काठमाडौं। मेलम्ची खोलामा धमिलो पानी आउन थालेपछि काठमाडौंमा पानी आपूर्ति रोकिएको छ। मेलम्ची खानेपानी आयोजनाका अनुसार शुक्रबारबाट अनिश्चितरूपमा पानी बन्द गरिएको हो।
आयोजनाले शुक्रबार पानी बन्द गरेपछि खानेपानी मन्त्रालयमा शुक्रबार नै पानी सञ्चालन र व्यवस्थापनबारे छलफल भएको थियो। छलफलले तत्कालका लागि काठमाडौंमा कसरी पानी व्यवस्थापन गर्ने भन्ने निष्कर्ष निकाल्न नसक्दा आइतबार पनि फेरि छलफलका लागि आयोजनाका प्रतिनिधि र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रतिनिधि मन्त्रालय पुगेका छन्।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) पदम कुँवरका अनुसार बर्खाका लागि अहिले नै पानी बन्द भएको होइन। गत जेठमा अस्थायीरूपमा आयोजना मर्मत गरिएकाले यो वर्ष बढीमा असार मसान्तसम्म पानी सञ्चालन गर्ने तयारी आयोजनाको छ।
तर, राति पानी पठाउँदा जोखिम बढी हुने भएकाले दिउँसोमात्रै पानी पठाउने योजना रहेको सिडिई कुँवरले बताए।
‘हाम्रो योजना सके असारभरि नभए २६/२७ गतेसम्म पानी काठमाडौंमा पठाउने हो तर खोला धमिलो आएपछि राति नपठाएर दिउँसोमात्रै पठाउने भनेका छौं,’ सिडिई कुँवरले क्यापिटल नेपालसँग भने, ‘चौबीसै घन्टा पानी पठाउँदा सजिलो भएको छ तर दिउँसोमात्रै हुँदा केयुकेएलले व्यवस्थापन कसरी गर्छ भन्ने कुरा आउँछ। व्यवस्थापन भएन भने मेलम्चीको पानी बागमती खोलामा खेर जान्छ त्यही भएर छलफलको निष्कर्ष पर्खिदैछौं।’
यदि केयुकेएलले दिउँसोमात्रै आएको पानी व्यवस्थापन गर्न नसक्ने जनाएमा मेलम्ची आयोजनाले २०८० बर्खाका लागि निरन्तर पानी बन्द गर्ने छ। तर, केयुकेएलले चाहे दिउँसोको समयमा अझै १२/१३ दिन काठमाडौंमा पानी आउने छ।
तै पनि हिउँद लागेपछि कहिलेबाट फेरि पानी सञ्चालन हुन्छ भनेर अहिले नै आयोजनाले खुलाएको छैन। मौसमको अवस्था हेरेर असोजतिर पानी सञ्चालन हुने सम्भावना रहेको इन्जिनियरहरू बताउँछन्।
२०७८ असार र साउनमा मेलम्ची खोलामा आएको बाढीले निर्माणको अन्तिम चरणमा पुगेको खानेपानी मुहानमा क्षति पुगेको थियो। त्यसयता बर्खाको समयमा मेलम्चीबाट काठमाडौंमा पानी आपूर्ति हुँदैन।
गत वर्ष जेठ १५÷१६ बाटै बन्द गरिएको मेलम्चीबाट यो वर्ष करिब एक महिना बढी समय काठमाडौंमा पानी आइसकेको छ।
दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने योजनाअनुसार बनाइएको संरचनामा बाढीले असर पुग्दा राज्यले करोडौं रुपैयाँ क्षति बेहोरेको छ।