काठमाडौं। विद्युतीय ट्याक्सीको १२ अर्बको बजारमा मुलुकका प्रमुख व्यावसायिक घराना सिप्रदी ट्रेडिङ र चौधरी ग्रुपबीच प्रतिस्पर्धा हुने भएको छ।
चौधरी ग्रुप (सिजी) अन्तर्गत सिजी मोटर्सले टाटाको एकाधिकार तोड्दै आफ्नो ब्रान्ड ‘निटा भी’ लाई ट्याक्सी प्रयोजनका लागि बेच्न थालेपछि यी दुई कम्पनीको प्रतिस्पर्धा हुने भएको हो।
सिजी मोर्टसले चिनियाँ ब्रान्ड होजोन अटो न्यु इनर्जी अटोमोबाइल कम्पनी लिमिटेडको निटा भी विद्युतीय गाडीलाई ट्याक्सी प्रयोजनका लागि बिक्री गर्न थालिसकेको छ।
सिजी मोर्टसले एक वर्षदेखि निटा भी नेपालमा बिक्री गर्दै आइरहेको छ। कम्पनीले हालसम्म करिब ४ सय युनिट निटा भी बिक्री गरिसकेको छ।
सिजी मोटर्सले गुलाबी रङका गाडीमात्र ट्याक्सीका लागि दिन लागेको हो। निटा भी निजी गाडीका रूपमा पनि धेरै बिक्री भएका कारण कम्पनीले ट्याक्सीका लागि गुलाबी रङका मात्र छुट्ट्याएको हो।
सिजीले ट्याक्सीका लागि निटा भी उतारेपछि टाटाको वर्चश्व भने तोडिएको छ। कम्पनीले निटा भीको मूल्य ३८ लाख ९९ हजार निर्धारण गरेको छ।
यो गाडीले फुल चार्जमा ३ सय ८० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। यसमा ३८.५४ किलोवाट आवरको सिएटिएल लिथियम आयन ब्याट्री र ७० किलोवाटको मोटर प्रयोग गरिएको छ।
१ सय ७० मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएको निटा भीले अधिकतम १ सय ६० एनएम टर्क जेनेरेट गर्छ। १४र६ इन्चको इन्टेलिजेन्ट कन्ट्रोल स्क्रिन, पाँच सिट क्षमता र ३ सय ३५ लिटर बुट स्पेस छ।
त्यस्तै सिप्रदीले ट्याक्सीका रूपमा बजारमा उतारेको टाटा ‘एक्सप्रेस टी’ मा २६ किलोवाट आवरको ब्याट्री प्याक र ५५ किलोवाट क्षमताको मोटर छ। यसले ३० किलोवाट पावर र १ सय ७० एनएम टर्क जेनेरेट गर्छ।
यो गाडीले सिंल चार्जमा ३ सय ६ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। एक्सप्रेस टीमा ईबिडीसहितको एयरब्याग, रिभर्स पार्क असिस्ट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, हर्मनको ८.८९ सेन्टिमिटर कनेक्ट नेक्स्ट इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रोनिक पावर स्टेयरिङ, पावर विन्डोज, ब्लुटुथ कनेक्टिभिटी लगायत फिचर्स छन्।
विद्युतीय ट्याक्सीका प्रतिस्पर्धा बढ्नाले ट्याक्सी चालक र व्यवसायीलाई राहत पुग्ने बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका अध्यक्ष दीपक नेपाल बताउँछन्।
‘कुनै एउटा कम्पनीको एकाधिकार भयो भने मूल्य मनलाग्दी हुन्छ। धेरै कम्पनीको प्रतिस्पर्धा भयो भने व्यवसायीलाई केही राहत हुन्छ भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने, ‘अहिले विद्युतीय सवारीसाधनका लागि पूर्वाधार तयार भइनसकेको अवस्थामा पेट्रोलियम र विद्युतीय दुवै स्वेच्छिक खरिद गर्न पाउने भयो भने सबैका लागि राम्रो हुन्छ।’
१२ अर्बकोे प्रतिस्पर्धा
बागमती प्रदेशको नीतिबमोजिम यी ट्याक्सी सट्टा भर्ना गर्दा अनिवार्य विद्युतीय ट्याक्सी लिनुपर्छ। नेपालमा उपलब्ध विद्युतीय ट्याक्सीको ३७र३८ लाख पर्छ।
हाल बागमती प्रदेशमा मात्रै करिब ३ हजार ५ सय ट्याक्सीको २० वर्षे अवधि सकिसकेको छ। एउटा ट्याक्सीको ३७ लाखले हिसाब गर्दा अब केही समयमै बागमती प्रदेशमा मात्रै १२ अर्ब ९५ करोड मूल्यबराबरको ट्याक्सी कारोबार हुने देखिन्छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७४ चैत १ देखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधनमाथि प्रतिबन्ध लगाएको थियो।
२०७२ चैत १ मा बसेको मन्त्रिपरिषद बैठकले समृद्ध नेपालका लागि सडक, रेल तथा यातायात विकासको पाँच वर्षे रणनीतिक कार्ययोजनाअन्तर्गत २० वर्ष पुराना सम्पूर्ण सार्वजनिक यातायात दुई वर्षभित्र पत्रु तथा विस्थापन गर्नुपर्ने निर्णय गरेको थियो।
त्यस्तै बागमती प्रदेश सरकारले २०८५ सालभित्र पेट्रोलियम सार्वजनिक सवारीसाधनलाई विद्युतीयले विस्थापित गर्ने लक्ष्य लिएको छ। सोही लक्ष्यबमोजिम सरकारले २० वर्ष कटेका ट्याक्सी, निलो माइक्रो र ग्यास ट्याम्पुलाई विद्युतीय ट्याक्सीमा मात्र सट्टाभर्ना गर्ने निर्णय गरेको थियो।