काठमाडौं। सनराइज बैंक अध्यक्ष मोतिलाल दुगडले बैंक तथा वित्तीय संस्था सुशासन बर्खिलाप एकपछि अर्काे काम गरिरहे पनि त्यसलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘ढाकछोप’ गर्दै आइरहेका छन्।
गभर्नर अधिकारीको साथ पाएको भन्दै व्यवसायी दुगडले पनि लामो समयदेखि तारन्तार बैंक तथा वित्तीय संस्था सुशानविरुद्ध काम गरिरहेका छन्।
नेपालबाट भारतमा गैरकानुनी लगानी गरेर त्यहाँका एक दर्जन बैंक तथा वित्तीय संस्थाबाट झन्डै २० अर्ब रुपैयाँ (१२ अर्ब भारु) बैकिङ घोटालामा संलग्न विषय सार्वजनिक हुँदा पनि गभर्नर अधिकारीले पुल्पुल्याउन छाडेका छैनन्। गभर्नर अधिकारी दुगडको भित्री बचावटमा लागिरहेका छन्।
लक्ष्मी बैंकमा ३ अर्ब रुपैयाँ ऋण भए पनि मर्जपछि बोर्ड सञ्चालक बन्न राष्ट्र बैंकले दुगडलाई ‘ग्रिन सिग्नल’ दिएको थियो। मर्जको सुविधाअनुसार दुई वर्षसम्म ऋण तिरे हुने वा सार्न मिल्ने भए पनि दुगडको ३ अर्ब बढी ऋण भएकाले स्वार्थ बाझिँदा बाझिँदै गभर्नर अधिकारीले रोकेनन्।
दुगड बाउछोराको कम्पनी विवेक अटोमोबाइल्सले महालक्ष्मी विकास बैंकको ५० लाख ऋण नतिरेपछि बैंकले उक्त कम्पनीका सबै बैंक खाता रोक्का राख्ने परिपत्र गर्दै कालोसूचीमा राखेको थियो। तर, सनराइज बैंक अध्यक्ष दुगड यो विषयमा पनि जोगिँदै आएका छन्।
दुगड आफू बैंक अध्यक्ष हुने तर आफूमातहतको ‘जोन डियर ट्याक्टर’ कम्पनीमा ऋण उपलब्ध गराएर फाइदा लिएको विषयमा पाँच महिनाअघि राष्ट्र बैंक अनुगमन संयोजक शिव रेग्मीले प्रतिवेदन बनाएका थिए। तर, गभर्नर अधिकारीले दुगडलाई कारबाही हुनबाट जोगाउँदै आएका छन्।
राष्ट्र बैंक अनुगमन संयोजक रेग्मीले सन् २०२३ फेब्रुअरी ७ मा सनराइज बैंक अनुगमन गरेका थिए। ‘आफ्नो व्यक्तिगत व्यवसायको फाइदामा सनराइज बैंक र एमभी दुगड गु्रपका अध्यक्ष मोतिलाल दुगडले स्वार्थ बाझिने काम गरेको’ रेग्मीले राष्ट्र बैंकमा बुझाएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनका अनुसार ४१ वटा भेहिकल लोनमा बर्दिवास, मिर्चैया, र लहानको सनराइज बैंक शाखाबाट ३७ वटा जोन डियर ट्याक्टरमा लगानी भएको, चारवटा ऋण तीन पांग्रे ‘पियागो’ ब्रान्डमा लगानी भएको भेटिएको हो। ती दुवै ब्रान्ड दुगड आफैंले बेच्ने ब्रान्ड भएको पनि प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै काठमाडौं कालिकास्थान शाखाबाट आफैंले बेच्ने ‘भेस्पा’ र ‘एप्रिलिया’ स्कुटरमा लगानी गरेर स्वार्थ बाझिने काम गरेको पनि रेग्मीको प्रतिवेदनमा उल्लेख छ।
दुगड आफूले एमभी दुगड ग्रुपबाट तलब उपलब्ध गराउने कर्मचारी दीपक नेपाललाई बैंक सञ्चालक बनाएको आरोप राष्ट्र बैंकले नै लगाएको छ।
दुई वर्षअघि विज्ञ सञ्चालक ओमकृष्ण जोशीले सनराइज बैंक सञ्चालकबाट राजीनामा गरेका थिए। तर, उनको ठाउँमा दुगडले नै नयाँ बोर्ड सञ्चालक नियुक्त गरेनन्। उक्त घटनामा पनि गभर्नर अधिकारीले दुगडलाई नै साथ दिए।
सनराइज बैंकको ४०० र ४०५औं बोर्ड बैठकको निर्णयको पारदर्शितामा पनि राष्ट्र बैंक आफैंले प्रश्न उठाएको छ। यही निर्णयअनुसार बैंक कर्मचारी अपछ यादव ‘डिसिइओ’ (डेपुटी चिफ एक्जुकेटिभ अफिसर) मा नियुक्त भएका थिए।
हाल सनराइजका ६ जना सञ्चालक रहेको बोर्डको बहुमतले ‘अध्यक्ष मोतिलाल दुगडको निरन्तर गल्ती र भारतमा गरेको बैकिङ घोटालाले सनराइज बैंकलाई समेत असर पारेको’ भन्दै राजीनामा मागेपछि गभर्नर अधिकारीको निर्देशनमा आज आइतबार बिहान १० बजे राष्ट्र बैंक बोलाएर ‘एकअर्काले उजुरी गर्ने र हटाउने काम नगर्ने’ भन्दै ‘सहमति’ गराइ राष्ट्र बैंकले दुगडकै साथ दिएको एक सञ्चालकले जानकारी दिए।
‘मर्जरको अन्तिम समयमा विवाद नगर्ने भन्दै राष्ट्र बैंकका उच्च अधिकारीसहितको बैठकमा सनराइजका सञ्चालकहरूलाई दबाब दिइयो,’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा सनराइजका ती सञ्चालकले क्यापिटल नेपालसँग भने, ‘हामी सबैलाई बिहान राष्ट्र बैंक बोलाइएको थियो। अध्यक्षको बदमासीको कुरा भन्दा पनि मर्जका बेला विवाद नगर्ने भनेर पो सम्झाइयो।’
जति गल्ती र संस्थागत सुशासनविरुद्ध काम गरे पनि सनराइज बैंक अध्यक्ष दुगडलाई गभर्नर अधिकारीले बचाउँदै आएका छन्।
सनराइज बैंकमा अध्यक्ष मोतिलाल दुगड तथा सञ्चालकहरूमा बच्छराज तातेर, मालचन्द दुगड, शैलेन्द्र गुरागाईं, शारदा शर्मा र दीपक नेपाल सम्मिलित ६ सदस्यीय सञ्चालक समिति छ।
एमभी दुगड ग्रुप तथा सनराइज बैंक अध्यक्ष दुगड र उनका छोरा विवेकले नेपालबाट गैरकानुनीरूपमा भारतमा लगानी गरेको यसअघि नै सार्वजनिक भइसकेको छ।
दुगड बाउछोराले भारत कोलकातामा कोहिनुर स्टिल प्रालि र कोहिनुर पल्प एन्ड पेपर प्रालिका नाममा नेपालबाट गैरकानुनी लगानी पुर्याएको भेटिएको हो। दुई कम्पनीमा दुगड परिवारले भारतमा रहेका नजिकको नाता पर्ने आफन्तसँग मिलेर गैरकानुनी लगानी गरेका हुन्।
दुई कम्पनीमा एक दर्जन बढी बैंकबाट १२ अर्ब भारु ऋण लिएर नतिरी कालोसूचीमा परेपछि दुगड परिवारले भारतमा गैरकानुनी लगानी गरेको खुलेको थियोे।
नेपालको कानुनअनुसार विदेशमा नेपालीले लगानी गर्न बन्देज छ। विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१, संशोधन २०७४ ले नेपाली नागरिकले विदेशमा कुनै पनि प्रकारले लगानी गर्न प्रतिबन्ध लगाएको छ। ऐनले एकल वा साझेदारीमा लगानी गर्न नपाइने स्पष्ट उल्लेख गरेको छ।
विदेशमा गैरकानुनी लगानी गरे बिगोबमोजिम जरिवाना र ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
मोतिलाल र विवेकले भारतीय व्यावसायिक घराना कोहिनुर ग्रुपका अध्यक्ष विजय बोथ्रा र उनका छोरा प्रशान्त बोथ्रासँग कोहिनुर स्टिल प्रालिसहित एक दर्जन अन्य कम्पनीमा साझेदारीमा लगानी गरेका छन्। विजय मोतिलालका सम्धी तथा विवेकका ससुरा हुन् भने प्रशान्त विवेकका सालो हुन्।
पारिवारिक साझेदारीमा लगानी गरेको कम्पनीमार्फत भारतका एक दर्जन बैंकबाट १२ अर्ब (१९ अर्ब २० करोड रुपैयाँ) ऋण लिएर नतिरेपछि बैंकहरूले दुगड र बोथ्रा परिवारलाई कालोसूचीमा राखेर मुद्दासमेत दायर गरेका छन्।
‘यस विषयमा यहाँ (राष्ट्र बैंक) मा जानकारी छ, यसअघि नै उजुरी र गुनासो पनि आएको थियो तर अनुसन्धान के भएको छ थाहा छैन,’ केन्द्रीय बैंकका एक कार्यकारी निर्देशकले भने, ‘गभर्नर महाप्रसाद अधिकारी र मोतिलाल दुगडको निकटताले सनराइज बैंकमा दुगडले गरेका संस्थागत सुशासनविरुद्धका काममा समेत गभर्नरले आखाँ चिम्लेका छन्, यो त झनै ठूलो विषय हो।’
मोतिलालले भारतमा सम्धी र छोराको सालोसँग सन् २०१४ मा नेपालबाट टिएम दुगड ग्रुपका नामबाट लगानी गरेका थिए। यो ग्रुप स्थापना हुँदा मोतिलाल र उनका दाइको नाममा थियो। २०७१/७२ सालतिर दुई दाजुभाइबीच अंशबण्डा हुन पुग्यो र मोतिलालले ‘एमभी दुगड ग्रुप’ स्थापना गरे भने पुरानो टिएम दुगड ग्रुप दाइको छोरा मालचन्द दुगडलाई छाडिदिए।