्ता कपडा तयार गर्ने सोचले मम्मी एन्ड जेमी व्यवसाय सुरु गरिन्।
गर्भावस्थामा कसरी राम्रो र सुहाउँदो हुन सकिन्छ? त्यो कुरा मध्यनजर गरी उनले सुरु गरेको मम्मी एन्ड जेमीले आधुनिक फेसन डिजाइनसाथ निकै सजिला कपडा तयार गर्ने गरेको छ। अंशुले सुरु गरेको कपडा गर्भावस्था र बच्चा जन्मिएर शरीर परिवर्तन भइसकेको अवस्थामा पनि लगाउन मिल्ने किसिमका छन्।
‘बच्चा जन्मिएपछि बच्चाको कपडा लिन पनि हाम्रोमा सहज र सुलभ हुन्छ,’ अंशुले क्यापिटल नेपालसँग भनिन्, ‘कपडा ड्यामेज भए र साइज नमिले साट्न मिल्ने सुविधा दिँदै आएका छौैं। ग्राहकको मागअनुसार डिजाइनका कपडा उपलब्ध गराइरहेका छौं।’
४ लाखमा सुरु व्यवसाय
अंशुले मम्मी एन्ड जेमीका लागि सुरुमा करिब ४ लाख रुपैयाँ लगानी गरेकी थिइन्। ‘बच्चा ६ महिनाको हुँदा नै मैले यो व्यवसाय सुरु गरेकी थिएँ। यसलाई मैले विश्वव्यापी नै बिक्री गर्ने लक्ष्य राखेकी छु,’ अंशु भन्छिन्, ‘नेपालमा मात्रै नभएर निर्यात गर्ने हिसाबमा दिगो हुने किसिमका गुणस्तरीय उत्पादन गरिरहेका छौं।’
उनले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्ने लक्ष्यसाथ गुणस्तरीय सामग्री तयार गरेको बताइन्। ‘नेपाली प्रडक्ट पनि अन्तर्राष्ट्रिय बजारमा चिनाउन सकिने भएकाले हामी त्यसमा लागि परेका हौं,’ उनी भन्छिन्, ‘मेड इन नेपाल प्रडक्ट प्रमोसन गर्ने हिसाबले सामग्र उत्पादन भइरहेका छन्।’
उनले यसबाट यहाँका स्थानीय आपूर्तिकर्तालाई पनि सहयोग पुग्ने बताइन्। त्यसबाट नेपाललाई नै फाइदा पुग्ने उनको भनाइ छ। अंशुले कपडा प्रयोग गर्ने र तयार गर्ने कममा नेपालमै भएका कपडा उद्योगसँग सहकार्य गरेर कपडा उत्पादन गरिरहेकी छन्।
बजारीकरण गर्न सामाजिक सञ्जाल
अंशुले तयार गरेका सामान अनलाइन प्लेटफर्म प्रयोग गरेर बिक्री गर्दै आएकी छिन्। उनका प्रडक्ट इन्स्टाग्राम, फेसबुक, टिकटकलगायत प्लेटफर्ममा उपलब्ध छन्, जसबाट नै उनको अधिकांश व्यापार हुने गरेको छ।
‘बच्चा सानो छ, बच्चालाई पनि समय दिनुपर्ने हुन्छ र आफूले पनि कामलाई निरन्तरता दिने सोचसाथ काम गरिरहेकी छु,’ अंशुले भनिन्, ‘त्यसैले अहिले अनलाइन व्यापारलाई प्राथमिकता दिँदै आएकी छु।’
गर्भावस्थामा तथा कलिलो बच्चा भएको अवस्थामा कपडा किन्न जान कठिन हुने हुँदा मम्मी एन्ड जेमीले होमडेलिभरी सुविधा दिने सोच बनाएको छ। ‘ग्राहक प्रतिक्रिया एकदमै राम्रो छ भने माग पनि निकै राम्रो मात्रामा भइरहेको अवस्था छ,’ अंशु भन्छिन्, ‘हाम्रा उत्पादनप्रति ग्राहक सन्तुष्ट छन्।’
मम्मी एन्ड जेमीले नेपालमा बनेको प्राकृतिक फाइबरबाट बच्चाको कपडा बनाउने गर्छ। अर्गानिक कपास प्रयोग गरेर कपडा तयार गर्ने भएकाले स्वास्थ्यका दृष्टिले पनि निकै उपयोगी रहेको उनको भनाइ छ। सात–आठ महिना अघिबाट सुरु गरेको व्यवसाय भएकाले यसलाई थप सुधार गर्दै लैजाने उनले बताइन्।