काठमाडौं। नासाले मंगल ग्रहमा पठाएको इन्ज्युनिटी हेलिकोप्टर करिब दुई महिनापछि पुनः सम्पर्कमा आएको छ। नासाका अनुसार इन्ज्युनिटीसँग रोबोटिक पार्टनर पर्सिभरेन्स रोभरसँग जुन २८ मा सम्पर्कमा आएको हो।
पृथ्वीबाहेक अन्य ग्रहमा उड्ने पहिलो यानको रूपमा इतिहास रचेको यस इन्ज्युनिटीसँग गत २६ अप्रिलदेखि सम्पर्क टुटेको थियो। मंगल ग्रहमा पर्सिभरेन्स रोभरसँगै त्यहाँको जेजिरो क्रेटरमा १८ फेब्रुअरी २०२१ मा अवतरण भएको यो हेलिकोप्टरलाई नासाले सन् २०२० जुलाई ३० मा पठाएको थियो।
‘हेलिकोप्टरले अहिले अन्वेषण गरिरहेको जेजिरो क्रेटरको भाग धेरै असहज छ। जसले सम्पर्क टुट्ने सम्भावना बढी बनाउँछ,’ दक्षिणी क्यालिफोर्नियामा नासाको जेट प्रोपल्सन प्रयोगशालाका इन्जेन्युइटी टोलीका प्रमुख जोश एन्डरसनले एक विज्ञप्तिमा भनेका छन्।
‘हाम्रो लक्ष्य भनेको इन्ज्युनिटीभन्दा अगाडि पर्सिभरेन्ससँग सम्पर्क राख्नु हो, जसमा कहिलेकाहीँ अस्थायीरूपमा सम्पर्कभन्दा बाहिर धकेलिन्छ,’ एन्डरसनले भनेका छन्, ‘हामी इन्ज्युनिटीसँग सम्पर्कको दायरमा फर्कन र उडान ५२ को पुष्टि प्राप्त गर्न उत्साहित छौं।’
इन्ज्युनिटी आफ्नो ५२औं उडान भरेर अवतरण हुने क्रममा पर्सिभरेन्स रोभरसँग सम्पर्क टुटेको थियो। फ्लाइट ५२ मा यो हेलिकोप्टरले ३ सय ६३ मिटरसम्म उडान गर्दै १ सय ३९ सेकेन्ड चलेको थियो। ६३ दिनसम्म सम्पर्क टुटे पनि हेलिकोप्टरको अवस्था सामान्य रहेको नासाले जनाएको छ। यो हेलिकोप्टर तयार गर्नका लागि नासाले ८५ मिलियन डलर (करिब ११ अर्ब करोड नेपाली रुपैयाँ) खर्च गरेको छ।
कार्बन फाइबरका ४ वटा ब्लेड रहेको यो हेलिकोप्टरको पंखा साधारण हेलिकोप्टरभन्दा धेरै बढीले घुम्ने गर्छ। इन्ज्युनिटीले मंगल ग्रहमा आफ्नो पहिलो उडान ३० सेकेन्ड गरेको थियो। मंगल ग्रहमा ३० दिनसम्ममात्रै मिसन हुने भनिए पनि इन्ज्युनिटीले त्योभन्दा धेरै फ्लाइट गरिसकेको छ।
हेलिकोप्टरलाई रिपोजिसन गर्नु र पर्सिभरेन्सको विज्ञान टोलीका लागि फोटो खिच्नु यसको मुख्य लक्ष्य रहेको नासाका अधिकारीहरूले बताएका छन्। हेलिकोप्टरले आफ्नो प्राथमिक मिसन चाँडै पूरा गरी मंगल ग्रहमा हवाई अन्वेषण सम्भव छ भनेर देखाउन डिजाइन गरिएको पाँच उडान अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। यसपछि हाल इन्ज्यनिटी विस्तारित मिसनमा लागेको छ।