काठमाडौं। सञ्चालनमा आएको दोस्रो सातामै क्षमताभन्दा बढी ग्राहक आएपछि दिउँसो ३ बजे नै भाटभटेनीको जनकपुर स्टोर बन्द गर्नुपरेको छ।
स्टोरमा आएका ग्राहक थेग्न नसक्ने अवस्था आएपछि शनिबार दिउँसो ३ बजे नै बन्द गरेको सुपरमार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले जानकारी दिए।
स्टोरको दैनिक क्षमता २० देखि २५ हजारसम्म भए पनि त्यसको दोब्बर संख्यामा ग्राहक आएपछि व्यवस्थापन नै गर्न सक्ने अवस्था नभएपछि बाध्य भएर ३ बजे नै बन्द गर्नुपरेको उनले बताए।
शनिबार भएकाले पनि धेरै ग्राहक आएको हुनसक्ने बताउँदै उनले आइतबार बिहान ७ बजेसम्मका लागि स्टोर बन्द गरिएको बताए।
धेरैभन्दा धेरै ग्राहकलाई सुविधा दिने उद्देश्य रहे पनि क्षमताले थेग्नै नसक्ने भएपछि बाध्य भएर बन्द गर्नुपरेको उनले बताए।
पछिल्लो समय तराईमा अत्यधिक गर्मी हुने भएकाले पनि सामान खरिदको पहिलो रोजाइ भाटभटेनी पर्दै गएको छ। भाटभटेनीमा एसीको व्यवस्था र बालबालिकालाई खेल्नका लागि समेत राम्रो व्यवस्था भएकाले धेरैको रोजाइमा परेको हो।
भाटभेटनीमा खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामान, कस्मेटिक, फर्निचर, खेलौनालगायत सामान उपलब्ध छन्। त्यसैगरी पेपे रेस्टुरेन्टदेखि पहिलो तलामा फुडकोर्टसमेत राखिएको छ। योसँगै त्यहाँ आउने ग्राहकलाई फिल्म हेर्न दुईवटा सिनेमा (मल्टिप्लेक्स हल पनि निर्माण भएको छ।