काठमाडौं। नेपाल वायुसेवा निगम (नेवानि) ले ६५औं वार्षिकोत्सव मनाएको छ।
नयाँसडकस्थित निगम केन्द्रीय कार्यालयमा वैदिक विधिअनुसार आकास भैरवको पूजाआराधना गरिनुका साथै प्रभातफेरी आयोजना गरिएको छ।
विगतका वर्षमा औपचारिक कार्यक्रम गरेर दिवस भव्यरूपमा मनाइने गरिए पनि नेवानिले यसपटक सामान्यरूपमा कार्यालय परिसरमै अनौपचारिक कार्यक्रम तथा शुभकामना आदानप्रदान गरेर वार्षिकोत्सव मनाएको हो।
नेवानि प्रधान कार्यालयबाट सुरु भएको पैदल यात्रा बसन्तपुर, आकास भैरव मन्दिर, असन, जमल, घण्टाघर, सहिदगेट हुँदै नेवानि प्राङ्गणमा आएर अनौपचारिक कार्यक्रममा परिणत भएको थियो।
वार्षिकोत्सवमा शुभकामना व्यक्त गर्दै नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीले राष्ट्रिय ध्वजावाहकको मान र स्वाभिमान कायम राख्दै संस्थाको हितमा काम गर्न कर्मचारीलाई आग्रह गरे।
उनले सम्पूर्ण कर्मचारी अनुशासित भई एकजुट भएर बाधा अड्चनलाई छिचोल्दै राष्ट्रिय दायित्वको भूमिका निर्वाह गर्न पनि अनुरोध गरे।
सन् १९५८ जुलाई १ मा स्थापना भएको नेवानिले २८ सिट क्षमतायुक्त डग्लस डिसी ३ डाकोटा जहाजबाट सेवा सुरु गरी ६५ वर्षे दौरानमा पछिल्लोपटक वाइडबडी ए ३३०–२०० सिरिजको जहाज भित्र्याएर सेवा दिइरहेको छ।
नेवानिले हाल अन्तर्राष्ट्रियतर्फ भारतका नयाँदिल्ली, बैंगलोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्यान्ड, जापान नारिता, कतार दोहा, युनाइटेड अरब इमिरेट्स (युएई) दुबई र साउदी अरब रियादमा उडान गरिरहेको छ।
नेवानिले दुईथान वाइड बडी ए३३० र दुई न्यारोबडी ए३२० सिरिजका जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।
हाल नेवानिको ऋण दायित्व करिब ४८ अर्ब पुगेको छ। वाइडबडी जहाज खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो।
भएका जहाज पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धालगायत कारण खस्केको नेवानिले ग्राउन्ड ह्यान्डलिङ सेवा, अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार भने राम्रो गरिरहेको छ।