काठमाडौं। नेपाल राष्ट्र बैंकको १० प्रतिशत लगानी रहेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एचसिएचएल) ले शक्तिको आडमा बैंक तथा वित्तीय संस्थामाथि हस्तक्षेप सुरु गरेको छ।
बैंक तथा वित्तीय संस्थाको ९० प्रतिशत र राष्ट्र बैंकको १० प्रतिशत सेयर लगानीमा स्थापना भएको एनसिएचएल आफ्नो उद्देश्यविपरीत गतिविधिमा उत्रिएको छ।
केन्द्रीय बैंकले द्रुत गतिमा चेक क्लियरिङ गर्न एनसिएचएसल स्थापना गरेको हो। केन्द्रीय बैंकले आफ्नो कामको बोझ कम गर्न सेयर राखेर एनसिएचएल स्थापना गरेको हो।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) अनुमतिपत्र प्राप्त संस्था हो। भुक्तानी प्रणालीमा काम गर्नुपर्ने संस्था विद्युतीय माध्यममार्फत भुक्तानीसम्बन्धी कारोबार, वस्तु र सेवाको बिल भुक्तानी, उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध रहने काममा लागेको छ।
एनसिएचएलले हरेक बैंकलाई फोन गरेर आफूहरुको नेपाल पे सिस्टममा राख्न चर्को दबाब दिइरहेको छ। कतिपय बैंकले एनसिएचएलको नेपाल पे राखिसकेका छन्।
एनसिएचएलबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूलाई फोन गरेर अनिवार्य नेपाल पे मोबाइल एप्लिकेसनमा राख्न निरन्तर दबाब दिइरहेका छन्। बैंकहरूले पहिले नै फोन पे राखिसकेका छन्। एनसिएचएलको दबाब थेग्न नसक्ने भएकाले नेपाल पे पनि राख्न थालेका छन्। जबकि, नेपाल पेका लागि क्युआर कोड लिने भेन्डर नै तयार भएका छैनन्।
एनसिएचएलले भनेको मानेन भने केन्द्रीय बैंकमा एनसिएचएलका पदाधिकारी सहयोग माग्न पुग्छन्। केन्द्रीय बैंकबाट भन्न लगाउँछन्। एनसिएचएलका अध्यक्ष नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी हुन्।
पिएसपीको लाइसेन्स केन्द्रीय बैंकबाट प्राप्त हुन्छ। केन्द्रीय बैंकले एनसिएचएललाई पनि पिएसपीको लाइसेन्स दिएको छ। एनसिएचएलमा केन्द्रीय बैंककै लगानी छ। आफैंले लगानी गरेको संस्थामाथि आगामी दिनमा केही समस्या आइहाल्यो भने कसरी कारबाही गर्छ भन्ने गम्भीर प्रश्न उठ्ने गरेको छ।
केन्द्रीय बैंकले अर्कै उद्देश्य प्राप्तिका लागि एचसिएचएल स्थापना गरेको हो। चेक क्लियरिङ एनसिएचएलको प्रमुख कार्य हो। तर, अहिले ग्राहक खोज्दै हिँड्नसमेत थालेको छ।
एक बैंकरका अनुसार ‘तपार्इंहरू फोन पे राख्ने, केन्द्रीय बैंकको लगानी भएको संस्थाले स्थापना गरेको नेपाल पे नराख्ने?’ भन्दै एनसिएचएलबाट दबाबमुलक फोन आउन थालेपछि धमाधम बैंकहरूले नेपाल पे राख्न थालेका छौं।
एनसिएचएल नियामकको लगानी भएको संस्था हो। एनसिएचएसलसँग निहुँ खोज्नु भनेको एक हिसाबले नियामकसँग निहुँ खोजेजस्तै हुने भएकाले नेपाल पे राख्न थालेको ती सिइओले बताए।
नेपाल पेले आफ्नो पूर्वाधार केही बनाएको छैन। अहिले मोबाइल एप्लिकेसनमा फोन पे र नेपाल पे देखिन्छ। बजारमा पेमेन्टका लागि पूर्वाधार नबनाई बैंकलाई नमस्ते पे हाल भनेर दबाब दिँदा बैंकको थप खर्चसमेत बढेको सिइओहरूको भनाइ छ। बैंकको मोबाइल बैंकिङ एप्लिकेसनमा नमस्ते पे राख्नका लागि बैंकले थप लगानी गर्नुपर्छ।
‘जुन काम पेलेर सहजै गराउन सकिन्छ, त्यतातिर एनसिएचएल सफल भएको छ,’ एक बैंकरले भने, ‘तर, नमस्ते पेको पूर्वाधार निर्माण गरिएको छैन।’
केन्द्रीय बैंकको लगानी भएकै कारण बैंकमाथि एनसिएचएलले रवाफ जमाइरहेको छ। नेपाल पे सञ्चालन गर्न पिएसओ लाइसेन्स लिनुपर्छ। तर, पिएसओहरूले आफैं ग्राहक खोज्न पाइँदैन। तर, नेपाल पेले आफ्नै पिएसओको लाइसेन्स भएर पनि पिएसपीको काम गरिरहेको पाइएको हो। कनेक्ट आइपिएस मोबाइल एप बनाएर काम गरिरहँदा पनि नियामक मौन छ।
राष्ट्र बैंकले एनसिएचएलमार्फत व्यवसाय गरिरहेका बैंकहरूले आरोप लगाएका छन्। आफ्नै कम्पनीलाई व्यवसायका लागि अनुमति दिँदै र सोही कम्पनीमा आफू पनि लगानी गर्ने काम भइरहेको छ। यसरी नियमन गर्ने संस्था नै व्यवसाय गर्न थालेपछि नियामकमाथि प्रश्न उठ्छ।
एनसिएचएलका सिइओ निलेसमान सिंह प्रधानलाई यसबारे सोध्दा प्रतिक्रिया दिन चाहेनन्।